विराटनगर- विराटनगरको ऐतिहासिक पहिचान बनाएको राधाकृष्ण रथयात्राको ५४औं संस्करण शनिबार सुरु भएको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदै आइएको छ।
रथसँगै खटलाई पनि निकाल्ने गरिएको छ। विराटनगर १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट सुरु हुने रथ पुन सोही ठाउँमा पुगेर समापन गर्ने गरिएको छ।
कोरोना महामारीका कारण विगत दुई वर्ष राधाकृष्ण रथयात्रा खटयात्रामा सीमित भएको थियो। राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको बैठकले दुई पटकसम्म रोकिएको रथयात्रा यो वर्ष भने गर्ने निर्णय लिएको अध्यक्ष कैलाश रेग्मीले बताए।