काठमाडौं- बार्सिलोनाले केही दिनअघि एक २२ वर्षिय खेलाडीलाई युरोप बाहिर पठायो। बार्साले ती खेलाडीलाई अमेरिकन मेजर कप खेल्ने टिम ग्यालेक्सीलाई फ्रि ट्रान्सफरमा ३ वर्षका लागि पठाएको हो। बार्सा र ग्यालेक्सी बिथ सन् २०२५ सम्मको सम्झौता भइसकेको छ। यो सम्झौता तोड्दै ती खेलाडी बीचमै बार्सा फर्किने सम्भावना निकै न्युन छ। यी खेलाडी हुन रिकी पुच।
केही वर्ष अगाडि बार्सिलोनाको प्रख्यात युथ एकेडेमीमा एक नयाँ स्टार बन्ने सम्भावना बोकेको खेलाडी छ, भन्ने चर्चा यदाकदा सुनिन्थ्यो। बार्सिलोनाको ला मासिया विश्वकै यस्तो अद्भुत एकेडेमी हो, जहाँ जाभि हर्नानडेज (वर्तमान प्रशिक्षक), आन्द्रेज इनिएस्टा अनि लियोनल मेस्सी जन्मिए। कलाले भरिपूर्ण, कौशलको कमि नभएका र वास्तविक खेलाडी। सन् २०१३ मा त्यही एकेडेमीमा आएका पुचले पनि एकेडेमिमा अग्रजहरूकै शैलिमा खेल्न थाले। त्यसपछि त हो उनी एकेडेमीबाट डिभिजन बी मा पुगेका।
साधकको बाटो कहाँ रोकिन्छ र, रोकिँदैन। उनको पनि रोकिएन। उनको कला अब सेकुन्डामा होइन ला लिगामै देखाउने तवरको भइसकेको थियो। उनको रफ्तार रोकिएन। उनले बार्सिलोनाको सिनियर टिममा सन् २०१८ मा डेब्यु गरे। अनि दुई वर्षअघि उनी आधिकारिक रुपमै बार्सिलोनामा बढुवा भए। निरन्तर राम्रो प्रदर्शन गरेर सिनियर टोलिमा आएका पुचले दिग्गज खेलाडीको स्थान लिने पक्का थियो। तर यसका लागि उनलाई आवश्यक थियो- पर्याप्त समय र अवसर। तर पुचका लागि एकेडेमी र सेकुन्डा जति सहज थियो, त्यसरी नै सिनियर टोली सहज थिएन। युवा खेलाडीलाई जे आवश्यक थियो, बार्सिलोनामा पाएनन्। उनी बेञ्च हिटर पो बन्न थाले।
कोम्यानकै कालमा जाभीलाई प्रशिक्षक बनाउने हल्ला तीव्र थियो। यसले रिकीलाई पनि हौसला दिएको थियो। त्यो किनभने सन् २०१८ को प्रिसिजनमा पुचको उच्च प्रदर्शनका कारण जाभि प्रभावित भएका थिए।
कोम्यानकै कालमा जाभीलाई प्रशिक्षक बनाउने हल्ला तीव्र थियो। यसले रिकीलाई पनि हौसला दिएको थियो। त्यो किनभने सन् २०१८ को प्रिसिजनमा पुचको उच्च प्रदर्शनका कारण जाभि प्रभावित भएका थिए।
जाभीले पुच मात्र १८ वर्षको भए पनि प्रदर्शन देखेर उत्साही भएको बताएका थिए। साथै उनलाई मैदानमा खेलका लागि आवश्यक समय नपुगेको भन्दै गुनासो गरेका थिए। उनले पर्याप्त समय पाएमा बार्सिलोनाको भविष्य भएको बताएका थिए।
जाभिले भनेका थिए, ʻम धेरै खुसी छु कि मैले उसले खेलेको हेरेको छु। पुचमा बार्सा एकेडेमीको सिंगो उपलब्धि देख्नसक्छौँ। उनी यो एकेडेमीले उत्पादन गरेका विशेष खेलाडीमध्येका एक हुने बाटोमा छन्। जुन खुसीको कुरा पनि हो। पुचलाई देखेर मैले आफ्नो विगत सम्झेको छु। मैले पनि यसरी नै यो एकेडेमीमा वर्षौ अघि खेलेको थिएँ, म पनि यहीबाट हुर्किएको खेलाडी हुँ।ʼ
उनले रिकिका माध्यमबाट आफैंलाई एकेडेमीमा पाएको बताएका थिए। जसरी जाभी त्यो समयमा विशेष ढंगले खेल्थे, त्यो शैली सबैमा देखिन गार्हो छ। अहिले चाहीँ जाभीकोजस्तो गज्जबको फुटबलिङ क्षमता पुचमा पाइन्छ। उनीसँग धेरै प्रतिभा छ। किनभने रिकीले चाँडै मैदानमा चलिरहेको खेललाई हेरेर त्यस्को अवस्थालाई बुझ्न सक्ने क्षमता भएके जाभिले पत्ता लगाएका थिए।
