मंगलबार, जेठ २६, २०८३

कोदो खेतीमा किसानको आकर्षण घट्दो

परम्परागत तरिकाले केही किसानले मात्र यसको खेती गरिरहेका छन्। कोदोबाट खास आम्दानी नहुने तथा खेती गर्न झन्झटिलो हुने भएकाले यसको खेती कमी हुँदै आएको टेम्केमैयुङ–७ कोटका कृषक धनबहादुर प्रधान बताउछन्। विगतका वर्षमा धेरै किसानले खेती गर्ने गरेकामा पछिल्लो समय छाड्दै गएको उनको भनाइ छ।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

भोजपुर- बहुउपयोगी अन्नको रुपमा रहेको कोदो खेतीमा भोजपुरका किसानको आकर्षण घट्दै गएको छ। नेपालको चौथो मुख्य बालीका रुपमा रहेको कोदोबाट राम्रो आम्दानी नभएपछि किसानमा यसको खेतीप्रति आकर्षण घट्दै भएको हो।

National life

यहाँका अधिकांश ठाउँमा कोदो फल्ने भए पनि पछिल्लो समय कमै मात्र किसानको रोजाइमा यो बाली पर्ने गरेको छ। आफूले खानका लागि सामान्यरुपमा खेती गरे पनि व्यावसायिकरुपमा कोदो खेती नगरेका किसानले यसबाट जीवनयापन गर्नसक्ने अवस्था नरहेको बताउँछन्। 

परम्परागत तरिकाले केही किसानले मात्र यसको खेती गरिरहेका छन्। कोदोबाट खास आम्दानी नहुने तथा खेती गर्न झन्झटिलो हुने भएकाले यसको खेती कमी हुँदै आएको टेम्केमैयुङ–७ कोटका कृषक धनबहादुर प्रधान बताउछन्। विगतका वर्षमा धेरै किसानले खेती गर्ने गरेकामा पछिल्लो समय छाड्दै गएको उनको भनाइ छ। 

'पछिल्लो समय हाम्रो क्षेत्रमा कोदो खेती घट्दै गएको छ,'  कृषक प्रधान भन्छन्, 'कोदो खेतीमा कमैको मात्र रुचि देखिन्छ। कोदो खाने चलन गाउँघरमा घट्दै गएको छ। विगतका दिनमा जस्तो उत्पादन पनि हुन्‍न।'

कोदो स्थानीय बजारमा प्रतिपाथी रु एकसय ६० मा बिक्री हुने गरेको छ। आफ्नो बारीमा उत्पादन भएको कोदो स्थानीय सौर्य बजार लगेर बेच्ने गरेको उनी बताउँछन्। मानिसले ढिँडो वा रोटी बनाएर खानेभन्दा पनि जाँडरक्सी बनाउन मात्र बढी प्रयोग हुने गरेको छ। दसैँ, तिहार, किरात राईहरुको उधौली, उभौलीलगायत चाडमा बढी कोदोको माग हुने कृषक प्रधान बताउँछन्।

Shivam cement

उनी भन्छन्, 'यसको परिकार बनाएर खाने चलन कम छ। कहिलेकाहीँ मानिसले ढिँडो बनाएर  खान्छन्  तर गाउँघरमा दैनिकरुपमा ढिँडो, रोटीलगायत परिकार बनाएर खाने चलन घट्दै गएको छ। खास गरेर जाँडरक्सी बनाउनका लागि नै कोदोको खोजी हुने गरेकामा चाडबाडको समय बाहेक अरु समयमा खास कोदोको खोजी हुँदैन।'

वार्षिकरुपमा आफूले १० देखि १२ मुरीसम्म कोदो फलाउँदै आएको र  अहिले गाउँमा करिब २० देखि ३० मुरीको हारहारीमा मात्र कोदो उत्पादन हुने गरेको छ। उनले भने, 'खासमा कोदो खानुको फाइदा थाहा नभएर पनि खेतीमा रुचि देखिँदैन। सहर बजारबाट सहजरुपमा चामल आउने अवस्था छ। मानिस त्यसैलाई मिठो मानेर खान्छन्  तर मैले भने कोदो उत्पादन हुने क्षेत्र घटाएको छैन। दैनिकरुपमा उपभोग गर्छु। यसको  महत्वका बारेमा जानकारी दिएर उत्पादनमा जोड दिन आवश्यक छ। यस्तै अवस्था हो भने कोदो लोप हुने अवस्था पनि आउन सक्छ।'

खाद्यसुरक्षा तथा स्वास्थ्यको दृष्टिकोणले कोदोलाई महत्वपूर्ण बालीका रुपमा लिइन्छ। यसलाई ढिँडो, रोटी, सातु, लिटो, खोलेलगायत परिकार बनाएर खान सकिने स्थानीय किसानको भनाइ छ। कोदोको खोलेलाई चिसोका कारण हुने रोगको औषधिका रुपमा लिन सकिन्छ। चिसोले सताए कोदोको खोले खाएमा ठिक हुने उनीहरु बताउँछन्।

