काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्न ढिलाइ गर्नुको कारण माग गरेको छ। मंगलवार सिंहदरबारमा बसेको महाभियोग सिफारिस समितिको बैठकमा बोल्दै एमालेका सांसद विष्णु पौडेलले महाअभियोग प्रस्ताव दर्ता हुँदा सदन नचलेको भए १५ दिनभित्र सदन बोलाउनुपर्ने र सदन चलेको भए ३ दिनभित्र महाअभियोग प्रस्तावमा छलफल गर्नुपर्ने व्यवस्थाको उल्लंघन भएको भन्दै विरोध जनाएका हुन्।
महाअभियोग प्रस्ताव दर्ता भएको ६ महिनासम्म पनि छलफलमा नल्याइनु गम्भीर विषय भएको उनको भनाइ छ। महाअभियोग पारित गर्नका लागि ल्याइएको हो कि केवल प्रस्ताव दर्ता गरेर न्यायालयलाई प्रभावित पार्न खोजिएको हो यसको जवाफ गठबन्धनका नेताहरूले दिनुपर्ने उनको भनाइ थियो। ढिलाई गर्नुका कारण नपाएसम्म सिफारिस समिति सदस्यले काम गर्न नदिने उनले चेतावनी दिए।
‘के प्रश्न उठ्छ भने यो महाअभियोग के का लागि ल्याइएको थियो त? महाभियोग प्रस्ताव पास गरेर, आरोप पुष्टि गरेर निर्णयमा पुग्नको निम्ति अघि सारिएको थियो कि? प्रस्ताव दर्ता गरेर न्यायालय प्रभावित गर्ने हिसाबले के उद्देश्यले ल्याइएको थियो? ६ महिनासम्म किन छलफलको विषय बनाइएन? नेपाली जनताले र हामी समितिका सदस्यहरुले पनि यो प्रश्नको जवाफ जान्न चाहन्छौँ,' पौडेलले भने, 'यो प्रश्नको जवाफ नपाइकन समिति सदस्यहरुले यो जिम्मेवारी प्रभावकारी ढंगले सम्पादन गर्न सक्छौँ भन्ने मलाई लाग्दैन।’
सांसद पौडेलले संघ र प्रदेश तहको निर्वाचनको मिति घोषणा भइसकेको र समितिलाई ३ महिनाका लागि समय दिएको उल्लेख गर्दै यस्तो परिस्थितिमा छानबिनका लागि कठिनाइ हुने उल्लेख गरे। समितिको बैठक बुधवार दिउँसो २ बजे पुनः बस्नेगरी बोलाइएको छ।