काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।
महामन्त्री शर्माले एक पटकसम्म राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौंथो पटक भन्दा बढि सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने बताएका हुन्।
काठमाडौंमा शनिबार आयोजित युवाहरुसँगको अन्तरक्रियामा बोल्दै उनले राजनीतिलाई सिंहदरवारबाटै रुपान्तरण गर्ने हो भने एउटै व्यक्तिलाई सिंहदरबार छिर्ने अधिकार पटकपटक दिन नहुने तर्क गरे। उनले राजनीतिलाई दुश्मनीको रुपमा लिने गरी अभिव्यक्ति दिन नहुने पनि बताएका छन्।
दलहरुले आ–आफ्नो नीति, सिद्धान्त र कार्यक्रमको कुरा गरे हुने तर एकअर्काप्रति दुश्मनी साँध्ने गरी अभिव्यक्ति दिन भने नहुने महामन्त्री शर्माले बताए। उनले भने, ‘एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा बढि सांसद हुन नपाउने व्यवस्था हुनुपर्यो। राजनीतिलाई रुपान्तरण गर्ने हो भने त्यसको सुरुवात सिंहदरबारबाटै हुनुपर्छ। मैले त भन्ने गरेको छु-राजनीतिलाई दुश्मनीको रुपमा पनि लिनुहुन्न।’
महामन्त्री शर्माले युवाहरुको लागि लोकतन्त्र र विकास अनिवार्य रहेको र त्यसका लागि मुलुकमा काम भइरहेको दाबी समेत गरे। उनले जनताको सेवाको कामलाई सहज बनाउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।