लहान- 'आब ककरा बाबु कहबै, के कर साहारामे रहबै' (अब कसलाई बुबा भन्नु? कसको साहारमा बाँच्नु?) लहान नगरपालिका–१४ बस्तीपुरका जितनीदेवी रामले रोइकराइ गरेपछि उपस्थित गाउँलेले पनि आँसु थाम्न सकेनन्।
समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको खबर सुनेलगत्तै विक्षिप्त बनेकी जितनीदेवीको आँशु रोखिएको छैन। 'आफूलाई छोरीजस्तै बाल्यकालबाटै पाल्नुभएका प्रदीप बाबु छोडेर गएपछि टुहुरी जस्तै भएकी छु,' शोकमा रहेकी जितनीदेवीले भनिन्, 'अब कसलाई बुवा भन्नेर बोलाउने? समस्या पर्दा कसलाई सुनाउने? अब कोही रहेन, बेसाहराजस्तै भएकी छु।'
भारतको नयाँदिल्लीमा उपचार गराउन जाने क्रममा उनले 'म उताबाट आएपछि तिम्रो सबै समस्या सुनिदिन्छु' भनेर गएका रहेछन्। 'आश्वासन दिएर जानु भएको प्रदीप बाबु अब मेरो समस्या कहिले नसुन्ने गरी सदाका लागि जानुभयो। अब मेरो समस्या सुनिदिने कोही रहेन, आफू टुहुरी जस्तै भएकी छु,' जितनीले बिलौना गरिन्, 'कुनैबेला पेसाको समस्या पर्दा प्रदीप बाबुले कहिले मसँग छैन, दिन्न भन्नु भएन। उहाँ कतैबाट आश्रममा आउँदा पहिला जितनी भन्नेर बोलाउनुहुन्थ्यो, मैले ल्याइदिएको पानी खानुहुन्थ्यो त्यसपछि मेरो समस्याबारे सोध्नुहुन्थ्यो। ती सबै कुरा सम्झनामा आइरहन्छ।'
जहिले पनि पढ्नुपर्छ, दलित पनि ठूलो मान्छे बन्नुपर्छ भन्ने प्ररेणा दिने व्यक्तिका रूपमा रहेका ठूलोबुवाको निधनले आफूले अभिभावक गुमाएको स्थानीय २० वर्षीय दीप परियार पनि शोकमा छन्।
'आश्रममा जहिले आउँदा मेरो पढाइका बारेमा सोध्नुहुन्थ्यो, अनि पढ्ने नयाँनयाँ कुरा सिकाउनुहुन्थ्यो,' लहानस्थित जेएस मुरारका क्याम्पसको कक्षा १२ मा अध्ययनरत परियारले भने, 'उनको प्रेरणाका कारण मेरो पढ्ने, वातावरण बन्यो मेरो पढाइमा उहाँको ठूलो योगदान छ।' अब उनी जस्तो व्यक्तित्व पाउन मुस्किल रहेको उनको भनाइ थियो।
'प्रदीप बाबु असाध्यै सरल, भावुक स्वभावका व्यक्ति हुनुहुन्थ्यो,' बस्तीपुर गाउँका ५० वर्षीय चेतबहादुर भुजेलले भने, 'उहाँ गाउँको मात्र होइन, देशकै प्रतिष्ठा थियो, उनको निधनले हामी अभिभावकविहीन भएका छौँ। उहाँको निधनले हामी शोकाकूल भएका छौँ। हामी असल र स्वाभिमानी नेता गुमाएका छौँ,' उनले भने।
जितनी, दीप र चेतबहादुर मात्र होइन, नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सदस्य प्रदीप गिरिको निधन भएपछि यतिबेला बस्ती गाउँ नै शोकमा डुबेको छ। गाउँले नेता गिरिको पुर्ख्यौली घर अगाडि भेला भएर शोक मनाइरहेका छन् भने कतिपयले गिरिलाई सम्झेर आँशु बगाइरहेका छन्।