मंगलबार, जेठ २६, २०८३

गगन थापाले खोजे चुनावपछि सत्ता गठबन्धन कायम रहने ग्यारेन्टी

सत्तामा बसेर कांग्रेसलाई दलाल भन्नेहरूसँग तालमेल गरेर चुनावमा जाने पार्टी निर्णय शिरोपर गर्नुपर्ने बाध्यता रहेको नेता थापाको गुनासो।
 |  शनिबार, भदौ ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ४, २०७९

काठमाडौं– कांग्रेस महामन्त्री गगन थापाले चुनावपछि सत्तारुढ गठबन्धन एक ठाउँ रहने ग्यारेन्टी अहिले नै तय हुनुपर्ने बताएका छन्।

National life

कांग्रेसको प्रदेशसभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले अहिले तालमेल गरेर सत्ता गठबन्धनमा रहेका दललाई मत मागे पनि चुनावपछि गठबन्धन कायम रहने ग्यारेन्टी नभएको दाबी गरेका हुन्।

‘हामी तालमेल गरेर चुनावमा भोट मागौंला। तर चुनाव भएको ६ महिनामा एउटा एकातिर, अर्को अर्कोतिर हिँड्दैन भन्ने के ग्यारेन्टी छ?’ उनको प्रश्न छ।

२०७४ को चुनावमा एमाले र नेकपा माओवादी केन्द्रले वाम गठबन्धन गरेर पार्टी एकीकरण गरे पनि पछि अलग भएको स्मरण गर्दै उनले यो चुनावपछि त्यस्तै हुन सक्ने औंल्याए।

चुनावअघि भन्दा चुनावपछिको तालमेल उपयुक्त हुने भए पनि तालमेल गर्ने पार्टीको निर्णय मान्नुपर्ने अवस्था रहेको थापाले सुनाए।

Shivam cement

‘चुनावअघि तालमेल गर्नुहुन्न भन्ने कुरा ठीक हो। तर हामीले तालमेल गर्नुहुँदैन भनेर के गर्ने अर्कोले गरिहाल्छ,’ उनले भने, ‘निर्वाचनअघि तालमेल नगरेपछि हाम्रो स्थिति के हुन्छ? २०७४ भोगिसकियो।’

पार्टीका कतिपय नेताहरूले निर्वाचनपछि तालमेल गर्ने कि नगर्ने भन्ने कुरा हाम्रो नियन्त्रणमा छैन भनेपछि पार्टी निर्णय मान्नुपरेको पीडा उनले ओकले। ‘पार्टीमा आफ्नो विचार राख्ने, आफ्नो विचारलाई पार्टीको विचार बनाउन खोज्ने र सम्भव नभए पार्टीको निर्णय मानेर जाने हो,’ उनले भने।

चुनावअघि तालमेल गर्दा दलहरूबीच न्यूनतम विषयमा साझा धारणा हुनुपर्ने महामन्त्री थापाको जिकिर छ।

‘तालमेल गरेर एक ठाउँमा बसेको छ, प्रत्येक विषयमा चाहे विदेश नीतिको विषय आयो भने एउटाले अर्कोलाई दलाल भन्ने। दलाल पनि भनेको छ, सँगै पनि बसेको छ,’ उनले भने।

न्यूनतम कुरा पनि मिल्दैन भने चुनाव जित्न मात्र तालमेल गर्न नहुने थापाको अडान छ।

तालमेल गर्दा पार्टीहरूको जनमत पनि हेर्नुपर्ने उनले बताए। अमुक पार्टीको २ हजार मत छ, कांग्रेसको २० हजार छ। ‘२० हजारमा २ हजार खन्याएर २२ हजार बनाउन सजिलो हुन्छ तर २ हजारमा २० हजार जोड्दा सबै जाँदैन, चुहिन्छ,’ उनले भने।

गठबन्धनमा सिट बाँडफाँट गर्दा २०७४ मा जितेको ठाउँलाई मात्र आधार मान्न नहुने थापाको तर्क छ। ‘यो बाटोतिर गयौं भने पार्टीभित्र ठूलो असन्तुष्टि आउँछ,’ उनले भने।

प्रकाशित: Aug 20, 2022| 13:41 शनिबार, भदौ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...