काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल हो भनेर भन्न सत्तारुढ दलका नेताहरु डराएको आरोप लगाएका छन्।
अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामै लिएर सो भूमि नेपालीको हो भनेर चुइक्क बोल्न नसकेको बताए।
ललितपुरमा सोमबार आयोजित विभिन्न पार्टीबाट आएका नेता, कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले एमालेले भने सो जमिन समावेश गरेर नेपालको नक्सा जारी गर्ने काम गरेको स्पष्ट पारेका छन्। नेपालले १४६ वर्षदेखि भोगचलन गर्दै आएको जमिन ६० वर्ष अघि हाम्रो हातबाट खोसेर लगेको हो भनेर एमाले नेतृत्वको सरकारले मात्रै मुलुकको नक्सामा सामेल गरेको अध्यक्ष ओलीको दाबी छ। 'सत्तारुढ दलका नेताहरु भने यसबारे चुइक्क बोल्न पनि सक्दैनन्,' उनले भने।
अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरु आफ्ना छोरीबुहारी, श्रीमती, साला, आफन्तहरुलाई मात्रै माथि उठाउने काममा केन्द्रित भइरहेको पनि आरोप लगाए। उनले भने, ‘यस पार्टीका नेताहरु छोरी बुहारीलाई माथि उठाउन काम गरिरहेका छैनन्। यहाँका नेताहरु श्रीमती, साला, भाई, भतिजा, आफन्त, परिवारका सदस्य, नातागोताहरुलाई माथि उठाउन लागि रहेका छैनन्। देश बनाउन लागेका छन्। र, सिंगै पार्टी देश बनाउने काममा केन्द्रित भएको छ।'
उनले देशको सावैभौमसत्ता भएको मन नपर्नेहरु पटक-पटक नाकाबन्दीको पक्षमा उभिएको पनि आरोप लगाए। उनले भने, 'एउटै देशतिरमात्रै बोटो र मुलुक नाकाबन्दीमा पर्न नदिनका लागि के अर्कोतिरबाट पनि बाटो खोल्नुपर्दै? यताबाट ब्लग गर्यो भने उतातिरबाट बाटो खोल्ने त्यत्ति गर्यो भने त नाकाबन्दी हुँदैन। तर, त्यत्ति नगर्ने?'
उनले कायरताका कारण राष्ट्रियता कमजोर भएकोसमेत उनले बताएका छन्। उनले थपे, 'जनता संयमित छ । तर, नेताहरु सत्ताको लोभ, त्यसले गर्दा थप्पड लगायो भने गएर खुट्टा समाएर आमा भनेर रुन्छ नि बच्चाले, त्यस्तै थप्पड लगायो भने पनि त्यसलाई सहेर बस्ने तर त्यसको विकल्प नखोज्ने। चीन त्यहाँ छँदै थियो। पहिल्यैदेखि थियो। किन बाटो नखोलेको? किन पारवहन, यातायात सम्झौता नगरेको? किन सधैंका लागि नाकाबन्दीबाट देशलाई मुक्त नगरेको? हामीले त्यसलाई मुक्त गरेका छौं। नेकपा एमाले त्यस्तै पार्टी हो।'
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले राजनीतिलाई दुश्मनीको विषय बनाएको भन्दै आपत्ति जनाए। प्रतिस्पर्धालाई छोडेर सत्तारुढ दलहरुले मिलेर राजनीतिलाईं दुश्मनीको विषय बनाएको उनको भनाई थियो। ओलीले मुलुकलाई बर्बाद हुनबाट बचाउन आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउनुपर्ने दाबी पनि गरे।