शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदीप गिरीसँगको निरन्तर भेटपछि कम्युनिस्ट त्यागेर कांग्रेस बनें

प्रदीप गिरीसँगको निरन्तर भेटपछि कम्युनिस्ट त्यागेर कांग्रेस बनें

वैचारिक, सैद्धान्तिक राजनीतिक, इमान र निष्ठाका लागि प्रदीपजी सतिसाल बनेर उभिनुभएको थियो। कांग्रेस राजनीतिलाई सही बाटोमा ल्याउन बीपीसँग उहाँले गर्ने छलफलले कांग्रेसका लागि अगाडिको बाटो देखाउँथ्यो।
 |  मंगलबार, भदौ ७, २०७९

रेवतीरमण सुवेदी

रेवतीरमण सुवेदी

मंगलबार, भदौ ७, २०७९

प्रदीप गिरीसँग मेरो २०२९ तिर भेट भएको हो। त्यो सम्बन्ध उहाँको निधन हुँदासम्म कायमै रह्यो। त्यो बेला बनारस हिन्दु विश्वविद्यालयमा अहिले यहाँ स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएझैं नेपाली विद्यार्थीको चुनाव भएर नेतृत्व चयन हुन्थ्यो। त्यतिबेला बनारस हिन्दु विश्वविद्यालयमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीप्रति आस्थावान विद्यार्थीका बीचमा चुनावी प्रतिस्पर्धा हुन्थ्यो। त्यहाँ बीपी समूह र पुष्पलाल समूहबीचमा प्रतिस्पर्धा हुन्थ्यो। 

त्यो चुनावमा एउटा वर्ष म पनि पुष्पलाल समूहबाट अखिल भारत नेपाली विद्यार्थी संघको समाजसेवा सचिवको उम्मेदवार बनेको हुँ। त्यहाँ एक पटक बीपी समूहले र  अर्को पटक पुष्पलाल समूहले जित्ने गरेका थिए। म उम्मेदवार बनेका बेला पुष्पलाल समूहले जित्यो। म समाजसेवा सचिव भएँ। त्यहाँको नेपाली धर्मशालामा विजयी नेपाली विद्यार्थीको नाम टाँसिन्थ्यो। नेपाली कसैलाई समस्या पर्यो भने ती विद्यार्थीलाई सम्पर्क गर्न सहज हुन्थ्यो। 

त्यही नेपाली धर्मशालामा टाँसिएको नाम प्रदीपजीले हेर्नुभएछ। उहाँले मेरो नाम देख्नुभयो अनि मसँग सम्पर्क गर्नुभयो। म पुष्पलाल समूहमा भए पनि प्रदीपजीसँग भेटेपछि उहाँसँग नजिकिँदै गए अनि कांग्रेस भएँ। त्यतिबेला म जम १७ वर्षको थिएँ। प्रदीपजीले अखिल भारत नेपाली विद्यार्थी संघको कार्यसमितिमा भएकाहरूको नाडी छाम्नुभएछ। यीमध्ये कसलाई कांग्रेस बनाउन सकिन्छ भन्नेमा उहाँ हुनुहुँदो रहेछ। त्यसमा सबैभन्दा सहज मै भएछु। यो कुरा पछि प्रदीपजीले मलाई भन्नुभयो। त्यसपछि उहाँले मलाई आफ्नै संगतमा लग्नुभयो। 

मैले पुष्पलालको संगतले माक्र्स, लेनिन, एन्जल्सका साहित्य र तिनका बारेमा पढे पनि खासै बुझेको थिइनँ। तर प्रदीपजीको संगतमा परेपछि जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, बीपी कोइराला, गान्धीका बारेमा पढाउन/बुझाउन थाल्नुभयो। साहित्य पनि उनीहरूकै पढ्न थालें। प्रदीपजीको तीक्ष्ण बौद्धिक क्षामताका कारण एक पटक युवाहरू उहाँको संगतमा परेपछि फेरि कहिल्यै छाड्दैनथे। प्रदीपजी मान्छेलाई कन्भिन्स गर्ने क्षमता र व्यावहारिक रूपमा पनि व्यावहारिक हुनुहुन्थ्यो।  

