काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले गरेका राम्रा कामको प्रचार गर्न नसकिएको बताएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन्।
'कांग्रेसले गरेका राम्रा कामको पनि प्रचार गर्न सकेको छैन। जनताले अनुभुति गर्ने गरी छलफल चलाउन पर्ने भएको छ,' उनले भने, 'देशमा राजनीतिक परिवर्तन आइसकेकाले अब आम नागरिको जीवन सहज हुने गरी आर्थिक सम्पन्नतातर्फ केन्द्रित हुनुपर्ने छ। कांग्रेसले बोलेर भन्दा पनि काम गरेर देखाउनु पर्ने भएको छ।'
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनादेशको अवमूल्यन गर्दै दुई पटकसम्म प्रतिनिधि सभा विघटन गराएको तर कांग्रेस नेतृत्वको सरकारलाई परमादेशी सरकार भन्नु गलत भएको उनको भनाइ छ। 'कांग्रेसलाई अरु पार्टी जस्तो जिम्मेवारीबाट भाग्न नमिल्ने भएकाले परिस्थितिलाई सम्हाल्दै अगाडि बढेको छ,' नेता सिंहले भने, 'कांग्रेसले अब आर्थिक सम्पन्नताको अभियानका कार्यक्रमसहितको एजेन्डा लिएर जनतामा जानुपर्छ।'
नेता सिंह अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए।