काभ्रे– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकभरका ७५३ वटै स्थानीय तहमा औद्योगिक क्षेत्र निर्माण गरिनुपर्ने बताएका छन्।
मंगलबार नेपाल प्लाइउड उत्पादक संघको २३औं वार्षिक साधारणसभामा सहभागी मन्त्री बडूले सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न संघीय र प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।
स्थानीय तहको प्रस्तावमा सरकारले औद्योगिक ग्राम स्थापनाका लागि कुल लगानीको ४० प्रतिशत रकम वा ३ करोड उपलब्ध गराइने उनले जानकारी दिए। मन्त्री बडूले भने, ‘औद्योगिक ग्राम स्थापना भएर पूर्ण क्षमतामा सञ्चालन गर्न सके गाउँमै रोजगारी, उत्पादन र औद्योगिक वातावरण सिर्जना हुनेछ।’
उनले राष्ट्रिय उत्पादन वृद्धि गर्ने उद्देश्यले सरकारले प्रधानमन्त्री राष्ट्रिय उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम अगाडि बढाएको चर्चा गर्दै राष्ट्रिय अर्थतन्त्रलाई चलायमान गर्ने इन्जिनका रूपमा निजी क्षेत्र रहेको सुनाए। सरकार निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्न तयार रहेको उनको जिकिर थियो।
मन्त्री बडूले उद्योगी व्यवसायीको आग्रहमा उद्योग स्थापनाका लागि जग्गाको थ्रेस होल्ड ११ बिघाबाट बढाएको, ३० वर्ष उद्योग सञ्चालनको सम्झौता (लिज)मा लगानी उठ्न नसक्ने अवस्था आउन सक्ने भएकाले उक्त समायावधि बढाएर ५० वर्ष पुर्याइएको बताए।
उनले भने, ‘वनमा आधारित उद्योगको धेरै सम्भावना भएको र हालसम्म वनलाई संरक्षण मात्रै गरेकामा अब यसलाई उपभोग गर्नतर्फ अग्रसर हुनुपर्छ।’
कार्यक्रममा नेपाल प्लाइउड उत्पादन संघ वरिष्ठ उपाध्यक्ष होमप्रसाद घिमिरेले उद्योगीलाई प्रोत्साहन गर्न बैंक ब्याजदरमा कमी र बिजुलीमा सहुलियत दिन माग गरे। उनले नेपाल प्लाइउडमा आत्मनिर्भर रहेको बताए।
संघका संस्थापक अध्यक्ष देवानन्द सरावगीले हाल देशका १८ जिल्लामा ६८ वटा प्लाइउड उद्योग सञ्चालनमा रहेको, यी उद्योगमा २० अर्ब रुपैयाँ लगानी र २५ हजारले प्रत्यक्ष तथा ३५ हजारले परोक्ष रोजगारी पाउँदै आएको जानकारी दिए।