विराटनगर– नगरलाई स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यले विराटनगर महानगरले हरेक शुक्रबार सरसफाइ विशेष अभियान सञ्चालन गर्ने भएको छ। महानगर क्षेत्रलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी तीन भागमा बाँडेर सरसफाइ विशेष अभियान सञ्चालन गरिने महानगरका मेयर नागेश कोइरालाले बताए।
हरेक शुक्रबार बिहान ७ देखि साढे ८ बजेसम्म सफाइ अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो। ‘कुनै पनि ठाउँको पहिचान भनेको सफाइ र सुन्दरता नै हो’, मेयर कोइरालाले भने, ‘बाहिरबाट आउने पर्यटकले झट्ट हेर्दा सहरमा जताततै फोहर देखे भने तिनमा नकारात्मक प्रभाव पर्छ। फोहोर भनेको सहरको सभ्यतासँग पनि जोडिएको हुन्छ। सोही कारण महानगरमा सफाइ विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेका हौं।’
मन्दिर, मस्जिद र सार्वजनिक स्थलमा भीख माग्ने, फुटपाथ खाली गर्ने, छाडा चौपाया नियन्त्रण गर्ने अभियानलाई पनि तीव्रता दिइएको उनले बताए। ‘हामी निर्वाचित भएर आएको भर्खर तीन महिना भएको छ। यो बीचमा धेरै कुरा बुझ्नै लाग्यो’, कोइरालाले भने, ‘आउनेबित्तिकै हामीले महानगरका सबै नाला सफा गर्यौं, जसले गर्दा यस पटकको वर्षामा डुबान समस्या कम भयो। यससँगै फुटपाथ खाली गर्ने, छाडा चौपाया नियन्त्रण गर्ने कार्यलाई तीव्रता दिएका छौं।’
महानगर उपप्रमुख शिल्पा निराला कार्कीले विकास निर्माणसँगै सामान्यभन्दा सामान्य विषयलाई पनि ध्यान दिएर काम गरिरहेको बताइन्। सरसफाइ विशेष अभियानमा महानगरबासीलाई समेत सहभागी हुन उनले आग्रह गरिन्।
यसअघि मोरङका प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा प्रत्येक शनिबार बिहान नगर क्षेत्र सरसफाइ अभियान सञ्चालनमा रहेको छ। प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा प्रहरी प्रमुख, राष्ट्रसेवक कर्मचारी, समाजसेवीलगयात विभित्र सङ्घसंस्थाका प्रतिनिधिको यो काममा सहभागी भई सहयोग गर्दै आएका छन्।विराटनगरमा केही समयदेखि बजारभित्र फोहोरको चाप घटेको र नगरको सफाइ भएको पाइएको छ।–रासस