काठमाडौं- सरकारले दैलेखको भगवतिमाई गाउँपालिका–३, मेहेलतोलीका कविराम कामी र कर्णबहादुर कामीले आफ्नो वास्तविक नामबाट नागरिकता लिएका छन्।
२०४६ सालमा लिएको नागरिकतामा अपमाजनक नाम (कुकुर कामी र ठगे कामी) थियो। गृह मन्त्रालयको निर्देशनबमोजिम जिल्ला प्रशासन कार्यालयले नाम सच्याएर वास्तविक नाम (कविराम र कर्णबहादुर कामी) राखेर आइतबार अर्को नागरिकता दिएको हो।
दलित समुदायका व्यक्तिलाई होच्याएर अपमानजनक नाममा नागरिकता जारी गरेको पाइएपछि केही दिनअघि गृह मन्त्रालयले नाम सञ्चाउन चाहनेलाई सच्याएर नागरिकता दिन भन्दै देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो।
सोबमोजिम कविराम कामी र कर्णबहादुर कामीलाई सम्मानजनक नामबाट नागरिकता दिइएको हो।
यसअघि गृह मन्त्रालयले 'अपमानजनक' शब्द प्रयोग गरी नागरिकता जारी नगर्न र यसअघि जारी भएका नागरिकता पनि सम्बन्धित व्यक्तिले सच्याउन चाहे सच्याइदिन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो।
गृहल् 'अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने' विज्ञप्तिमा थप भनिएको छ,'त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउन' निर्देशन दिएको थियो।