उनले भनेका छन्, 'मलाई लाग्छ भालभेर्डेले उनलाई पर्याप्त समय र अवसर दिनेछन्। सिनियर टोलीमा खेल्न त्यति सजिलो छैन्, ठुलो चरणमा राम्रो प्रदर्शन गर्न जरुरी हुन्छ, जुन कुरा निकै जटिल छ। तर मलाई विश्वास छ, उनले सिनियर टोलिमा पनि राम्रो गर्न सक्छन् उनलाई पर्याप्त समय र अवसरको खाँचो छ।ʼ
जाभीले अगाडि भनेका थिए, 'पुच सिनियर टोलीको पहिलो रोजाइमा खेल्न तयार छन्। तर उनले आफ्नो मानसिकता बलियो बनाउन आवश्यक छ।'
पुचलाई पर्याप्त समय दिने विषयमा सधैँ अघि देखिएका जाभी सन् २०२१ को अन्तयमा बार्सिलोनाको मूख्य प्रशिक्षकमा नियुक्त भए। त्यसले जाभीलाई धेरै खुसी दिलायो। कारण थियो, प्रशिक्षक कोम्यानले पुचलाई पर्याप्त समय दिएका थिएनन्। कोम्यानले पुचलाई अवसर नदिएको विषयमा बोल्दै जाभीले प्रशिक्षकले उनलाई विश्वास गर्दै पर्याप्त समय दिनु पर्ने बताएका थिए। उनले भने, ʻपुचलाई विश्वास गर्न आवश्यक छ। उनलाई बुझेर समय दिनु पर्थ्यो तर कोम्यानले दिएनन्। मेरो प्रशिक्षण कालमा पुचलाई पर्याप्त समय तथा अवसर दिनेछु।ʼ
गत सिजन टिमको कमजोर प्रदर्शन, च्याम्पियन्स लिगमा समूह चरणबाटै बाहिरनु तथा युरोपा लिग हार बेहोर्नुजस्ता कारणले पनि जाभीले कम अनुभव भएका खेलाडीलाई खेलाएर चुनौती लिन चाहेनन्। टिम शून्य उपाधि रहेको अवस्थामा जाभीले नयाँ खेलाडीको परीक्षा लिन उचित ठानेनन्। उनको त्यो निर्णयले टिममा मौका पर्खिरहेका खेलाडीले अवसर भएन। पुचको आशा निराशामै सीमित रह्यो। टिममा पर्ने विश्वास बढेको थियो तर तुहियो। अनि जाभिले पुचको विश्वासमा पूर्णविराम लगाइदिए।
अनि एकपटक पुचले आफ्नै टिमका सहकर्मी फेरान टोरेसको मजाक उडाएको अडियो लिक भयो, जसले पुचको भविष्य बार्सिलोनामा झन् अन्योल बनाइदियो। गत सिजन इङग्लिस क्लब म्यानचेस्टर सिटिबाट फेरान टोरेस बार्सिलोना अनुबन्ध भएका थिए। तर टोरेसलाई पुचले सामान्य रुपमा लिँदै केही पनि सोचेनन्। लिक भको अडियोमा पुचले भनेका थिए ʻफेरान टोरेस, उनलाई प्रशिक्षक पेप ग्वार्डिओलले क्लबमा चाहेनन्। त्यसैले उनलाई सिटीले बेचेको हो। उनले गत सिजन सिटीबाट १२ खेल मात्रै खेले, उनले त्यहाँ धेरै खेल त खेल्न पाएनन्।ʼ
जेराड पिके बार्सिलोनाका पुराना खेलाडी हुन्। पहिले उनले सामाजिक सञ्जालमा पुचसँगको तस्बिरहरु हाल्ने गर्थे। यसका साथै उनीहरु धेरै समयसँगै देखिन्थे। अनि फ्यानहरुले पनि सहजै अनुमान लाउँथे कि यी दुई खेलाडिको समबन्ध बलियो छ। तर अहिले पुचलाई क्लब छाड्ने निर्णय पनि पिकेले नै दिएको आशंका गरिएको छ।
प्रशिक्षक जाभिले पुच आफ्नो योजनामा नभएको बताएपछि पुचको भविष्य अन्योलमा थियो र यसैक्रममा पिकेले पुचलाई अन्य क्लबको खोजी गरिदिएको कुरा सञ्चारमाध्यमले जनाउँदै आएका छन्। यता बार्सिलोनाको पनि आफ्नै समस्या रहेका छन्। उसले त क्लबमा भित्र्याएका केहि खेलाडीलाई ला लिगामा दर्ता गर्न पनि सकेको छैन। यसले पनि केही भुमिका खेल्यो कि?
