काठमाडौं- मादक पदार्थ सेवन जाँच गर्न खटिएका प्रहरीमाथि जाइलाग्ने दुई चालकविरुद्ध प्रहरीले मुद्दा चलाउने भएको छ। ट्राफिक प्रहरीको नियमित रात्रिकालीन जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने अनि उल्टै प्रहरीलाई नै अभद्र व्यवहार गरेको भन्दै मुद्दा चालउने तयारी गरेको हो।
उनीहरूमध्ये एक जना बसका चालक हुन् भने अर्का एक जना ट्याक्सी चालक हुन्। कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय अगाडिको सडकमा बा ३ ख ४३ ८३ नम्बरको भाडा बसका चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका २ घर भई हाल काठमाडौँको टोखा बस्दै आएका सरोज श्रेष्ठ मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा पक्राउ परेका थिए। पक्राउ परेका श्रेष्ठले प्रहरीमाथि अभद्र व्यवहार गरेका थिए। उनलाई मुद्दा चलाउनका लागि ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ। उनलाई हाल कीर्तिपुरमा राखिएको छ।
त्यस्तै भक्तपुरको जगातीमा गएराती भएको ट्राफिक प्रहरीको चेकिङमा बा २ ज ५६ १५ नम्बरको ट्याक्सी चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ११ घर भएका ४० वर्षीय अनिल धिताल मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा पक्राउ परेका हुन्। पक्राउ परेका धितालले पनि प्रहरीलाई अभद्र व्यवहार गरेका थिए।
उनीमाथि अनुसन्धान गर्न प्रहरीले ७ दिनको म्याद लिएको छ। उनलाई प्रहरी वृत्त जगातीमा राखेर अनुसन्धान भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।