काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले देखाएको चासो सम्बोधन नभएको विषयमा असन्तुष्टि जनाएका छन्।
बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर ओलीले नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएपछि बालुवाटारमा बैठक बसेर कमा र फुलस्टप परिवर्तन नगरी पास गरेर देखाउँछौँ भनेर गठबन्धनले दम्भ देखाएको बताए।
संविधानअनुसार नै राष्ट्रपति भण्डारीले नागरिकता विधेयक पुनर्विचार गर्न फिर्ता पठाएको तर संसद्ले गर्ने काम गठबन्धनको बैठकले बालुवाटरबाट गरेको ओलीको आरोप थियो। ओलीले प्रधानमन्त्रीसँग भनेका छन्, ‘नागरिकता विधेयक राष्ट्रपतिले संसद्मा फिर्ता पठाएको हो। संसद्को विषयमा बालुवाटारमा छलफल भयो। यो ठिक भएन। तपाईंहरू जिम्मेवारीपूर्वक चल्नुभएन। जिम्मेवारीपूर्वक चल्नुस्। मुलुकमा एमाले भन्ने पार्टी पनि छ।’
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवासँग कुराकानी गर्न अध्यक्ष ओलीसँगै एमालेका नेताहरू सुवास नेम्वाङ र विष्णु पौडेल पनि बालुवाटार पुगेका थिए। भेटवार्तामा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए। भेटमा ओलीले मंसिर ४ मा हुने निर्वाचन, प्रतिनिधि सभामा हालै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधनसम्बन्धी विधेयक र मूल्यवृद्धिका विषयमा पनि कुरा राखेका थिए।
ओलीले मंसिर ४ मा निर्वाचनको मिति घोषणाका बेला सरकारले आफूहरूसँग परामर्श नगरेको भन्दै असन्तुष्टि जनाए। उनले आगामी निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुनुपर्नेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए। त्यसैगरी ओलीले सरकारले प्रतिनिधिसभामा हालै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधनसम्बन्धी विधेयक ल्याउँदा समेत प्रमुख प्रतिपक्षीसँग छलफल नगरेकोमा पनि असन्तुष्टि जनाएका छन्। ओलीले प्रधानमन्त्री देउवासँग मूल्यवृद्धि नियन्त्रणमा पनि खासै पहल नगरेको बताएका छन्।
ओलीको विशेष चासो भनेको नागरिकता विधेयेक र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधनसम्बन्धी विधेयकमा रहेको बताइएको छ। भेटवार्तामा सहभागी कांग्रेस नेतासमेत रहेका सञ्चारमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष ओलीले राखेका विषयमा प्रधानमन्त्री देउवाले सकारात्मक रूपमा लिने बताएको जानकारी दिए। कार्कीले देउवाको भनाइ उद्धृत गर्दै भने, ‘तपाईंहरूले उठान गरेका विषयवस्तु सकारात्मक रूपमा लिन्छु। यी सबै कुरा म पाँच दलीय गठबन्धन बैठकमा पनि राख्छु।’ आगामी निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुने भएकोले यसमा चिन्ता नगर्न प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीलाई आग्रह गरेका थिए।