प्रदीप गिरी पारिवारिक रूपमा नै कांग्रेस हुनुहुन्थ्यो। उहाँका पिताजी मित्रलाल लामो समय सिरहा कांग्रेसको सभापति हुनुहुन्थ्यो। काका रुद्र गिरी पनि २००७ सालको क्रान्तिको कमाण्डर नै हो। त्यही भएकाले उहाँको संगत नै कांग्रेसहरूसँग भयो। सुरुमा छात्र संघको उपाध्यक्ष हुनुभएको थियो बनारसमा। अध्यक्ष शैलजा आचार्य हुनुहुन्थ्यो। त्योभन्दा पछि उहाँ राजनीतिभन्दा बढी अध्ययन- अनुसन्धान र चिन्तनमा लाग्नुभयो। जब उहाँ भारतमा अध्ययनका लागि जानुभयो, त्यसपछि चाहिँ उहाँ बदलिनुभयो।
उहाँ अध्ययनका लागि भारत गएपछि त्यहाँका राममनोहर लोहियाजस्ता समाजवादीहरुसँगको संगतमा पर्नुभयो। उहाँ त्यसपछि समाजवादको चिन्तनमा लाग्नुभयो। त्यसपछि राजनीतिज्ञभन्दा बढी समाजवादी चिन्तक बन्नुभयो। उहाँले संगठनभन्दा बढी अध्ययनमा बिताउनुभयो।
लेनिनका बारेमा, मार्क्सबारेमा उहाँले लेखेको जत्तिकै विषय नेपालका कुनै कम्युनिस्टहरूले पनि लेखेका छैनन्। उहाँको सबैभन्दा महत्त्वपूर्ण कृति भनेको बीपी कोइरालाका छानिएका कृतिहरूको संगालो हो। अहिले नेपालको राजनीतिमा बीपी कोइरालालाई बुझ्न सहज भएको छ। यो प्रदीप गिरीको देन हो।
समाजवादका बारेमा, लेनिन मार्क्सका बारेमा गरेको चिन्तन र उहाँको जत्तिको गहिरो ज्ञान त अहिलेको कुनै पनि नेतासँग छैन। उहाँ बीपी कोइरालासँगै पनि बहस गर्नुहुन्थ्यो। तर, उहाँ बीपी कोइरालाको चिन्तन भन्दा कहिल्यै बाहिर जानुभएन। समाजवाद र लोकतन्त्रको पक्षमा वकालत गरेर चिन्तन गरिरहनुभयो।

सत्ताका लागि र पैसाका लागि उहाँले कहिल्यै लोभ गर्नुभएन। उहाँ सांसद त हुनुहुन्छ। तर सत्ता र शक्तिबाट टाढा रहनुभयो। सिरहामा जाँदा उहाँले जन्मथलो बस्तीपुरमा एउटा आश्रम बनाउनुभएको थियो। त्यही आश्रममा बस्नुहुन्थ्यो। उहाँको जीवन निरन्तर समाजको परिवर्तनका लागि लगाउनुभयो। जहाँ भेट्यो, त्यही खाने। आम नागरिकसँगै समय बिताउने, किताब भेटे जस्तो किताब पनि पढ्ने उहाँको बानी थियो। बस्तीपुरको आश्रममा म पनि पुगेको थिएँ।
२०३६ सालको जनमत संग्रहभन्दा अगाडिको कुरा हो। उहाँको पिताजी मित्रलाल गिरी सिरहा जिल्लाको कांग्रेस सभापति हुनुहुन्थ्यो। सिरहाको बस्तीपुर नजिकै आमसभा भएको थियो। जनमत संग्रहमा बिपी कोइरालाले सम्बोधन गरेका आमसभामध्ये सबैभन्दा ठूलो आमसभा त्यही थियो। त्यो आमसभा महत्त्वपूर्ण पनि थियो। त्यो आमसभा बिपी कोइरालाप्रति आम नागरिकको ठूलो सम्मान थियो। नागरिकमा ठूलो उत्साह थियो। त्यो बेला प्रदीप गिरी युवक हुनुहुन्थ्यो। त्यो आमसभा सफल पार्नका लागि प्रदीपजी लाग्नुभएको थियो। प्रदीपजीको पारिवारिक कारणले पनि र प्रदीपजीको खटाइका कारण त्यो आमसभा सम्भव भएको थियो। पछि जनमत संग्रहमा पञ्चायतको भन्दा बढी भोट बहुदलका पक्षमा थियो।
अरू सबै जिल्लामा पञ्चायतको बढी भोट देखियो। तर, सिरहामा बहुदललाई बढी भोट आएको थियो। पोखरामा नेपाली कांग्रेसको १०औं महाधिवेशन भइरहेको थियो। त्यो बेला कांग्रेसमा अञ्चलबाट केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था थियो। मैले पनि केन्द्रीय सदस्यको उम्मेदवार बन्ने इच्छा व्यक्त गरेको थिएँ। प्रदीपजीले पनि केन्द्रीय सदस्यको इच्छा देखाउनुभयो।
हामी दुवै सगरमाथा अञ्चलका भएकाले समस्या पर्ने भयो। अनि किसुनजीले मलाई बोलाएर प्रदीपजीलाई छोड्न भन्नुभयो अनि मैले छोडें। किसुनजीले कार्यक्रम सञ्चालन गरेका बेलामा प्रदीपजीलाई बोल्न समय दिनुभयो। पाँच मिनेटको समयमा प्रदीपजीले बन्दसत्रमा बोल्न पाउनुभएको थियो। त्यही भरमा उहाँ केन्द्रीय सदस्य निर्वाचित हुनुभयो। भाषण गरेर मान्छेलाई कन्भेन्सन गर्ने कला प्रदीपजीसँग थियो।