बुधबार, पुस २४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

आफ्नै कारण राजनीतिबाट 'किनाराकृत' हुँदैछन् वामदेव

कुनै बेला राजनीतिको केन्द्र भागमा रहेका वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियानले गरेको कारबाही र तत्काल वाम एकता नहुने संकेतसँगै राजनीतिक संकटमा भासिँदै छन्।
 |  शुक्रबार, साउन २७, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

शुक्रबार, साउन २७, २०७९

ntc landingntc landing

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नजिकिँदो छ। ४ मंसिरमा हुने चुनावका लागि राजनीतिक दलका नेतृत्वहरू आन्तरिक तयारीमा जुटिसकेका छन्। चुनावी रणनीति निर्माणमा नेताहरू व्यस्त देखिन्छन्।

himalayan bank box

तर समकालीन नेताहरू चुनावी तयारीमा जुट्दै गर्दा सधैं नेपाली राजनीतिको केन्द्रमा हुने वामदेव गौतमको भने कुनै चहलपहल देखिन्न। कुन दलमा टेकेर कुन क्षेत्रबाट चुनाव लड्दै छन् भन्ने कुरा स्पष्ट छैन। गौतमको राजनीति कसरी अगाडि बढ्छ भन्ने अन्दाज लगाउन गाह्रो छ। उनी स्वयं यस विषयमा तत्काल केही नबोल्ने भन्दै पन्छिरहेका छन्। 

‘अहिले म यस विषयमा केही बोल्दिनँ। अहिले काम गर्दै छु। केही समयपछि आफैं खुल्छु,’ गौतमले नेपाल समयसँग भने।

हुन त, स्थानीय तह चुनावमा पनि गौतम खुलेका थिएनन्। उनले नयाँ ‘रोडम्याप’ निर्माण गर्न काम गरिरहेको भनेर त्यसबेला टारेका थिए। आफ्नो रोडम्याप स्थानीय तह चुनावपछि सार्वजनिक गर्ने र सक्रिय राजनीतिमा होमिने उनले बताएका थिए।

तर स्थानीय तह चुनावपछि पनि वामदेवको सक्रिय भूमिका देखिएन। यसबीचमा बाम एकताका लागि पहल गर्ने केही बैठकमा बाहेक अन्यत्र उनको सक्रियता देखिएन। कम्युनिस्ट पार्टी एकता गर्ने घोषणाका साथ ‘नेकपा एकता राष्ट्रिय अभियान’ पनि उनले नखोलेका हैनन्। 

बाम पार्टीहरू एकजुट बनाउने जोश बोकेर अभियान खोलेका गौतमको उत्साह केही दिन पनि टिकेन। गौतमले नेकपा एकता राष्ट्रिय अभियान घोषणा गर्दा उनलाई आम नेपाली पार्टी, नेकपा (राष्ट्रवादी), आधुनिक नेपाल समाजवादी पार्टी र समाजवादी केन्द्र नेपालले साथ दिएका थिए। तर पछि तिनै गौतमलाई चार पार्टीले अभियानबाट निष्कासन गरे। 

गौतम उक्त अभियानमा पनि ‘पेन्डुलम’ बने। त्यसपछि तत्कालीन नेकपाको बहुमत सचिवालय सदस्यको बैठकमा आफूलाई सहभागी गराउन थाले। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसँगै गौतम पनि बैठकमा देखिन थाले। यद्यपि, अन्य दलहरूले अहिलको सत्ता गठबन्धनलाई नै आउँदो चुनावसम्मै निरन्तरता दिने घोषणा गरेसँगै गौतम छायामा परेका छन्।

‘नेकपा एकता राष्ट्रिय अभियान’ले गरेको कारबाही र तत्काल बाम एकता नहुने संकेत देखिएसँगै गौतम संकटमा देखिन्छन्। कुनै दलमा आबद्ध नरहेकाले कहाँबाट कसरी चुनाव लड्दै छन् भन्न सकिन्न। 

हुन त, २०७४ को प्रतिनिधिसभा चुनावमा पनि गौतम पराजित भएका थिए। त्यसबेला नेकपा एमालेबाट बर्दिया क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थिए। उनलाई नेपाली कांग्रेसका सञ्जय गौतमले ७५३ मतान्तरले हराएका थिए।

तत्कालीन समय बाम गठबन्धनका सूत्रधारसमेत रहेका वामदेवले ४४ हजार ७६ मत ल्याए भने विजयी गौतमले ४४ हजार ८२९ मत ल्याएका थिए। मत परिणाम सार्वजनिक भएलगत्तै आफूले अन्तरघातकै कारण पराजय बेहोरेको आरोप उनले लगाएका थिए। 

