काठमाडौं– प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले मिटरब्याजमा ऋण दिएर चर्को ब्याज असुल्नेलाई कारवाही हुने बताएका छन्। बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पीडितहरुलाई प्रहरीकहाँ उजुरी दिन आग्रह गरे।
आईजीपी सिंहले भने, ‘५० प्रतिशत मिटरब्याज पीडितले त न्याय पाइसके। माइतीघरमा आन्दोलनरत सबै पीडित होइनन्। अनुसन्धान गरेर पीडकलाई हामी कारवाही गर्छौं। जाहेरी दिनुस्, जाहेरीअनुसार अनुसन्धान हुन्छ।’
मुठ्ठीभरको ऋण दिन दुई गुणा रात चौगुणा बढाउँदै साहुले घरबार हत्याएका मिटरब्याज पीडित किसान दोस्रोपटक काठमाडौं आएर माइतीघरमा आन्दोलन गरिरहेका छन्। सुदखोरहरूबाट प्रताडित उनीहरूले आठौँ दिन पनि माइतीघरमा प्रदर्शन जारी राखेका हुन्। यसअघि गत असारमा पनि उनीहरू राजधानी आएर धर्ना दिएका थिए। तर स्थानीय साहुसँग सहमति गर्ने भन्दै उनीहरू फर्किएपनि साहुले झन् बढी ऋण लिएको देखाएपछि उनीहरू दोस्रो पटक धर्नाका कार्यक्रम लिएर राजधानी आउन बाध्य भएका हुन्।