मैदानमा पुच अट्याकिङ मिडफिल्डरको भूमिका निभाउने गर्छन्, अर्थात् उनी मिडफिल्डमा जम्ने खेलाडी हुन्। विपक्षी खेलाडीको भीडबाट आफ्ना खेलाडीलाई पास दिने उनको शैली सबैभन्दा लोकप्रिय छ। सट गर्दै राम्रो स्कोरिङ पोजिसन बनाउने त उनको खुबी नै हो। ड्रिब्लिङबारे त कुरा गरिरहनै परेन। तर उनी शारिरिक र रक्षात्मक रुपमा कमजोर छन्। जसले गर्दा ठुला खेलाडीसंग बल छलाउन र खोस्न सक्दैनन्। तर बार्सिलोना प्राविधिक खेल खेल्ने हुँदा पुचलाई सहज थियो।
पुचको खेलशैली र उनको भविष्यबारे बार्सिलोनाका पूर्वखेलाडी फाब्रिगासले इनिएस्टाको स्तरमा पुग्न सक्ने खेलाडी रहेको बताएका पनि थिए। मैदानमो बायाँ कुनाबाट आक्रामक खेल्ने इनिएस्टाको शैलीलाई पुचले अपनाएका छन्। पुच पनि इनिएस्टाझैँ आक्रमक खेल शैलीमा विश्वास गर्छन्। तर कुनै पनि प्रशिक्षकले उनीमाथि विश्वास नगरेको आरोप फाब्रिगासले लगाएका छन्। उनले भने, ʻप्रशिक्षकले उनलाई विश्वास गर्छन् भने पुच इनिस्टाजस्तो खेलाडी बन्न सक्नेछन्। हुन त इनिएस्टा एक ठूलो नाम हो, उनीसँग तुलना गर्दा अशोभनीय होला तर यो नै वास्तविकता हो। मनोबललाई उच्च राख्न सके भने उनीमा सफल हुनका लागि आवश्यक सबै कुराहरु छन्।ʼ
बार्सिलोनामा पछिल्लो समय एकेडेमीमै हुर्किएका केही खेलाडीहरु थिए, जसले बार्सिलोनालाई दिग्गज खेलाडीको सम्झना दिन सक्छन्। ती खेलाडी हुन पेड्री (१९ वर्ष), गाभी (१८ वर्ष) र रिकी पुच (२२ वर्ष)। जाभी र इनिस्टाको समय क्लबमा फेरि फर्काउने जिम्मा यी नयाँ मिडफिल्डरलाई थियो। तीनै खेलाडी प्रतिभाशाली र बहुकलात्मक शैलीका छन्। तर पेड्री र गाभीको तुलनामा पुचले त्यो पर्याप्त समय पाएनन्।
क्लबमा पेड्री र गाभिमाथि प्रशिक्षकले विश्वास गरे र पर्याप्त अवसरहरु दिए। सोहि अनुसार पेड्री र गाभी तिखारिँदै गए र उनीहरुले क्लबको भविष्यको रुपमा आफूलाई उभ्याइसकेका छन्। उनीहरुको क्लबमा भविष्य सुनिश्चित छ, यी दुवै जनाको क्लबमा सन् २०२६ सम्मको सम्झौता छ। साथै क्लबले दुवैको रिलिज क्लज एक बिलियन तोकिसकेको छ। तर पुचले भने त्यो अवसर पाउन सकेनन्। क्लबमा अन्य मिडफिल्डरहरु कप्तान सर्जियो बुस्केट, फ्रेन्की डी जोङ्गले गर्दा पनि पुचले टिममा धेरै मौका पाउन सकेनन्।
पुच अमेरिकी सकर क्लब ग्यालेक्सीमा अनुबन्ध भएपछि ग्यालेक्सीका मुख्य प्रशिक्षक ग्रेग भान्नीले पुचलाई क्लबमा अनुबन्ध गर्न पाउदा खुसी भएको बताए। उनले भने ʻहामीले पुचलाई क्लबमा भित्र्याउँदा खुशी छौ। पुच धेरै प्राविधिक खेलाडी हुन्। उनीसँग खेलको धेरै शिक्षा छ, उनी उमेरगत रुपमा हेर्दा मात्रै २२ वर्षका छन्, तर प्रसस्तै अनुभवहरु छन्। उनी हाम्रो टिमको शैली अनुसार खेल्न र हाम्रो समूहमा रहनका लागी फिट पनि छन्।ʼ
(गार्जियन, मिरर, बार्साबुल्गाराना, ब्लेजट्रेन्ड, द एथ्लेटिक्स र गोल डटकमको सहयोमा शिशिर बस्नेतले तयार पारेको सामाग्री)