राजविराज- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले केपी शर्मा ओली नेतृत्वमा सहभागी भएका कारण आफूहरूको बदनाम भएको बताएका छन्। ओली नेतृत्वको सरकार नागरिकता विधेयकका सम्बन्धमा सकारात्मक बनेपछि सरकारमा गएपनि आफूहरु बदनाम भएको उनको भनाइ थियो।
‘१३९ जनाको मुद्दा फिर्ता गरायौं, नागरिकता अध्यादेश जारी गराएपछि ओली नेतृत्वको सरकारको समर्थन गरेका थियौं,’ राजविराजमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘त्यो सरकारमा गएपछि हाम्रो बदनामी भयो। माग र मुद्दाका लागि बदनामी लियौं।’
महतोले सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने सम्भावना रहेकोसमेत उल्लेख गरे। आफूहरुको माग र मुद्दामा सरकारले सकारात्मक काम गरिरहेकाले सत्ता गठबन्धनसँगै सहकार्य गर्ने बताए। यस सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको उनको भनाइ छ । ‘गठबन्धनका लागि अरु तर्फबाट पनि प्रस्ताव आइरहेको छ’ उनले भने, ‘तर कुराकानी भने प्रधानमन्त्रीसँग भइरहेको छ। गठबन्धन भए चुनावी तालमेल पनि हुनेछ।’
नेता अनिल झाले पनि सत्ता गठबन्धनसँग सहकार्य गर्ने सम्भावना रहेको र यसका निम्ति कुराकानी भइरहेको बताएका थिए। कार्यक्रममा राजविराज नगरपालिकाका निवर्तमान मेयर शम्भु यादवसहित विभिन्न पार्टीका नेता/कार्यकर्ता लोसपा प्रवेश गरेका थिए।