काठमाडौं- नेपाल प्रहरीले अदालतबाट १२ लाख जरिवना ठहर भएका एक जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनबाट १२ लाख जरिवना र तीन दिन कैद सजाय भएका सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका बस्ने २६ वर्षीय सविना थापालाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।
उच्च अदालत पाटनको विसं २०७९ असार ७ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा फरार थापालाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको एनआइसी एसिया बैंक लिमिटेड भक्तपुर शाखाको चेक दिएर बैकिङजन्य कसुर गरेकी थिइन्। थापालाई जिल्ला अदालत काठमाडौंको आदेशअनुसार कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा पठाइएको प्रहरीले जनाएको छ।