काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशन नगरेर निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्था बनाइएको भन्दै नेतृत्वको कडा आलोचना गरेका छन्।
सोमबार बिहानै फेसबुकमा पौडेलले भनेका छन्, 'पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ। असाधारण परिस्थिती भनेर एक वर्ष थपियो। देशको संविधानलाई समातेर छ महिना बढाइयो। आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ। यहाँभन्दा वर्तमान नेतृत्त्वको चरम असफलता र लापरवाही अरु के हुन्छ? यो देशकै विडम्बना हो। सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्छन्।'
कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिएको छ तर अहिलेसम्म क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान हुन सकेको छैन।
शीर्ष नेताले विवाद समाधान गर्ने भने पनि सभापति शेरबहादुर देउवाले समय नदिएको आरोप पौडेलले लगाउँदै आएका छन्। देउवा प्रधानमन्त्री पनि भएकोले पर्याप्त छलफल गर्न समय दिन नसकेको पौडेलको भनाइ छ।
विधानअनुसार कांग्रेसको महाधिवेशन चार वर्षको अन्तरालमा हुनुपर्छ। पछिल्लोपल्ट ०७२ सालमा १३ औं महाधिवेशन भएको थियो। ०७६ सालमा चौधौं महाधिवेशन हुनुपर्नेमा सभापति देउवाले विशेष परिस्थिति भन्दै एक वर्ष म्याद थपेका थिए। त्यो समयमा पनि महाधिवेशन हुन सकेन। त्यसपछि संविधानअनुसार ६ महिना म्याद थप थपियो। त्यो समय पनि भदौ २३ मा सकिँदैछ।
यो समयभित्र महाधिवेशन नभए पार्टी संकटमा पर्ने पौडेलले बताउँदै आएका छन्। पार्टी नेतृत्व भने क्रियाशील सदस्यता विवाद तत्कालै हल गर्न नलागी महाधिवेशन पर धकेल्न अनेक उपायको खोजीमा लागेको पौडेलको आरोप छ।
त्यसैतर्फ संकेत गर्दै उनले सोमबार ट्विटमार्फत नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्। पार्टीको म्याद थप गर्न कांग्रेसले निर्वाचन आयोगसँग परामर्श गरिरहेको बताइएको छ। तर, यसबारे संस्थापन पक्षको आधिकारिक धारणा सार्वजनिक आएको छैन। महाधिवेशन गर्न नसक्नुमा सभापति देउवाको चरम असफलता र लापरवाही भएको पौडेलको आरोप छ।
यसैबीच, सभापति देउवाले महाधिवेशनबारे छलफल गर्न साउन २८ गते दिउँसो २ बजे केन्द्रीय समिति बैठक बोलाएका छन्। देउवाले आफू भदौ १६ मै महाधिवेशन गराउन चाहेको पटकपटक उल्लेख गरेका छन्। तर वडादेखि प्रदेश सभा क्षेत्रीय अधिवेशनका कार्यतालिका प्रभावित बने पनि नयाँ कार्यतालिका ल्याइएको छैन।