सुर्खेत- डिभिजन वन कार्यालयको हिरासतमा रहस्यमय मृत्यु भएका धनीराम लामिछानेको मृत्य भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव प्रेम आचार्यको संयोजकत्वमा समिति गठन भएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बीरबहादुर शाहीले जानकारी दिए।
समितिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका एक जना अधिकृत, राष्ट्रिय अनुसन्धान कार्यालय सुर्खेतका एक जना अधिकृत, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन सचिव सदस्य छन्। घटनाबारे छानबिन गरी प्रतिवेदन बुझाउन समितिले ७ दिनको समयावधि पाएको छ।
सुर्खेतको वीरेन्द्रनगर–१३ भुतचोक ५८ वर्षीय धनीराम लामिछानेले सालको रुख काटेको आरोपमा वीरेन्द्रनगर सव-डिभिजन कार्यालयका कर्मचारीहरुले पक्राउ गरेका थिए। वनको हिरासतमा राखिएका लामिछाने हिरासतको झ्यालमा घुँडा टेकेर झुण्डिएको अवस्थामा शव फेला परेको थियो।
आक्रोशित आफन्तले शुक्रबार डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णराम धितालसहित ४ जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।
लामिछानेको शव फेला परेपछि आफन्तहरूले बिहीबार साँझदेखि कार्यालय परिसरमा आन्दोलन गरिरहेका छन्। आक्रोशित आफन्तले शुक्रबार डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णराम धितालसहित ४ जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। कार्यालयका फरेस्टर सन्तोष खत्री, वन रक्षक पियूषराज तिवारी र सुरेन्द्र रानाविरुद्व किटानी जाहेरी परेको छ।
वनका कर्मचारीले कुटपिट गरेर लामिछानेको हत्या गरेको आफन्तको आरोप छ। ‘कुटपिटबाट मारिएपछि डोरीले झुन्ड्याएको देखाएर आत्महत्या गरेको भन्ने बहाना बनाइएको छ,' मृतकका भाइ रामप्रसादले भने। रुख काटेको सूचनापछि सत्यतथ्य बुझ्न पठाइएको टोलीले घटना संलग्न नभएको लामिछानेकी श्रीमतीलाई समेत पक्राउ गरेको उनको भनाइ छ।
लामिछानेका भाइ रामप्रसादले कुटपिटमा संलग्न कर्मचारीलाई पक्राउ नगरिएसम्म शव नबुझ्ने बताए। दोषी कर्मचारीलाई कानुनी कारबाहीको दायरामा नल्याउँदासम्म घटनाको मुचुल्कालगायत प्रक्रियामा पनि सहभागी नहुने उनको भनाइ छ। पक्राउ पूर्जीबिनै लामिछानेलाई नियन्त्रणमा लिएको र घरदेखि ल्याउँदा नै कुटपिट गरी हत्या गरेको उनको आरोप छ।
डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावतले रुख काटेको आरोपमा पक्राउ गरिएका लामिछानेलाई सोधपुछ गरी स्थानीय जनप्रतिनिधि र आफन्तको जिम्मा जमानी लगाएर छोड्ने कुरा भएको थियो। सबै प्रक्रिया मिलाउँदै गर्दा हिरासतमा लामिछाने झुन्डिएको अवस्थामा फेला परेको उनले बताए।