प्रदीप गिरी।
बनारसमा सबै नेपाली जम्मा हुने एउटा चिया पसल थियो। सबैको त्यहाँ चिया खान जमघट हुन्थ्यो। त्यहाँ प्रदीपजीले हामीलाई केटाकेटीले चिया खानुहुँदैन भनेर दूध खान दिनुहुन्थ्यो। आफूभन्दा सानालाई अत्यन्तै माया गर्ने बानी थियो, उहाँमा। उहाँको त्यही बानीका कारण मलाई पुष्पलाल समूहबाट खोसेर कांग्रेस बनाउनुभयो। मलाई माक्र्स, लेनिनको साहित्यभन्दा जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, बीपी कोइराला, गान्धीका बारेमा बुझ्न सहज भयो। सोही कारण म कांग्रेस, बीपीप्रति आकर्षित भएँ। त्यसपछि प्रदीपजीले बीपीसँग भेट गराउनुभयो। बीपीसँगको संगतपछि म बम बोकर नेपाल आएँ र जेल पनि परें। जेल पर्दा म १९ वर्षको थिएँ। बम लिएर नेपाल आउँदा वीरगञ्जमा समातिएँ। पछि नख्खु जेल बसें। साढे पाँच वर्ष जेल बसें। पछि २०३६ को जनमतसंग्रहमा आममाफीमा छुटेको हुँ। 

बीचमा प्रदीपजी पार्टी लाइनभन्दा अलि बाहिर पनि बस्नुभयो। त्यो बेला पनि म प्रदीपजीको सम्पर्कमै थिएँ। कतिसम्म भने प्रदीपजी पेलाइमा परेर पार्टीबाट केही टाढा पुग्नुभयो। त्यो बेला कांग्रेसका अहिलेका दिग्गज नेताहरूले मैले प्रदीप गिरीलाई भेट्ने गरेको कुरा तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईसँग सिकायत गरेछन्। मैले स्पष्टीकरण पनि दिनुपर्यो। किसुनजीलाई मलाई कांग्रेस बनाउने नै प्रदीप गिरी हो। उहाँ एक बौद्धिक मान्छे हो। म उहाँसँग बौद्धिक विषयका बारेमा छलफल गर्न गएको हुँ भनेर किसुनजीलाई प्रस्टीकरण दिएँ। त्यसपछि किसुनजीले मलाई प्रदीपजीसँग भेट्न छुट दिनुभयो। 

वैचारिक, सैद्धान्तिक राजनीतिक, इमान र निष्ठाका लागि प्रदीपजी सतिसाल बनेर उभिनुभएको थियो। कांग्रेस राजनीतिलाई सही बाटोमा ल्याउन बीपीसँग उहाँले गर्ने छलफलले कांग्रेसका लागि अगाडिको बाटो देखाउँथ्यो। 

बनारस बस्दा बीपीसँग राजनीतिक र वैचारिक बहस गर्ने एक मात्र प्रदीप गिरी हुनुहुन्थ्यो। बीपीका समकालीन नेताहरू त भइहाले। तर पछिल्लो पुस्ताको नेतामा बीपीसँग बहस गर्ने प्रदीपजी एक्ला हुनुहुन्थ्यो। त्यही भएर पनि उहाँलाई रोक्न अहिले भएका धेरै नेताहरू लागिपरेका थिए। उहाँ बीपीले पत्याएको मान्छे पनि हो। बीपीले पत्याएको बौद्धिक क्षमताको मान्छे भएकाले धेरै कांग्रेसका नेताहरूलाई प्रदीपजी बीपीको उत्तराधिकारी बन्ने हो कि भन्ने डर थियो। उहाँलाई सुनियोजित रूपमा पाखा लगाउने प्रयास पनि भएको थियो।

