शुक्रबार, वैशाख २१, २०८१

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।
 |  शनिबार, साउन २८, २०७९

खिला कार्की

खिला कार्की

शनिबार, साउन २८, २०७९

काठमाडौं- कुनै समय नेपाली कांग्रेसको राजनीतिमा केन्द्रमा रहने नेताहरु अहिले गुमनाम  जस्तै छन्। पार्टीको राजनीति र राज्यसत्ता सञ्‍चालनमा समेत निर्णायक हुने नेताहरु अहिले कहाँ के गर्दै छन् भन्‍ने विषयमा कांग्रेस नै बेखबरजस्तो बनेको छ। ती गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।  

triton college

तारानाथ रानाभाट 

कांग्रेस महामन्त्री भइसकेका रानाभाट २०५८ जेठ १९ को दरबार हत्याकाण्डको समयमा दिएको अभिव्यक्ति कारण विवादमा तानिएका थिए। रानाभाटले विगतमा कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। २०६१ माघ १९ को शाही घोषणालाई ‘कू’ भन्दै कांग्रेस लगायतका दलहरु सडक संघर्षमा उत्रिएका बेला रानाभाट भने सडकमा उत्रिएनन्। उनी सडकमा नउत्रिएपछि त्यतिबेलाका उपसभामुख चित्रलेखा यादवले रत्‍नपार्कमा सडकमै संसद चलाएकी थिइन्। रानाभाट पार्टीमा गिरिजाप्रसाद कोइरालाको टिममा थिए। रानाभाट अहिले राजनीतिको चर्चामा छैनन्। 

केबी गुरुङ 

पूर्वमहामन्त्री केबी गुरुङ कुनै समय गिरिजाप्रसाद कोइराला खेमाका बलिया नेता हुन्। उनी शिक्षामन्त्री पनि भएका थिए। नेता भीमबहादुर तामाङको निधनपछि गुरुङ जनजातिका उपल्लो नेता मानिन्छन्। नेता गुरुङले २०६४ को चुनावपछि पहिलो संविधान सभाको बैठकको ज्येष्ठ सदस्यका नाताले अध्यक्षता गर्दै राजतन्त्र अन्त्य र गणतन्त्रको घोषणा गरेका थिए। गिरिजाप्रसादको समूहमा रहेका नेता गुरुङ कोइरालाको निधनपछि शेरबहादुर देउवाको टिममा जोडिए। तर, २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा न त उनले टिकट पाएन न समानुपातिक कोटामा सांसद नै बने। सांसद नपाएपछि देउवासँग रुष्ट भएका गुरुङ पार्टी राजनीतिमा सक्रिय छैनन्। 

corrent noodles
Metro Mart

लक्ष्मण घिमिरे 

नेपाली कांग्रेसको प्रमुख सचेतक भइसकेका अर्का नेता लक्ष्मण घिमिरे पनि गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र थिए। संसदमा घिमिरेको प्रस्तुतिले विपक्षीलाई कडै झड्का दिने गर्दथ्यो। तार्किक र दर्बिलो प्रस्तुती गर्ने घिमिरेले संसद्‌मा कांग्रेस प्रमुख सचेतकको निर्वाह गरेको भूमिका कांग्रेसजनमात्र होइन, विपक्षीहरु समेत सम्झन्छन्। उनले गिरिजाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। तर, पछिल्लो समय उनी पनि त्यतिधेरै सक्रिय छैनन्। तर अहिले पनि घिमिरे राजनीति विषयमा सामाजिक सञ्‍जालमा आफ्ना टिप्पणी गरिरहेका हुन्छन्। घिमिरे अहिले बन्‍न लागेको पाँच दलीय गठबन्धनका विपक्षमा कडा टिप्पणी गरिरहेका हुन्छन्।

बलदेव शर्मा मजगैया 

उतिबेला गिरिजाप्रसाद कोइरालासँग निकट रहेका कांग्रेसका इमान्दार नेता बलदेव शर्मा मजगैंया पनि अहिले कांग्रेसको राजनीतिभन्दा टाढा छन्। कोइराला प्रधानमन्त्री हुँदा जलस्रोत मन्त्री भएका मजगैंया अहिले सहित्यमा बढी सक्रिय छन्। पुस्तक लेखन तथा साहित्यिक कार्यक्रममा अलिक बढी सक्रिय छन्। लोकमानसिंह कार्कीलाई जलस्रोत मन्त्रालयको सचिव बनाउन तत्कालीन प्रधानमन्त्री कोइरालाले दबाब दिएपछि मजगैंयाले मन्त्री पदबाटै राजीनामा दिएका थिए। उनले राजीनामा दिएपछि कोइरालाले लोकमानलाई मन्त्रालयको सचिव बनाएका थिए। मन्त्री पदबाट राजीनामा दिएपछि मजगैंया कोइरालासँग टाढिएनन् मात्रै कांग्रेसको राजनीतिबाट नै टाढिए। अहिले पनि उनी कांग्रेसको राजनीतिदेखि टाढै छन्। 

