काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले फोहोर व्यवस्थापनका सन्दर्भमा काठमाडौं महानगरपालिकाले गर्नुपर्ने काम गरिरहेको बताएका छन्। कतिपय काम संघीय सरकारले नै गर्नुपर्ने कुरा पनि उनले स्मरण गराएका छन्।
सोमबार सहरी विकास मन्त्रालयमा बसेको बैठकको तस्बिर ट्विट गर्दै उनले भनेका छन् , 'फोहोर व्यवस्थापनका सन्दर्भमा महानगरले गर्नुपर्ने काम गरिरहेको छ। यसबाहेक कतिपय संघीय सरकारले नै गर्नुपर्ने काम छन्। हिजो सहरी विकास मन्त्रालयमा बसेको बैठकले ती काम तोकिएकै समयमा गर्न आवश्यक सहजीकरण र अनुगमनका लागि काठमाडौं, नुवाकोट र धादिङका सांसद सम्मिलित समिति बनाउने निर्णय गरेको छ।'
यसअघि गत बुधबार थापाले बन्चरेडाँडाका बासिन्दाहरूलाई फोहोर विसर्जनको क्रममा अवरोध सिर्जना नगर्न आग्रह गरेका थिए। साथै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई सबैले साथ दिन आह्वान पनि गरेका थिए।
'काठमाडौँ फोहोरले अस्तव्यस्त भएको छ। अझ केही दिन यस्तै रहे महामारी फैलन सक्ने सम्भावना छ। अतः सिसडोल र बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौँको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपील गर्न चाहन्छु- कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सँगै बसौँ, समाधान निकालौँ,' नेता थापाले फेसबुकमा भनेका छन्।