बर्दिया- छोराछोरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बैतडीको दशरथचन्द नगरपालिका-२ का ३० वर्षीय डम्बरबहादुर बोहोरालाई छोराछोरीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
२०७३ साल साउन २५ गते जन्मेकी छोरी स्मृति ५ वर्षदेखि बेपत्ता छन्। उनको अवस्था अज्ञात छ। डम्बरले २०७४ साल फागुन २१ गते छोरीलाई घुमाउन लैजान्छु भनेर लगेको श्रीमती कृष्णा चन्द बताले बताइन्।
त्यस दिनदेखि छोरीलाई बेपत्ता बनाएर श्रीमान् केही समय घर नफर्केको कृष्णाले बताइन्। नेपाली सेनामा जागिरे बोहोरा भगौडा सैनिक हुन्।
पटक–पटक छोरी कहाँ छिन भन्दा श्रीमान्ले कहिले एसओएस बालग्राम काठमाडौ त कहिले सुर्खेत भनेर झूट बोल्दै आएको कृष्णाको भनाइ छ। डम्बरले केही समय भारतको हरियाणामा पेट्रोल पम्पमा पनि काम गरेका थिए।
पछिल्लो समय भने उनी बर्दियाको बासगढी नगरपालिका-५ एसओएस चोकमा डेरा लिई बस्दै आएका थिए।
गत साउन १६ गते डम्बरले ४ वर्षीय छोरा दीपकलाई कपडा किन्ने भन्दै लगेका थिए। तर उनी आफू मात्र फर्किएका थिए। छोरा घर नफर्किएपछि कृष्णा आत्तिएकी थिइन्।
उनले छोरा हराएको इलाका प्रहरी कार्यालय बासगढीमा उजुरी दिएकी थिइन्। खोजतलासका क्रममा प्रहरीले साउन २३ गते बारबर्दिया नगरपालिका–९ स्थित कल्याण सामुदायिक वनमा दीपकको शव भेटेको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका हृदयेश सापकोटाले बताए।
दीपकको निर्ममतापूर्वक छोराछोरीको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ।