काठमाडौं- साहित्यकारहरूले नेपाली राजनीतिक क्षेत्रले एक बौद्धिक व्यक्ति गुमाएको भन्दै दु:ख व्यक्त गरेका छन्।
आख्यानकार अमर न्यौपानेले गिरीलाई बुद्धत्वको नजिक पुगेको व्यक्तिका रूपमा चित्रण गरेका छन्। 'मलाई लाग्छ, उहाँ बुद्धत्वको नजिक पुग्नुभएको थियो। उहाँको विचार, व्यवहार र जीवनशैलीले यही कुरा भन्छ। निरपेक्ष भएर राजनीति, अध्यात्म, साहित्य, प्रेम र दर्शनका बारे घण्टौँ सत्प्रवचन दिनसक्ने चिन्तक। उहाँसँग छरिएका असमेल धेरै सामग्री छन्। तिनलाई व्यवस्थित गर्न उहाँलाई अझै केही वर्ष लाग्थ्यो होला। तर, असमयमै शरीर छोड्नुपर्यो।'
नेपाली लेखक संघका निवर्तमान उपाध्यक्ष एवं साहित्यकार रामलाल जोशीले अपुरो धोको अधुरै रह्योभन्दै प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
'दुई वर्षअघि धनगढीमा आयोजित विश्व नेपाली साहित्य महोत्सवका लागि आमन्त्रण गर्न जाँदा श्रद्धेय प्रदीप गिरीज्यूले भन्नुभयो- मधेसमा आएर केही लेख्नु छ भने मैले एउटा आश्रम बनाएको छु। किसुनजी पनि पटक-पटक त्यहिँ बस्नु भएको छ। तपाई त्यहिँ बसेर लेख्नुस् है रामलालजी,' गिरीलाई स्मरण गर्दै जोशीले भने।
धनगढी पुगेपछि दुई वर्षअघि मञ्चमा उक्लिने बेला उनले आफ्ना दुई वटा किताबबारे एक घण्टा बोल्नुछ भनेको कुरा जोशी स्मरण गर्छन्। 'तपाईंका दुई किताबबारे बोल्नु छ रामलालजी, कैले मौका दिनुहुन्छ? भन्नु भयोको थियो,' जोशी भन्छन्, 'मैले दाजु आज तपाई र बाबुराम भट्टराई 'बौद्धिकताले नधानेको राजनीति' भन्ने विषयमा वक्ता हुनुहुन्छ। मेरो किताबको बारेमा तपाईंले बोलिदिने मेरो सौभाग्य मलाई फेरि मिलोस् भनेको थिए।'
दुई वर्षपछि नयाँ किताबको लोकार्पण गर्न काठमाडौं आएको बेला गिरी सदाको लागि चिर निद्रामा लिन भएकोप्रति आफू स्तब्ध रहेको जोशीले बताए। 'आफ्ना किताबका बारेमा उहाँको विचार र दृष्टिकोण सुन्ने धोको अब अपुरै रह्यो। मधेसको उहाँको आश्रममा उहाँलाई नै साक्षी राखेर केही लेख्ने धोको पनि अब सदाका लागि अधुरो रह्यो,' उनले भने।
यतिबेला देशलाई नयाँ युगको नयाँ चिन्तन र दर्शनको प्रवचन दिने एक प्लेटोको अवसान भएको जोशीको भनाइ छ। रनभुल्ल परेको देशलाई बौद्धिक विमर्शले जगाउने नेता सदाको लागि सुतेको जोशीले बताए।
'नेपाली राजनीतिमा सिद्धान्त, निष्ठा र आदर्शको अगुवाइ गर्ने पात्रको अवसानले सिद्धान्तवादीहरूको मियो ढलेको छ,' उनले भने, 'राजनीतिमा विचार र बौद्धिकताको खडेरी परेको बेला देशको बौद्धिक पाठशाला भत्किएको छ। एक असल बौद्धिक ऋषि देशले गुमाएको छ। नेपालको बौद्धिक जगत टुहुरो भएको छ।'
पत्रकार एवं साहित्यकार किशोर नेपालले गिरीलाई आफ्नो आस्थाको धरोहर भएको बताएका छन्। उनी नेपाली राजनीतिमा निकै अग्ला कदका नेता भएको उनको भनाइ छ।
नेपाली लेखक संघका महासचिव सोझो गाउँले नेपाली राजनीतिमा ज्ञान र विचारको एक बलियो खाँबो ढलेको बताउँछन्।
'जसलाई देख्दा, भेट्दा, सुन्दा, पढ्दा वा सम्झिँदा मात्रै ठूलै सौभाग्य प्राप्त भएको महसुस हुन्थ्यो। जसको ज्ञान, विचार, व्यक्तित्व र व्यवहारबाट सबैभन्दा बढी प्रभावित तथा लाभान्वित भइयो, उसैको मृत्युको खबर सुन्दा पत्यार गर्नै गाह्रो हुँदो रहेछ,' गाउँलेले भने। भौतिक रूपमा अब नरहे पनि ज्ञान, विचार, सिद्धान्त र सत्यको प्रतीक बनेर गिरी नेपाली जनमानसमा अमर भइसकेको गाउँलेले बताए।
लेखक संघका केन्द्रीय सदस्य गणेश नेपालीले लोकतन्त्र र समाजवादी चिन्तक, दार्शनिक राजनीतिज्ञ, नेपाली कांग्रेसमा विचारको सगरमाथा रहेका गिरीको निधनले निकै दुखी तुल्याएको बताए।