प्रदीपजीलाई कांग्रेसको राजनीतिबाट पाखा पार्ने प्रयास भएपछि उहाँ बैरागिएर दक्षिण भारतका मन्दिरको भ्रमणमा गेरुवा बस्त्र लगाएरै घुम्नुभयो। झन्डै दुई वर्ष जति भारतमा धार्मिक स्थलतिर बिताउनुभयो, प्रदीपजीले। त्यसपछि जवाहरलाल नेहरु विश्वविद्यालयमा आएर पढ्न थाल्नुभयो। त्यही बेला नेपालमा जनमतसंग्रह घोषणा भयो। त्यसपछि नेपाल आउनुभयो र पार्टीमा सक्रिय हुनुभयो। 

प्रदीप गिरीको अन्त्येष्टि गरिँदै।
एक हिसाबले त्यतिबेला उहाँलाई पाखा नै पारिएको थियो। पछि प्रजातन्त्र आएपछि कृष्णप्रसाद भट्टराईले नै उहाँलाई ‘ठाउँ’ दिनुभएको हो। २०४८ मा सिरहामा टिकट दिन किसुनजी र गणेशमानजीले ठूलो प्रयास गर्दा पनि सक्नुभएन। पछि २०५१ म भने उहाँलाई टिकट दिनुभयो। एक हिसाबले गिरिजाप्रसाद कोइराला निकटका नेताहरूले गिरिजाबाबुलाई कुरा लगाएर प्रदीपजीलाई पाखा पार्न लागेका थिए। यसको कारणचाहिँ बीपीले पत्याएर अगाडि बढाउनुभयो भने हामी पछि परिन्छ भन्ने मात्र चिन्ता थियो उनीहरुको । 

प्रदीपजीको निधनले कांग्रेसलाई मात्र होइन, मुलुकलाई नै ठूलो क्षति भएको छ। एउटा सैद्धान्तिक र वैचारिक शून्यताको अवस्था सिर्जना भएको छ। निष्ठा र इमानदारीको एउटा दियो निभेको छ। सैद्धान्तिक र वैचारिक रूपमा राजनीति धुमिल भएको अवस्थामा प्रदीपजीको निधनले कांग्रेसमा मात्र होइन, नेपाली राजनीतिमै एउटा शून्यता छाएको छ। वैचारिक र सैद्धान्तिक राजनीति, इमान र निष्ठाका लागि प्रदीपजी सतिसाल बनेर उभिनुभएको थियो। अर्को कुरा, प्रदीपजीले अहिले कांग्रेस र माओवादीको गठबन्धन भएको छ, त्यो गठबन्धनको वकालत कहिल्यै गर्नुभएन। उहाँको निष्ठा र सिद्धान्तले यो गठबन्धनको पक्षमा वकालत गर्न दिँदैनथ्यो।

उहाँ कांग्रेस सभापति शेरबहादुर देउवा निकट भएका कारण यो गठबन्धनको वकालत गर्दै भाषण गर्नुपर्ने अवस्थामा पुग्नुहुन्थ्यो होला। तर उहाँको निधन भएपछि त्यो अवगालबाट जोगिनुभयो। सायद उहाँलाई गठबन्धनको पक्षपोषण गरेर अवगाल खेप्नबाट भगवान्ले रोके कि जस्तो लाग्छ। उहाँ गठबन्धनका बेलादेखि नै क्यान्सका कारण दिल्ली उपचार गर्न जानुभयो। उताबाट फर्केर केही समय मेडिसिटी अस्पताल बसेपछि उहाँको निधन भयो। गठबन्धनको वकालत गरेर पर्ने अवगालबाट जोगिनुभयो। 

प्रकाशित: Aug 23, 2022| 14:30 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...