काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक चयन भएका छन्। शनिबार भएको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।
यस्तै मञ्चको प्रथम उपाध्यक्षमा शंकर बोहरा, उपाध्यक्षमा दिनेशबहादुर विष्ट र गगन अयडी, महासचिवमा हरि जोशी, सचिवमा विराज रोस्यारा र कोषाध्यक्षमा नवराज पनेरु चयन भएका छन्। यस्तै सदस्यमा निराजन परियार, डिल्लीराज ओझा, सविता बुढा, पाण्डव पुजारा र निर्मला खडायत रहेका छन्।
यसअघि खेलकुद पत्रकार मञ्चका अध्यक्ष सीताराम ओझाको अध्यक्षता र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाहको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो। कार्यक्रममा खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्वल ओली र पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले शुभकामना व्यक्त गरे।
बन्दसत्रमा महासचिव प्रदीप पाठकले सांगठनिक र कोषाध्यक्ष हरि जोशीले २३ लाख १ हजार ५ सय ७० बराबरको आयव्ययसहितको आर्थिक प्रतिवेदन पेस गरेका थिए।