काठमाडौं- नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन्। पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखसमेत रहेका सचिव भट्टराईले संघ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले आगामी निर्वाचनको तयारी गरिरहेको बताएका हुन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनका लागि आफ्नो पार्टीले जनताको आकांक्षा अनुरुपको घोषणा पत्र निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। त्यसका लागि पार्टीका सबै विभागहरुले विज्ञहरुसँग छलफल गरेर सो घोषणा पत्रको मस्यौदा तयार पार्ने योजना अनुसार काम भइरहेको पनि सचिव भट्टराईले जानकारी दिए। पार्टीले तयार पार्ने चुनावी घोषणापत्र मुलुकमा विद्यमान आजको चुनौतीलाई सामना गर्न सक्ने, जनपक्षीय र नेपालको राष्ट्रिय हितलाई सम्बोधन गर्न सक्ने खालको हुने पनि बताए।
‘नेकपा (एमाले), जोसँग विगतमा सरकार संचालन गरिसकेको अनुभव छ। र, आउने दिनमा पनि नेकपा (एमाले) बहुमत ल्याएर प्रदेश र संघको सरकार संचालन गर्ने त्यो आकांक्षाका साथ हामी चुनावमा जाँदैछौं। त्यसो हुँदा हाम्रो घोषणापत्र बढी व्यवहारिक, बढी उपयोगी, गर्न सकिने अनावश्यक पपुलारिटीको हिसाबले होइन, एउटा राजनीतिक दलको हिसाबले भोलि गर्न सकिने मुद्दाहरुमा केन्द्रित हुँदै व्यवहारिक मुद्दाहरुमा केन्द्रित हुँदै र विश्वव्यापी हाम्रा प्रतिबद्धतालाई पनि सम्बोधन गर्दै अगाडि जाने घोषणा पत्र हामी बनाउनेछौं,' भट्टराईले भने, 'विषय विज्ञहरुसँग आवश्यक छलफल गरेर सो घोषणा पत्र तयार गरिनेछ। त्यो जनपक्षीय, नेपालको राष्ट्रिय हितलाई सम्बोधन गर्ने, आजका चुनौतीलाई सम्बोधन गर्न सक्ने आज जनताको आकांक्षा अनुरुपको घोषणा पत्र बनाउन आमी सक्षम हुनेछौं।’
सचिव भट्टराईले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले आगामी निर्वाचनको लागि बनाउन लागेको घोषणा पत्रको मस्यौंदाका लागि आवश्यक सुझाव दिन पनि विज्ञहरुलाई आग्रह गरे। एमालेले पार्टीका सबै विभागलाई यही भाद्र १५ गते भित्र चुनावी घोषणा पत्रका लागि मस्यौदा तयारी पारी पार्टीमा बुझाउन निर्देशन दिए। सोही अनुसार सबै विभागहरुले आफ्नो कामलाई अघि बढाएको पनि सचिव भट्टराईले बताए।