आइतबार, वैशाख २३, २०८१

बिमा रकम हत्याउन परिवारबाटै हत्या!

सजिलै कमाउन सकिने लालचा, दोषी ठहरिए पनि उम्किन सक्ने वातावरण, राजनीतिक उच्च तहबाट संरक्षण पाएका र आपराधिक मानसिकता भएका व्यक्तिले बिमा रकम कुम्ल्याउन अपराधको बाटो समाउने गरेको पाइएको छ।
 |  शुक्रबार, भदौ ३, २०७९

भीमा पन्थी

भीमा पन्थी

शुक्रबार, भदौ ३, २०७९

काठमाडौं- नेपालगञ्जका सर्जन विकको योजनाबद्ध हत्याको वास्तविकता बाहिरिएपछि नेपाली बिमा क्षेत्र फेरि एक पटक तरंगित भएको छ। बिमांक रकम  (बिमा दाबीबापत पाउने रकम)को प्रलोभनमा नेपालमा भएको यो पहिलो घटना भने होइन। तर एजेन्ट अर्थात् अभिकर्ताकै मिलेमतोमा भएको घटनाको सन्दर्भमा भने यो पहिलो हो।

triton college

गत १० जेठमा छिमेकी भारतमा पनि यस्तै घटना भएको थियो। भारतको अमृतसरमा एक महिलाले आफ्नै श्रीमान्को हत्या गरेकी थिइन्। हत्यापछि अनुसन्धानका क्रममा अभिकर्तासमेत रहेकी उक्त महिलाले बिमा दाबी गर्नकै लागि पतिको हत्या गरेको खुलेको थियो। लामो समयदेखि श्रीमान् मानसिक रूपमा अस्वस्थ रहेकाले औषधोपचारमै धेरै खर्च भई आर्थिक तनाव भएका कारण उनले श्रीमान्को हत्या गरेर बिमा रकम प्राप्त गर्ने तयारीमा थिइन्। तर हत्या गरेको सावित भएपछि उनले उक्त बिमा रकम भने पाइनन्। 

यसरी बिमासँग सम्बन्धित रहेर नेपालमा मात्रै नभई अन्य मुलुकमा पनि यस्ता घटना हुँदै आएका छन्। यसअघि बिमासँग सम्बन्धित नेपालमा घटेका केही घटनाः 

घटना १- छोरीको हत्या
२०७६ असारमा रौतहटमा बुबाले आफ्नै छोरीको हत्या गरे। मौलापुर नगरपालिका–६, पथरा बुधरामकी चार वर्षीया लक्ष्मीकुमारी यादवको हत्या आफ्नै बुबा रामकिशोर यादवले गरेका हुन्। पछि प्रहरीले अनुसन्धान गर्दै जाँदा एक महिनाअघि मात्रै बाबु यादवले २५ लाख रूपैयाँको छोरीको जीवन बिमा गराइदिएका रहेछन्। छोरीको मृत्यु भए २५ लाख रुपैयाँ पाउने मनसायले उनले हत्या गरेको पुष्टि भयो। 

घटना २- श्रीमतीको हत्या
२०७६ असारमै पोखरा रामबजारका ३५ वर्षीय रमेश नेपालीले २८ वर्षीया श्रीमती लक्ष्मी नेपालीको हत्या गरे। हत्या भएको केही दिनअघि मात्रै उनले श्रीमतीको नामबाट १ करोड रुपैयाँको बिमा गराएका थिए। अन्ततः अनुसन्धानमा संलग्न प्रहरीले लक्ष्मीको हत्या बिमा रकम पाउनकै लागि गरिएको पुष्टि गरेको थियो। अहिले उनका श्रीमान् जेलमा छन्। 

corrent noodles
Metro Mart

बिमा समितिका अनुसार उनीहरुका बच्चा पालनपोषण र शिक्षाका लागि भनेर मृतककी सासूआमाले बिमा रकम दाबी गरेकी छन्। तर समितिले उक्त रकम निकासा गरिदिन अस्वीकार गरेको छ। ‘मृतककी आमा दाबी भुक्तानी पाऊँ भनी समितिमा उजुरी गर्न आउनुभएको थियो। अहिले हत्या गर्नेकै आमालाई भुक्तानी दिँदा यस्ता घटना घटाउन थप प्रोत्साहन हुने वा यही रकमले धरौटीमा छोरो छुटाउने, बिहे गराउने काम पनि हुन सक्छ भन्ने निष्कर्षमा उक्त रकम रोकिएको छ,’ समितिका एक कर्मचारीले भने, ‘बच्चा ठूला भएपछि उनीहरुलाई दिने व्यवस्था मिलाउन समितिले पहल गरेको छ।’