गौतमका अनुसार उनलाई हराउन बर्दिया–१ का निवर्तमान सांसद श्याम ढकालसहित ८–९ जना नेताहरूको हात रहेको थियो। गौतमले आफूलाई हराउन केन्द्रीय सदस्य सूर्य थापा पनि लागेको मौखिक आरोप लगाएका थिए। 

यसरी पराजय बेहोरेका गौतम त्यसपछि पनि निरन्तर प्रयोग भइरहे। नेकपा विवाददेखि एमाले विभाजनसम्म आइपुग्दा उनमा ढुलमुले चरित्र देखिन्थ्यो। प्रायजसो गौतम पार्टीभित्र रहेका सबै गुटको प्रयोगमा परे। कहिले ‘प्रधानमन्त्री कार्ड’मा लोभिएर त कहिले सांसद बनाउने आश्वासनमा परेर उनी प्रयोगको पात्र बनिरहेका थिए। 

गौतम प्रयोग पर्नुमा उनकै आफ्नो स्वभावले पनि काम गरेको उनी निकट नेताहरू बताउँछन्। उनको स्वभावको चर्चा गर्दा अस्थिर र ढुलमुले पात्रको रूपमा चिनिन्छन्। पछिल्लो समय कतिपय निर्णय गर्ने क्रममा पनि उनी चुकेको पाइन्छ। 

कुनै बेला राजनीतिको केन्द्र भागमा रहेका वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियानले गरेको कारबाही र तत्काल वाम एकता नहुने संकेतसँगै राजनीतिक संकटमा भासिँदै छन्। 

यसअघिको चुनावमा गौतमको पराजय हुनुमा यिनै ‘फ्याक्टर’ले काम गरेको थियो। २०४८ देखि लगातार बर्दिया–१ बाट चुनाव लडेका र तीन पटक जितेका गौतमले केही काम नगरेको भन्दै नागरिकमा व्यापक असन्तुष्टि देखिन्थ्यो। तीन पटक उप–प्रधानमन्त्री र गृहमन्त्री हुँदासमेत कसैले जागिर नपाएकोदेखि विकास निर्माणका काम नभएको गुनासो स्थानीयको थियो। चुनाव जितेपछि जनताले भेट्नै नपाउने भन्ने खाले गुनासो पनि सुनिएका थिए।

त्यस्तै, गौतमको घमन्डले पनि गत चुनावमा घाटा पुर्यायो। उनले २०७० को चुनावमा प्यूठान र बर्दिया दुवै ठाउँबाट उम्मेदवारी दिएका थिए। दुवै ठाउँबाट चुनाव पनि जिते। त्यसपछि उनले प्यूठानलाई रोज्दै ‘अब म बर्दिया फर्किन्नँ’ भन्ने अभिव्यक्ति दिएका थिए। यसरी २०७० को चुनावमा बर्दियाका जनतालाई धोका दिएका गौतमसँग २०७४ को चुनावमा बर्दियाले ‘बदला’ लियो।

त्यसपछि पनि अपरिपक्व निर्णय गर्नमा गौतम खप्पिस देखिए। चुनाव हारेका गौतमलाई पटक–पटक प्रधानमन्त्री पदले लोभ्याउन थालियो। संविधानमा रहेको व्यवस्थालाई बेवास्ता गर्दै उनी प्रधानमन्त्री हुन खेलिइरहे। कुनै सांसदलाई राजीनामा गराएर भए पनि गौतमलाई प्रतिनिधिसभामा छिराउने योजनासम्म बने। त्यो पनि सम्भव नभए राष्ट्रिय सभामा लगेर संविधान संशोधन गरेरै भए पनि प्रधानमन्त्री बनाउने आश्वासन उनले पाए। यसरी प्रधानमन्त्री पदको लोभमा वामदेव पटक–पटक प्रयोग भइरहे। अपरिपक्व र अस्वाभाविक हर्कत उनले दोहोर्याइरहे।

तत्कालीन नेकपाको सचिवालयको समीकरण पनि त्यस्तै थियो। ९ सदस्यीय सचिवालयमा वामदेव जसको पक्षमा ढल्कियो, उसैको बहुमत पुग्ने अवस्था थियो। सोही कारण विवाद समाधानको सूत्र फर्माउने उनै गौतम हुन्थे। उनलाई अनेक आश्वासनसमेत दिइन्थ्यो। 

