काठमाडौं– आगामी ४ मंसिरमा हुने संघीय तथा प्रदेशसभा चुनावका लागि सिट बाँडफाँटको विषयमा छलफल गर्न मंगलबार दिउँसो ३ बजे सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै छ।
आउँदो चुनावमा सिट बाँडफाँट गर्न बनेको कृष्णप्रसाद सिटौला नेतृत्वको सिट बाँडफाँट कार्यदलसहित शीर्ष नेताहरू बैठक बस्न लागेका हुन्। बैठक प्रधानमन्त्री निवास बालुवाटार बोलाइएको कार्य दलका एक सदस्यले बताए।
उनका अनुसार भदौ पहिलो साताभित्र सिट बाँडफाँट गरिसक्ने शीर्ष नेताहरूको तयारी छ। गठबन्धनमा आबद्ध नेताहरूले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेका थिए।
२० साउनमा गठन भएको कार्यदललाई साउन मसान्तसम्मको समयसीमा दिइए पनि कार्यदलले अहिलेसम्म सहमति जुटाउन सकेको छैन। सहमति नजुटेपछि कार्यदलले उक्त काम शीर्ष नेताहरूलाई नै सुम्पिएको छ।