काठमाडौं- नेपाली कांग्रेस इलामका नेताहरुले २७ वर्षसम्म प्रतिपक्षी दल नेकपा एमालले इलामका जनतालाई छलकपट गरेर गुमराहमा राखेको आरोप लगाएका छन्। इलामबाट एमाले परास्त नगरे विकासको गति कहिल्यै अघि बढ्न नसक्ने उनीहरुको भनाइ थियो।
मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका विषयमा कांग्रेस इलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य एवम सांसद सुजाता परियारले पार्टीका आकांक्षीहरुलाई व्यवस्थापन गर्दै सबै एकढिका भएर अघि बढ्नुपर्ने बताइन। उनले भनिन,‘यतिबेला इलामेली जनता एमालेका सुवास नेम्बाङबाट सन्तुष्ट छैनन्। नेम्वाङले पटक पटक बेइमान गरेका छन। उनीप्रति वितृष्णा बढेको छ। त्यसैले कांग्रेसीहरुमा सहमति, सहकार्य र एकता आवश्यक भएको छ। कांग्रेसका उम्मेदवारले चुनाव जित्नैपर्छ।’
कांग्रेस इलाम सभापति डम्बर खड्काले एमालेबाट प्रतिनिधित्व गर्दै पटक पटक विजयी भएका सुभाषचन्द्र नेम्वाङले सिन्को भाँच्न नसकेको आरोप लगाए। ‘अहिले इलाममा कांग्रेस बलियो भएर आएको छ। नेम्वाङ दुब्लो भइसके। यस पटक इलामेली जनताले उनलाई विदाइ गर्नेछन् र कांग्रेसका उम्मेदवार भारी मतले विजयी हुनेछन्,’उनले भने,‘२७ वर्षको अवधीमा एमालले जिल्लामा कुनै पनि राष्ट्रिय योजना ल्याउन सकेन। पाँच वटा पनि योजना रातो किताबमा राख्न सकेन। आउँदो निर्वाचनमा कांग्रेसले विजयको झन्डा फहराउने छ। यसका लागि सबै लोकतन्त्रवादीहरु एकजुट हुनुपर्छ।’
पूर्वराज्यमन्त्री एवम पूर्वजिल्ला सभापति केशव थापाले कांग्रेसले आफ्ना कमीकमजोरीहरुलाई सच्याएर एमाले परास्त गर्ने अभियान अघि बढाउनुपर्ने बताए। ‘यस पटक सहमतिमा उम्मेदवार छनोट गरौं। पार्टीलाई अन्तरघातमा जोगाउँदै एमाले परास्त गरेरै छाडौं,’ उनले भने।
कांग्रेस इलाम उपसभापति खगेन्द्र देवानले यस पटक इलाममा कांग्रेसको जो उम्मेदवार भए पनि चेन अफ कमान्डका रुपमा काम गरेर एमालेलाई पाखा लगाउनुपर्ने बताए। संविधानसभा सदस्य नगेन्द्र कुमार कुमालले आदीवासी जनजातीका मुद्दामा एमाले पूर्वाग्रही रहेको आरोप लगाउँदै संस्कृति र संस्कार जोगाउँदै विकासका कामहरु अघि बढाउन कांग्रेसका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए।
महाधिवेशन प्रतिनिधि राजु कार्की र प्राध्यापक याम कार्कीले पार्टीले आर्थिक मुद्दा र विकास निर्माणका क्षेत्रमा स्पष्ट भिजन बनाएर काम गर्नुपर्ने बताए। विद्यार्थी नेता पुजन चाम्लिङले सहमतिमा उम्मेदवार गरिए आफूहरुले जिताएर पठाउने प्रतिबद्धता जनाए। इलाम–काठमाडौं सम्पर्क समितिका सभापति समिप घिमिरेले कुनै गुट उपगुट नभनी इलामेली कांग्रेसलाई एकढिका बनाउन आफूहरुले भूमिका खेल्ने बताए। सम्पर्क समितिलाई स्थापित गराउँदै विधागत रुपमा आफूहरु काम गर्न इच्छुक रहेकाले पार्टीले पूर्ण रुपमा सहयोग गर्न माग राखे।