काठमाडौं– आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन गरेर जाने सहमति भएको खबर छ्याप्छ्याप्ती भयो। विभिन्न चरणमा भएको छलफलपछि एउटै चुनाव चिह्न र घोषणापत्र बनाएर चुनावमा जाने सहमति दुई पार्टीबीच भएको थियो।
बाबुरामले माओवादी केन्द्रकै चुनाव चिह्न लिएर चुनावमा जाने कुरा आफैंमा अनौठो थियो। जबकि सात वर्षअघि यिनै बाबुरामले कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका थिए। तर कैयौं उतारचडावपछि अन्ततः उनी पुनः माओवादीसँगै चुनावी घोषणापत्र जारी गर्ने कुरामा सहमत भएका छन्।
लामो समयपछि प्रचण्डसँग ‘प्याचअप’ गर्न आइपुगेका बाबुराम विस्तारै नेपाली राजनीतिमा ‘पेन्डुलम’ बन्दै गएको बताउँछन्, राजनीतिक विश्लेषक लोकराज बराल। बरालका अनुसार बाबुरामले अन्य कुनै विकल्प नदेखेपछि बाध्यतावश प्रचण्डसँग शरण पर्नुपरेको हो। उनी भन्छन्, ‘दसतिर चहार्दाचहार्दै अहिले उहाँ एक्लै हुनुहुन्छ। चुनावमा अब एक्लै हुँदा अलपत्र परिन्छ भन्ने डर पनि भयो। त्यसैले अरू केही हैन, बाध्यतावश प्रचण्डसँग मिल्नुपरेको हो।’
बाबुरामको ‘घुमन्ते’ प्रवृत्ति कोट्याउँदै बराल थप भन्छन्, ‘उहाँलाई राजनीति पनि गर्नुपर्ने। आफू एक्लै पनि चल्न नसक्ने। कहिले उपेन्द्र यादवसँग, कहिले कोसँग मिल्नुपर्ने। कहिले कांग्रेसको सहयोगले जित्नुपर्ने। अनि के गर्नु? आखिर घुमीफिरी प्रचण्डसँगै आइपुग्नुपर्यो।’
९ असोज २०७२ मा माओवादी पार्टी छाडेका बाबुराम त्यसपछि सधैं ‘पेन्डुलम’ बने। सोही वर्ष ३ असोजमा संविधान जारी हुँदा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति रहेका उनले माओवादी पार्टी छाडेसँगै जनकपुर पुगेर संविधान संशोधनको माग उठाए। यति मात्रै हैन, उनले माओवादी पार्टीप्रति विषवमन नै गर्न थालेका थिए। माओवादी पार्टी कार्यालयलाई ‘रातो स्टिकर टाँसिएको घर’ भन्दै उनी हिँडे।
सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।
माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गर्न पनि भ्याए। बाबुरामले भनेका थिए, ‘पुँजीवादी क्रान्ति सम्पन्न गर्न नेकपा माओवादी बनाएका थियौं। अब एउटा कालखण्डको काम पूरा गर्यौं। अब त्यही पुरानो पार्टी अगाडिको दिशामा पुग्दैन। त्यसका लागि नयाँ सोच आवश्यक भइसकेको छ।’
माओवादीबाट अब राज्यको रुपान्तरण हुन नसक्ने बताएका उनले नयाँ शक्तिको बहस सतहमा ल्याए। २० जेठ २०७३ मा बाबुरामले नयाँ शक्ति पार्टीको घोषणा गरे।
पार्टीको घोषणामात्र गरेनन्, अन्य सबै दललाई नयाँ शक्तिले धक्का दिने चेतावनी दिए। तर यो पार्टीले एक वर्षसम्म पनि संगठन निर्माणको कामसमेत चुस्त रूपमा गर्न सकेन।
नयाँ शक्ति बनेको एक वर्षभित्रै १७ असोज २०७४ मा बाबुराम वाम गठबन्धनमा सामेल हुनुपर्यो। तर वाम गठबन्धनमा पनि उनी अडिएनन्। अघिल्लो दिन प्रचण्ड र केपी ओलीसँग हात मिलाएर एक हुने वाचा गरेका उनी भोलिपल्टै गठबन्धनबाट बाहिरिए। त्यसपछि उनले कांग्रेसको टेको खोजे। कांग्रेसकै टेकोमा गोरखा क्षेत्र नम्बर २ बाट २०७४ को प्रतिनिधिसभामा निर्वाचित भए।
माओवादीबाट अलग भएसँगै बाबुरामले हरेक चुनावमा कसै न कसैको बैसाखी बोक्नुपरेको छ। त्यसपछि उनले एक्लै आफ्नो हैसियतमा चुनाव जित्न सकेका छैनन्। यसैप्रति संकेत गर्दै विश्लेषक बराल व्यंग्य गर्छन्, ‘उहाँलाई राजनीति गर्न मन लाग्छ तर एक्लै लड्ने हिम्मत छैन। कहिले कांग्रेस, कहिले माओवादी भन्नुपरेको छ।’