आइतबार, वैशाख १६, २०८१

एकताको कसरतमा एमालेबाहेकका वाम दल, चुनावअघि कति सम्भव?

'माओवादी केन्द्रबाट प्रचण्डले संयोजन समिति बनाउने प्रस्ताव गरेकोले पनि त्यसमा पार्टीले समर्थन गरेको छ। चुनावसम्म अहिलेको गठबन्धनसँगै अघि बढे पनि चुनावपछि प्रगतीशील बाम पार्टीहरु एक हुने गरी गृहकार्य भइरहेको छ।'
 |  बिहीबार, भदौ २, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

बिहीबार, भदौ २, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीको बुधबार बसेको सचिवालय बैठकले माओवादीले गरेको 'पार्टी एकता'को प्रस्तावलाई ‘ग्रिन सिग्‍नल’ दियो। पार्टी एकता गर्ने प्रचण्डको प्रस्तावलाई नेकपा एसले स्वीकार गरेसँगै एमाले बाहेकका बामपन्थी पार्टीहरु एक हुने सम्भावना बढेको विश्लेषण हुन थालेको छ।

triton college

नेकपा एसको पार्टी सचिवालय बैठकमा पार्टी एकताका लागि सकारात्मक छलफल भएको नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। उनकाअनुसार एकताका लागि संयोजन समिति बनाएर अघि बढ्ने निर्णय गरेको हो। खतिवडाले भने, ‘चुनावी कार्यगत एकता गर्दै चुनावपछि पार्टी एकता नै गर्ने कुरामा सकारात्मक कुरा भयो। यसका लागि हामीले संयोजन समिति बनाउने निर्णय गरेका छौं।’

अन्य कम्युनिष्ट पार्टीलाई मिलाउँदै ‘प्रोग्रेसिभ’ वाम पार्टीको बलियो धार निमार्ण गर्ने रणनीतिमा आफूहरु लागेको खतिवडाले बताए। उनले नेपाल समयसँग भने,'माओवादी केन्द्रबाट प्रचण्डले संयोजन समिति बनाउने प्रस्ताव गरेकोले पनि त्यसमा पार्टीले समर्थन गरेको छ। चुनावसम्म अहिलेको गठबन्धनसँगै अघि बढे पनि चुनावपछि प्रगतीशील बाम पार्टीहरु एक हुने गरी गृहकार्य भइरहेको छ।'

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार पार्टी एकताको लागि संयोजन समिति बनाउन एकीकृत समाजवादीसँग प्रस्ताव गरेका थिए। जसलाई बुधबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले अनुमोदन गरेको हो। 

मंगलबार नै सञ्‍चारकर्मीसँग छलफल गर्दै प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एससँग पार्टी एकताका लागि तयारी भइरहेको बताएका थिए। उनले भनेका थिए, 'माधवजीसँग मैले पार्टी एकताका लागि संयोजन समिति बनाउने प्रस्ताव गरेको छु। एकताको प्रक्रिया अघि बढिसकेको छ।'

corrent noodles
Metro Mart

प्रचण्डले एकाताको संकेतमात्र गरेनन्। एकतापछि जन्मिने नयाँ पार्टीको नाम पनि सुनाए। पार्टी एकतापछि हुने पार्टीको नाम ‘नेकपा’ हुनेमा आफूहरूबीच सहमति भइसकेको र त्यसमा समाजवादी वा यस्तै केही थपिन सक्ने उनको भनाइ छ। उनले चुनावअघि कार्यगत एकता हुने र चुनावपछि पार्टी एकता हुने दाबी गरे। 

‘चुनाव अघि नभए पनि चुनावपछि नयाँ पार्टी बन्छ,' प्रचण्डले थपे, 'नयाँ बन्‍ने पार्टीको नाममा नेपाल कम्युनिस्ट पार्टी नै रहन्छ। चुनावपछि नाममाचाहीँ नेकपा समाजवादी वा यस्तै केही जोडिन सक्छ। नेकपा राख्‍ने भन्‍नेमा भने सहमति भइसक्यो।’