विनयध्वज चन्द 

गिरिजाप्रसाद कोइरालको समूहमा रहेका  सुदूरपश्चिमका अर्का नेता विनयध्वज चन्द पनि गुमनाम छन्। उनी कांग्रेसका प्रमुख सचेतक र केन्द्रीय सदस्य भएका थिए। २०७४ सालको चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारका लागि जिल्लाबाट चन्दको नाम सिफारिस भएको थियो। तर कांग्रेसले चतुरबहादुर चन्दलाई उम्मेदवार बनायो। चन्द पार्टीको १४ औं महाधिवेशनमा बैतडीबाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए। 

भ्रष्टचारको मुद्दाले ओझेलमा 

नेपाली कांग्रेसका पूर्व उपसभापति विजय गच्छदार, पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र नेता चिरिन्जीवी वाग्ले पनि नेपाली कांग्रेसको राजनीतिमा छैनन्। अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजय गच्छदारको एउटा समूह थियो। त्यो समूहलाई एकेजीवी भन्‍ने गरिन्थ्यो। यो समूह यति शक्तिशाली थियो कि कांग्रेसको राजनीति र राज्यसत्ताको शक्ति फेरबदलमा निर्णायक हुन्थ्यो। यीमध्ये खुमबहादुर खड्काको निधन भइसकेको छ। अर्जुननरसिंह केसी अझै पनि कांग्रेसको राजनीतिमा प्रभाव राख्‍ने नेतामध्येमा पर्दछन्। 

विजय गच्छदार २०७४ सालको चुनावभन्दा अगाडि नेपाली कांग्रेसमा प्रवेश गरेर पार्टीको उपसभापति र संसदीय दलको उपनेता भए। २०६४ सालमा कांग्रेस छोडेका गच्छदारले कांग्रेसको १४ औं महाधिवेशनमा उपसभपातिमा पराजित भए। २०७६ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा कांग्रेस उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजय गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भयो। योसँगै गच्छदारको राजनीतिक सक्रियतामा संकुचन आयो। 

यस्तै पूर्व सहमहामन्त्री गोविन्दराज जोशी पनि भ्रष्टचारको मुद्दाका कारण छायामा परेका छन्। जोशीको भ्रष्टचारको मुद्दा झण्डै १० वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन छ। जसका कारण २०७४ सालमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध स्वतन्त्र उमेदवारी दिएका जोशीको उमेदवारी रद्द भएको थियो। २०६४ सालमा नेकपा माओवादी केन्द्रका सुरेश आलेमगरसँग पराजीत भएका जोशीले २०७० सालमा पार्टीको टिकट पाएनन्। त्यसपछि जोशीको राजनीति पनि ओरालो लागेको देखिन्छ। यद्यपि २०७४ सालमा पौडेलविरुद्ध उम्मेदवारी दिएपछि पार्टी कारबाहीमा परेका जोशीले गत स्थानीय तहको चुनावमा एमालेसँग मिलेर छोरा दिपक जोशीलाई तनहुँको व्यास नगरपालिकाको उमेदवार बनाएका थिए। 

यस्तै कुनै बेलामा चर्चित नेता चिरिन्जीवी वाग्ले पनि भ्रष्टचारको मुद्दा लागेका कारण अहिले गुमनाम छन्। कांग्रेसको नवौं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाका विरुद्धमा सभापति पदमा उम्मेदवारी दिएका वाग्ले भ्रष्टचारको मुद्दामा जेल सजाय भुक्तान गरेपछि राजनीतिमा गुमनाम छन्। 

चार राज्यमन्त्री 

नेपाली कांग्रेसमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र शैलजा आचार्य (आरएसएस) को नामले चिनिएको एउटा समूह थियो, त्यतिबेला। जुन समूहका देउवा र पौडेल अहिले पार्टीमा दुई धारको नेतृत्व गरिरहेका छन् भने नेतृ शैलजा आचार्यको निधन भइसकेको छ। शिवबहादुर बस्नेत, महादेब गुरुङ, पुष्कर ओझा र सुरेश मल्ल आचार्यसँग निकट नेताहरु हुन्। आचार्यको निधनपछि यी नेताहरु रानु बिनाको मौरी जस्तो भएका छन्। यी चारै जनालाई गिरिजाप्रसाद कोइरालाले २०५७ सालमा एकपटक राज्यमन्त्री बनाएका थिए। यी चार राज्यमन्त्रीलाई २०५६ सालमा कांग्रेसलाई बहुमत दिलाउनका लागि  देशदौडाहमा पठाइएको थियो। पछिल्लो समय कांग्रेस सभापति देउवा निकट रहेका ओझाले २०७० सालमा देउवाले कैलाली क्षेत्र नम्बर ६ छोडेपछि भएको उपचुनावमा प्रतिनिधिसभा सदस्य भएका थिए। ओझालाई ०७४ को निर्वाचनमा टिकट नदिएर देउवा पत्‍नी आरजुलाई टिकट दिएपछि उनी असन्तुष्ट बनेका थिए। 

यतिमात्रै नभएर लमजुङबाट चुनाव जितेर जलस्रोत राज्यमन्त्री बनेका रामबहादुर गुरुङ, काठमाडौंका लोकेश ढकाल, पीएल सिंह, कैलालीका चन्द्रसिंह भट्टराई पनि अहिले राजनीतिमा सक्रिय छैनन्। यी सबै नेता कुनै बेला कांग्रेसको राजनीतिमा प्रभाव राख्दथे। 


प्रकाशित: Aug 13, 2022| 18:18 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...