केही समय पहिला एउटा बाल आश्रमले बच्चाको बिमाबापतको रकम आउने आशमा हत्या गरेको खुलेको थियो। त्यस्तै, १२ वर्षअघि गोविन्द आचार्य नामका व्यक्तिले विवाह गरेको केही दिनमै श्रीमतीको बिमा गरिदिए। श्रीमतीलाई नियमित ब्लड प्रेसर उच्च हुने औषधी खुवाए। अन्ततः श्रीमतीको अस्पतालमा मृत्यु भयो। तर पछि माइती पक्षले ब्लड प्रेसर नभएको भन्दै मृत शरीर बुझ्न नमानेपछि छानबिन थालियो। छानबिनबाट श्रीमान्ले योजनाबद्ध रूपमै श्रीमतीको हत्या गरेको पुष्टि भएको थियो। 

आपराधिक घटनाको मुख्य कारण नै अन्डरराइटिङ
बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं बिमा गर्ने व्यक्तिको आम्दानी, खर्च र बचतको अवस्था नहेरी पोलिसी बिक्री गर्दा यस्ता समस्या आएको बताउँछन्। बीमितको आम्दानी स्रोत कस्तो हो, कति हो, कति बचत गर्न सक्छ? बिमांकको किस्ता तिर्न सक्ने अवस्था छ-छैन आदि अध्ययन नगरी बिमा गराउँदा यस्ता घटना घट्ने पूर्वअध्यक्ष चापागाईंको बुझाइ छ। 

‘बीमितको आर्थिक अवस्थाको लेखाजोखा गर्ने कार्यलाई आर्थिक अन्डरराइटिङ भनिन्छ, जसले बिमा गर्ने हो। उसले जतिको बिमा गर्ने हो, त्यो बराबरको प्रिमियम तिर्नुपर्छ, जुन आम्दानीसँग जोडिन्छ। आम्दानी नहुनेले धेरै ठूलो अथवा उसको क्षमताभन्दा मोटो रकमको बिमा गर्छ भने त्यतिबेला कम्पनी होसियार हुनुपर्छ,’ उनले भने, ‘यस्तो बेला कम्पनीले बीमितको अन्डरराइटिङमा विशेष ध्यान दिनुपर्छ।’

आम्दानी तथा बचतको तुलनामा कुनै बीमित मोटो रकमको बिमा गर्न खोज्दै छ भने त्यहाँ केही न केही गलत हुने उनको बुझाइ छ। ‘क्षमताभन्दा माथिको बिमा गर्न खोज्दै छ भने उसले या गलत प्रयोगबाट रकम लिएको छ, या त गलत गर्न बिमा गर्नुपर्छ भनेर कम्पनीले बुझ्नुपर्छ,’ उनले भने, ‘गलत गरेर वा गलत गर्न मनसाय जे भए पनि यस्तो कार्यमा खबरदारी गर्नुपर्छ। कम्पनीले छानबिन गर्नुपर्छ। त्ब मात्रै यस्ता किसिमका घटना कम हुन्छन्।’

बिमासँग सम्बन्धित घटना नेपालमा मात्रै नभई बाह्य मुलुकमा पनि भएको चापागाईंले बताए। यस्ता घटना नहोउन् भन्न अन्डरराइटिङको पक्ष बलियो बनाउनुपर्ने उनको सुझाव छ। 

आम्दानी नै नहुने बीमितले झुटा कागजात बनाएर बढी आम्दानी देखाई बढीको बिमा गर्ने र अस्वाभाविक तबरबाट दाबी गर्ने विषय अन्तर्राष्ट्रिय स्तरबाटै हाबी भएको उनले बताए। यस्ता घटना नहोउन् भन्न अभिकर्तालाई दक्ष बनाई बीमितलाई बुझाउनुपर्ने, आम्दानीअनुसारको बिमा गराउने, बचतको आधारमा बिमा गराउनुपर्ने उनको भनाइ छ। तर अभिकर्ता तथा कम्पनीले आम्दानी तथा व्यवसाय विस्तार गर्न देखाएको अस्वस्थ प्रतिस्पर्धाका कारण यस्ता घटना पटक–पटक दोहोरिएको उनले बताए। ‘बिमा गर्ने, हत्या–हिंसा गर्ने, दाबी गर्ने प्रचलन बढेको छ,’ उनले भने, ‘बिमा कम्पनी, कर्मचारी र अभिकर्ताले बीमितको अन्डरराइटिङ राम्रोसँग नगर्नुको प्रतिफल हो, यो।’ 

प्रकाशित: Aug 19, 2022| 14:50 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।