प्रचण्डले एकताको प्रक्रिया अघि बढिरहेको बताइरहँदा अर्कोतर्फ पूर्व माओवादी नेता डा. बाबुराम भट्टराई ७ वर्षपछि पेरिसडाँडा प्रवेश गरे। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्डले बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पनि चुनावी तालमेलका लागि समझदारी गरे। वामपन्थी आन्दोलन र कम्युनिस्ट आन्दोलनमा आफू र बाबुराम भट्टराई एकै ठाउँ उभिने कुराको ठूलो अर्थ र महत्व रहेको बताएका प्रचण्डले अन्य शक्तिहरुलाई पनि एकैठाउँ जोड्ने काम भइरहेको बताए। 

माओवादी केन्द्रबाट प्रचण्डले संयोजन समिति बनाउने प्रस्ताव गरेकोले पनि त्यसमा पार्टीले समर्थन गरेको छ। चुनावसम्म अहिलेको गठबन्धनसँगै अघि बढे पनि चुनावपछि प्रगतीशील बाम पार्टीहरु एक हुने गरी गृहकार्य भइरहेको छ।

प्रचण्डले भनेका थिए, ‘यद्यपि आजै पार्टी एकता भएको होइन। चुनावपछाडि हामी एउटै केन्द्र बनाउने भन्‍ने कुरा समझदारीमा गएका छौं। अहिले चुनाव चिह्न, घोषणापत्र, उम्मेदवार सबै साझा हुने भएपछि हामी एक ठाउँमा उभियौँ।’

यस्तै, राष्ट्रिय सभा सदस्य वामदेव गौतम पनि माओवादीबाटै चुनाव लड्ने भएका छन्। मंगलबार माओवादी केन्द्रको मुख्यालयमा बसेको स्थायी कमिटीको बैठकले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईसँगै राष्ट्रिय एकता अभियानका संयोजक गौतमलाई आगामी संघीय निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्‌नमा निर्वाचन लड्न दिने निर्णय गरेको थियो। पछिल्लो समय गौतमले आफैँले खोलेको ‘राष्ट्रिय एकता अभियान’बाट कारबाही भोग्‍नुपरेपछि माओवादी केन्द्रको शरणमा पुगेका हुन्। 

यसरी माओवादीले अन्य साना दलहरुसँग पनि कार्यगत एकताको साथसाथै पार्टी एकताको कसरत गरिरहेको छ। माओवादीका एक नेताले बताए अनुसार पार्टीले सिट बाँडफाँटमा अपमान नहोस् र दीर्घकालीन रुपमा आफ्नो शक्ति बलियो बनोस् भनेर गृहकार्य गरिरहेको हो। बाबुराम भट्टराई, बामदेव गौतमसँगै नेकपा एकीकृत समाजवादीसँग गरिने भनिएको एकतालाई माओवादीले बनाउन लागेको एकताको संकेतको रुपमा बुझ्‍न ती नेताले भने।

‘गठबन्धनभित्र बलियो गरी प्रस्तुत हौं भन्‍ने कुरा हो। त्यसको लागि विभिन्‍न शक्तिहरुलाई पार्टीमा जोड्ने कुरा भइ नै हाल्छ। अहिलेकै चुनावी कार्यगत एकतालाई पछि पार्टी एकतामा रुपान्तरण गर्ने पनि हाम्रो उद्देश्य हो,’ उनले भने।

प्रचण्डले स्थानीय तहको निर्वाचनको परिणाम आएलगत्तै एक सार्वजनिक कार्यक्रममार्फत 'कांग्रेसलाई ठेगान लगाइदिने' अभिव्यक्ति दिएका थिए। प्रचण्डले संघ र प्रदेश निर्वाचन पछि धकेल्ने र त्यसअघि नै 'समाजवादी केन्द्र' बनाउने आत्मविश्‍वासका साथ उक्त अभिव्यक्ति दिएको राजनीतिक वृत्तमा चर्चा भएको थियो। यद्पि परिणाम उनले सोचे अनुरुप नआउँदा केही समय लचिलो बनेजस्तो देखिएका प्रचण्डलाई बाबुरामलगायतले साथ दिँदा फेरि एकताको प्रयासमा लागेका हुन्। 

माओवादीले समानान्तर गठबन्धनको प्रयाससँगै सिटको बार्गेनिङ बढाउँदै लगेपछि कार्यदल सकसमा परेको हो। अघिल्लो बैठकमा बुधबारसम्म ठोस निर्णय गरेर प्रतिवेदन बुझाउने भन्दै उत्साहित भएको कार्यदलको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक भने उत्साहजनक बन्‍न सकेन। 

