काठमाडौं– नेपाली कांग्रेसले मुख्य सचिव कृष्णप्रसाद पौडेललाई प्रदेशसभा र संघीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ताको जिम्मेवारी दिएको छ।पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दल दर्ताको जिम्मेवारी मुख्य सचिव पौडेललाई दिने निर्णय गरेको हो।
बैठकमा सहभागी सह–महामन्त्री जीवन परियारले निर्वाचन प्रयोजनका लागि दल दर्ताको जिम्मेवारी मुख्य सचिव पौडेललाई दिने निर्णय गरिएको बताए। ‘मुख्य सचिवले प्रक्रिया पु¥याएर दल दर्ताका लागि निर्वाचन आयोगमा कागजात लैजाने निर्णय भयो,’ बैठकपछि उनले भने।
दल दर्ताको निर्णयबाहेक बैठक कुनै नयाँ विषयमा प्रवेश नभएको कार्यसम्पादन समिति सदस्य अर्जुननरसिंह केसीको भनाइ छ। ‘पालिकाका निर्वाचित जनप्रतिनिधिको अभिमुखीकरण र स्वागत कार्यक्रम छ। त्यसबारे चर्चा भयो,’ उनले भने, ‘अरु कुनै पनि गम्भीर विषय छलफलका लागि प्रस्तुत भएन।’