केही सिमित कामका लागि मात्र खोजी हुने भएकाले कोदो खेतीमा किसानको रुचि कम हुँदै गएको टेम्केमैयुङ–६ का वडाध्यक्ष सूर्यप्रसाद नेपाल बताउँछन्। आफ्नो वडाका धेरै मानिसले कोदो खेती गर्न छाड्दै गएको उनको भनाइ छ। किसानमा परम्परागतरुपमा हुँदै आएको कोदोलगायत बालीको विकल्पमा अन्यबाली लगाउने चलन बढेको छ। 

'मानिसले वैकल्पिक बालीको खोजी गर्ने भएकाले कोदोप्रति कम रुचि देखिन्छ,' वडाध्यक्ष नेपाल भन्छन्, 'आठ, दश वर्षअघिसम्म प्रशस्त कोदो उत्पादन हुन्थ्यो। त्यसको खपत यही नै हुने गरेको थियो तर अहिले यो अवस्था छैन। सामान्यरुपमा खेती गरे पनि धेरै मानिसले कोदो रोप्न छाडेको अवस्था छ।' जिल्लामा छ हजार हेक्टर कोदोबालीका लागि खेतीयोग्य जमिन रहेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । व्यावसायिकरुपमा किसानले खेती गर्न छाड्दै गएको ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास अम्गाईं बताउँछन्। 

अहिले किसानले गरिरहेको कोदोखेती निर्वाहमुखी मात्र रहेको उनको भनाइ छ। कोदोको महत्वलाई नबुझेर नै किसानले खेती गर्न छाडेको देखिन्छ। कोदो खानु स्वास्थ्यका लागि अति नै लाभदायक छ। तौल घटाउन पनि कोदो खान नै राम्रो मानिन्छ। कोदो खाएको लामो समयसम्म  भोक नलाग्ने भएकाले र तौल नियन्त्रणमा सहयोग पुग्ने भए पनि  ग्रामीण भेगका किसानलाई कोदोका फाइदाका विषयमा जानकारी नहुँदा खेती कम भएको हुनसक्ने सूचना अधिकारी अम्गाईंको भनाइ छ। 

'कोदोखेतीमा किसानको खास उत्साह देखिँदैन,' उनी भन्छन्, 'यसको फाइदाका विषयमा जानकारी नहुँदा पनि खेती घट्दै गएको देखिन्छ। यसलाई व्यवसायीकरण गर्नसके किसानलाई पनि लाभ पुग्ने थियो तर अहिलेको खेती प्रणाली निर्वाहमुखी मात्र देखिन्छ।'

मधुमेह तथा मुटुका बिरामीका लागि कोदोको रोटीलगायत परिकार लाभदायक मानिन्छ। कोदोमा धेरै मात्रामा नियासिन हुने भएकाले शरीरमा कोलेस्ट्रोलको मात्र कम हुने सूचना अधिकारी अम्गाईंको भनाइ छ। कोदोमा हुने क्याल्सियमले हाड र यसमा हुने आइरन तत्वले रगतको कमीले हुने रोगबाट बचाउने गर्दछ। 

कोदो समुन्द्री सहतबाट पाँच सय मिटरदेखि दुई हजार चार सय मिटरसम्म खेती गर्न सकिन्छ। कोदो तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै हावापानी हुने गर्दछ। कोदोखेती गर्दा धेरैजसो स्थानीय जातको प्रयोग हुने भएकाले उन्नत जातको तुलनामा उत्पादकत्व कम हुने कृषि ज्ञान केन्दले जनाएको छ। कोदोसँगै रैथाने बालीको संरक्षणमा योजनाबद्धरुपमा काम गर्ने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत जोड दिन्छन्। गाउँपालिकाले यहाँका यस्ता परम्परागत बालीको तथ्यांक संकलन गरेर तिनको विकास र संरक्षणका लागि काम गर्ने उनको भनाइ छ। 

पछिल्लो समयमा कोदोखेतीमा किसानको रुचि कम हँुदै गएकाले उनीहरुलाई खेतीमा प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने सोच रहेको र किसानले उत्पादन गरेको कोदोको बजारीकरणका लागि बाहिर बजार खोजी गर्नका लागि कुराकानी भइरहेको अध्यक्ष बस्नेत उल्लेख गर्छन्। 

यहाँ उत्पादन भएको कोदो जाँडरक्सी बनाउनका लागि मात्र सबैभन्दा बढी खपत हुने गरेको छ। कोदोबालीलाई विस्तार गरेर किसानलाई सहजरुपमा बेचबिखन गर्ने वातावरणसँगै आयआर्जनमा जोड्ने लक्ष्य रहेको र सरकारका तर्फबाट पनि कोदोको उत्पादन वृद्धिका लागि कोदो प्रवद्र्धन कार्यक्रम ल्याउन आवश्यक रहेको उनी बताउँछन्। 

प्रकाशित: Aug 20, 2022| 22:26 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्