अहिले माओवादीले समानान्तर गठबन्धनको प्रयास गरिरहेकोप्रति नेपाली कांग्रेसका नेताहरु सशंकित बनेका छन्। कांग्रेसका एक केन्द्रीय सदस्यले भने, 'माओवादीका गतिविधि हेर्दा समानान्तर अभ्यासमा लागेको देखिन्छ। उसले ०७४ को चुनावमा कांग्रेसलाई धोका दिएको थियो। अहिले पनि त्यही दोहोरिनसक्नेप्रति कांग्रेस सजग हुनैपर्छ।' 

सत्ता गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रले समानान्तर गठबन्धन र दीर्घकालमा पार्टी एकताको प्रयास गरिरहँदा सिट बाँडफाँटको कार्यदल नै अन्योलमा परेको छ। परिणामस्वरुप कार्यदलको बुधबार बसेको बैठक औपचारिकतामा सीमित भयो। माओवादीले समानान्तर गठबन्धनको प्रयाससँगै सिटको बार्गेनिङ बढाउँदै लगेपछि कार्यदल सकसमा परेको हो। अघिल्लो बैठकमा बुधबारसम्म ठोस निर्णय गरेर प्रतिवेदन बुझाउने भन्दै उत्साहित भएको कार्यदलको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक भने उत्साहजनक बन्‍न सकेन। 

सत्ता गठबन्धनमा भागबन्डाको कुरा पेचिलो बन्‍नुमा दलहरुले धेरै सिटमा आफ्नो अडान नछोड्नु रहेको कतिपय नेताहरुको बुझाइ छ। जस्तो, अहिलेको अवस्थामा नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ६० सिट आफूले पाउनुपर्ने बताइरहेको छ। माओवादी नेतृत्वले कार्यदलमा रहेका सदस्यहरुलाई ६० सिटमा दाबी गर्न भनेको छ।

त्यस्तै, नेपाली कांग्रेसले आफूले कम्तिमा १०० सिट पाउनुपर्ने बताइरहेको छ। कांग्रेसका निवर्तमान महामन्त्री शशांक कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेलले सार्वजनिक रुपमै कांग्रेसले कम्तिमा १०० सिटको लागि बार्गेनिङ गर्नुपर्ने बताएका थिए। कांग्रेसलाई १०० सिटभन्दा कममा नमान्‍न कार्यदलमा रहेका कांग्रेसका नेताहरुमाथि दबाब छ। 

यता माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि आफूलाई सशक्त रुपमा प्रस्तुत गर्ने बताइरहेको छ। गत स्थानीय चुनावमा गठबन्धनले 'अपमानजनक व्यवहार' गरेको निस्कर्ष निकालेको नेकपा एसले यसपटक सम्मानजनक हैसियतमा सिट पाउनुपर्ने अडान राखेको छ।

पार्टीहरुले आफ्नो अडान नछोडिरहँदा गठबन्धन सहजै अगाडि जाने कुरामा सन्देह देखिन्छ। जसको लागि कांग्रेसबाहेकका अन्य दलले वार्ता र संवाद गरिरहेका छन्। नेकपा एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख खतिवडाकाअनुसार गठबन्धनभित्रका बाम पार्टीहरु एक हुन विभिन्न चरणमा छलफलहरु पनि भइरहेका छन्।

यद्यपि अहिले गठबन्धन कायम रहेकोले पनि गठबन्धनभित्रका वाम पार्टीहरु एक भएर कांग्रेससँग बार्गेनिङ गर्ने सम्भावना रहेको प्रचार विभाग प्रमुख खतिवडा बताउँछन्। खतिवडाका अनुसार कांग्रेससँग यसपटक स्थानीय चुनावमा भन्दा फरक ढंगले तालमेल हुने सम्भावना छ। गठबन्धनभित्र ‘राइट ब्लक’ अर्थात् कांग्रेस र ‘समाजवादी’खेमा गरी दुई धारबीच सिट बाँडफाँटको बार्गेनिङ हुने उनी बताउँछन्। जसमा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी एक भएर कांग्रेससँग बार्गेनिङ गर्नेछन्।

प्रकाशित: Aug 18, 2022| 16:10 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...