काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरी सबै राजनीतिकर्मीका लागि सदैव प्रेरणापुञ्जका रूपमा रहने बताएका छन्।
नेता गिरीको निधनपछि मन्त्री कार्कीले उनको स्मरण गर्दै राजनीतिक अभियन्ताहरूका लागि नेता गिरी प्रेरणा भएको बताएका हुन्।
‘प्रदीप दाइ आफू अस्ताउनुभयो, तर नेपाली राजनीतिमा सिद्धान्त, निष्ठा र विचारको एउटा कहिल्यै ननिभ्ने दीयो जगाउनुभयो, एक राजनीतिकर्मी सधैँ पद र प्रलोभनबाट बाहिर बस्न रुचाउनुभयो,’ उनले भने।
नेता गिरीले आफूलाई राजनीति, दर्शन, साहित्य र विचारको एउटा विश्वकोषका रुपमा अग्ल्याएर सधैँ साधारण जीवनयापनमा रमाएको कार्कीको भनाइ छ।
‘प्रदीप दाइको सरल जीवनशैली, असल चिन्तन र समयानुकूल विचार हरेक राजनीतिक पार्टी र राजनीतिकर्मी सबैका लागि सदैव प्रेरणापुञ्जका रूपमा रहनेछ,’ उनले भने।
नेपाली कांग्रेसका नेता तथा सिरहाबाट निर्वाचित सांसद गिरीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै मन्त्री कार्कीले शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गरेका छन्। नेता गिरीको शनिबार राति उपचारको क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो।