काठमाडौं- नेकपा माओवादी केन्द्रले चुनावलाई लक्षित गर्दै सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। माओवादीको शनिबार बसेको स्थायी कमिटी बैठकले सातै प्रदेशमा गर्ने प्रशिक्षण कार्यक्रमको मिति पनि तय गरेको छ।
जस अनुसार भदौ ८ गते मधेश प्रदेशको बैठक तथा प्रशिक्षण कार्यक्रम राखिएको छ। ९ गते गण्डकी प्रदेश, १० गते प्रदेश १, ११ गते लुम्बिनी प्रदेश, १२ गते बागमती प्रदेश, १३ गते विशेष प्रदेश, १५ गते सम्पर्क समन्वय समिति, १६ गते कर्णाली प्रदेश र १७ गते सुदूरपश्चिम प्रदेशमा चुनावीलाई लक्षित बैठक तथा प्रशिक्षण कार्यक्रम राखिएको छ।
बैठकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको चुनावी घोषणा पत्र मस्यौदा समिति समेत बनाएको छ। जसको सदस्यमा नेताहरु देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लिलामणि पोखरेल, गणेश साह, परशुराम तम्तेल, अमृता थापामगर, हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, कृष्ण चौधरी, भिमा ढुंगाना र जगत सिंखडा रहेका छन्। गठबन्धनको तर्फबाट पनि साझा चुनावी घोषणा पत्र आउने र पार्टीको तर्फबाट पनि घोषणा पत्र ल्याउने गरी सो समिति बनाइएको उपाध्यक्ष महराले बताए।
बैठकले पार्टीमा आवद्ध विद्यार्थी संगठनमा देखिएको विवाद समाधान गर्ने जिम्मेवारी पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय समेत गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्।
माओवादीको शनिबारको बैठकबाट पदाधिकारीको टुंगो पनि लगाएको छ। केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले महासचिवमा देवप्रसाद गुरुङलाई चयन गर्ने निर्णय गरेको हो।
त्यसैगरी पार्टीको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा भएका छन्। महासचिवमा गुरुङ र उपमहासचिवमा नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, पम्फा भुसाल र मात्रृका यादव चयन भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।
दिनानाथ शर्मा, चक्रपाणि खनाल, लिलामणि पोखरेल, देवेन्द्र पौडेल, हितमान शाक्य, हितराज पाँण्डे, डिलाराम आचार्य र राम कार्की सचिव हुनु भएको छ भने कोषाध्यक्षमा श्रीराम ढकाल चयन भए।
विशेष महाधिवेशन छिट्टै गर्ने र त्यसअघिसम्मका लागि पदाधिकारीहरुको चयन गरिएको पार्टीका उपाध्यक्ष महराले बताए।