कहिले माधव नेपालतिर लागेर ओलीलाई गाली गर्ने त कहिले तिनै ओलीसँग मिसिन पुग्ने ढुलमुले चरित्रबाट उनी मुक्त हुन सकेनन्। अस्थिर र ढुलमुले चरित्र भनिएकामा उनले त्यसबेला आपत्ति नै जनाएका थिए। ओलीले बोलाएको बैठकमा गएकोबारे प्रस्टीकरण दिँदै उनले भनेका थिए, ‘म कुनै पक्षको होइन। म एमाले हो। एमाले भएको प्रमाण पेस गर्न केन्द्रीय कमिटी बैठकमा गएको हो।’

त्यसलगत्तै गौतमले १८ असारमा पार्टी केन्द्रीय कमिटी बैठकमा बोली फेरे। माधव नेपाललाई नयाँ पार्टी गठन गरे साथ दिने प्रतिबद्धता जनाएका उनले नेपालमाथि नै प्रश्न गर्न थाले। पार्टीबाट राजीनामा नगरी माधव पक्षले विपक्षी दलका नेतालाई प्रधानमन्त्री प्रस्ताव गर्नु अनैतिक भएको बताएका थिए। उक्त बैठकमा पार्टी फुटाउने कुरा गलत हुने उनले सुनाए। 

गौतमको राजनीतिक पृष्ठभूमि हेर्दा पनि उनको ढुलमुले र अस्थिर चरित्र थप स्पष्ट हुन्छ। जस्तो, २०५४ मा फर्किऔं। त्यसबेला मनमोहन अधिकारी आलंकारिक अध्यक्ष र माधव नेपाल कार्यकारी महासचिव रहेका बेला गौतमले एमाले फुटाएका थिए। 

त्यसबेला गौतमले ‘औंलो पाउँदा डुडुलै निल्न’ खोजेझैं गरे। २०५१ मा तत्कालीन एमालेले ठूलो दलको हैसियतमा अल्पमतको सरकार चलाएको थियो। त्यसबेला पार्टी अध्यक्ष मनमोहन अधिकारी र महासचिव माधवकुमार नेपाल प्रधानमन्त्री र उपप्रधानमन्त्री भएर सरकारमा गए। वामदेव गौतमलाई उपमहासचिवको हैसियतमा पार्टीका गतिविधि सञ्चालन गर्ने जिम्मेवारी दिइयो।

सरकारबाट एमाले बाहिरिने समयसम्म पार्टीभित्र गौतम बलियो भइसकेका थिए। माधव नेपालहरूले आफ्नै हातमा पार्टीको शक्ति ल्याउन प्रयास गरे। तर गौतम पक्षले त्यसै किन मान्थ्यो? उनकै सहयोगमा झलनाथ खनाल, सीपी मैनाली, राधाकृष्ण मैनालीलगायतका नेताहरूले माधव नेपाललाई महासचिवबाट हटाउने अभियानै चलाए। बरु नेपालको ठाउँमा एमाले वरिष्ठ नेता झलनाथलाई महासचिव बनाउने योजनामा उनीहरू लागेका थिए। 

यद्यपि, पार्टीको केन्द्रीय कमिटी बैठकमा अल्पमतमा पर्न सक्ने देखेपछि नेपालले निर्णय गर्न दिएनन्। उल्टै पार्टीको माइन्युट बोकेर हिँडे। त्यसबेलादेखि एमालेमा देखिएको विवाद २०५४ मा पार्टी विभाजन हुने स्थितिसम्म पुग्यो। २०५३ असोजमा महाकाली सन्धि संसद्बाट अनुमोदन भएपछि त्यही बहानामा वामदेवले २०५४ मा नेकपा माले गठन गरेका थिए।

यसरी पार्टी फुटाउनेदेखि ‘नेकपा एकता राष्ट्रिय अभियान’बाट निष्कासन हुँदासम्मका गतिविधि हेर्दा वामदेव अपरिपक्व नेताका रूपमा चित्रित हुने उनी निकटकै नेताहरू बताउँछन्। हुँदाहुँदा वामदेवको अबको राजनीतिक यात्रा कसरी अगाडि बढ्छ भन्न नसकिने अवस्था छ। यसले विस्तारै गौतम नेपाली राजनीतिबाट किनाराकृत हुँदै गएको देखाउँछ।

प्रकाशित: Aug 12, 2022| 08:56 शुक्रबार, साउन २७, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...