काठमाडौं– भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतका अर्थमन्त्री निर्मला सिथारमणसँग भेटवार्ता गरेका छन्। भेटमा नेपाल र भारतबीचको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल गरेको राजदूत शर्माले बताएका छन्।
उनले ट्विटरमार्फत भारतीय अर्थमन्त्रीसँग भेट भएको जानकारी गराएका हुन्। उनले भनेका छन्, ‘अर्थमन्त्री निर्मला सिथारमणसँग सौहार्दपूर्ण भेटवार्ता भयो। भेटमा हामीले नेपाल र भारतबीचको सम्बन्धलाई सुदृढ पार्न वित्तीय, बैंकिङ सुधारका सम्भावित क्षेत्रहरूको बारेमा कुरा गर्यौं।’
यसअघि मंगलबार राजदूत शर्माले भारतका सडक, यातायात तथा राजमार्गमन्त्री नितिन गड्करीसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा यातायातमन्त्री गड्करीको कुरा निकै रोचक लागेको बताएका छन्।
उनले भनेका छन्, ‘मन्त्री गड्करीको कुरा सुन्दा रोचक लाग्यो। मन्त्री गड्करीजीले सडक विकास, जलमार्गको सम्भावना र नेपालको जलस्रोतविकासका मुद्दाहरूमा चुनौतीहरूलाई सम्बोधन गर्न नविनतम र अनुसन्धानमूलक दृष्टिकोण राखेका छन्।’