काठमाडौं– नेकपा माओवादी केन्द्रको अन्तर्घात समितिले स्थानीय तह निर्वाचनमा अन्तर्घात भएको निष्कर्षसहितको प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहाललाई बुझाएको छ।
टंक राईको नेतृत्वको छानबिन समितिले अन्तर्घातको आरोप लागेका नेता÷कार्यकर्तासँग बयान लिएर तयार पारेको प्रतिवेदन सोमबार अध्यक्ष प्रचण्डलाई बुझाएको हो ।
प्रतिवेदनले स्थानीय तह निर्वाचनमा पार्टी निर्णयको अवज्ञा गर्नेलाई निष्कासन, निलम्बन र चेतावनीको कारबाही गर्न सुझाएको छ। अध्यक्ष प्रचण्डले अनुशासनहीन र अराजक व्यक्तिलाई कारबाही अघि नबढाए कम्युनिस्ट पार्टी निर्माण नहुने हुँदा अनुशासन तोड्नेलाई दण्डित गरिने जनाए।
उनले भने, ‘राम्रो गर्नेलाई प्रोत्साहित, नराम्रो गर्ने, अनुशासन तोड्ने र अराजकतातिर जानेहरूलाई दण्डित गर्ने प्रक्रिया अगाडि नबढाउने हो भने कम्युनिष्ट पार्टी कम्युनिस्ट पार्टीजस्तो रहँदैन। अन्तर्घातीलाई कारबाही गर्न नसकिए कम्युनिस्ट पार्टीभित्र अराजकता आउने र त्यसले समाजवादतिरको यात्रालाई अवरुद्ध गर्नेछ।’