काठमाडौं- सत्तारुढ नेपाली कांग्रेस आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनमा परिणामतर्फ केन्द्रित भएको छ। सत्ता गठबन्धनले आगामी निर्वाचनमा सिट बाँडफाँट गरेर चुनाव लड्ने भएपछि कांग्रेस परिणाम धेरै ल्याउनेतर्फ केन्द्रित भएको हो।
गठबन्धनका शीर्ष नेताहरुको बैठकले बनाएको सिट बाँडफाँट कार्यदलमा सिटको भागबण्डामा दलहरुले आ-आफ्नो अडान कायम राखेपछि सकस भइरहेको छ। यही समयमा कांग्रेसका प्रवक्ता डा. महतले कांग्रेसले आमनिर्वाचनमा परिणाम धेरै ल्याउने विषयमा पार्टीको ध्यान केन्द्रित रहेको बताएका हुन्।
पार्टी कार्यालय सानेपामा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले भने, 'गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा कांग्रेसले सिट धेरै लिनेभन्दा पनि परिणाम धेरै ल्याउने विषयमा केन्द्रित गरेको छ। हाम्रो फोकस कति धेरै क्षेत्रमा उम्मेदवारी दिनेभन्दा पनि कति धेरै ठाउँमा हामी परिणाम ल्याउनेमा छ। यो महत्वपूर्ण हो हाम्रा लागि।'
उनले विगतका निर्वाचनमा सबै निर्वाचन क्षेत्रमा लड्दा पनि परिणाम कम आएको बताउँदै आगामी निर्वाचन कांग्रेसका लागि परिणामुखी बनाउने बताएका छन्।
उनले भने, 'हामी उठ्नेचाहिँ धेरै ठाउँमा, परिणामचाहिँ कम। २०७४ मा हामीले १६५ क्षेत्रमै लडेको होइन ?, २३० प्रदेश निर्वाचनमै लडेको होइन? १६५ मा हाम्रो २३ सिट मात्रै आयो। यो कुरालाई हाम्रा जिल्लाका साथीहरुले बुझ्दै पनि जानुभएको छ, बुझ्नु पनि हुन्छ। तर त्यहाँको भावना, भोट ट्रान्सफर कसरी हुन्छ, हुँदैन सबै स्थिति मूल्यांकन गरेर यसको टुंगो लगाउँने छौं।'
उनले गठबन्धनमा सिट बाँटफाँट टुंगो लगाउने कोसिस भइरहेको भन्दै जटिल भए पनि टुंगो लगाउनै नसक्ने अवस्था नरहेको स्पष्ट पारे। उनले भने, 'सिट बाँडफाँट गर्दा सबैको 'विन-विन सिचुएसन' हुन्छ।'
प्रवक्ताले महतले नागरिकताका विषयमा कू प्रचार गरिएको पनि बताएका छन्। उनले भने, 'ओली सरकारका पाला जारी भएको अध्यादेशकै विषय समेटेर नागरिकता विधेयक ल्याइएको हो। यसलाई चुनावी मुद्दा बनाउने तयारी छ। यो जनताको साथमा कांग्रेस अभियानमा चिर्नुपर्छ।'
कांग्रेसले मंसिर ४ मा हुने संघ र प्रदेश निर्वाचनका लागि भदौ १० गतेदेखि १४ दिनसम्म 'जनताको साथमा कांग्रेस' अभियान सञ्चालन गर्ने भएको छ। कांग्रेसले भदौ १० देखि २४ सम्म गर्ने अभियानमा पार्टीले विगतमा सरकार हुँदा गरेका काम अब गर्ने कामका बारेमा जनतालाई भन्ने प्रवक्ता डा. महतले बताए। उनका अनुसार आइतबारदेखि यस अभियानका क्रममा ७७ जिल्ला जाने प्रतिनिधिहरुलाई अभिमुखीकरण तालिम दिइनेछ।