काठमाडौं– काभ्रेमा गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा रहेकामध्ये १७ मतदान केन्द्र सारिएको छ। जिल्ला निर्वाचन कार्यालयले जिल्लास्थित राजनीतिक दलको सर्वदलीय सहमतिका आधारमा आगामी ४ मंसिरको प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १७ मतदान केन्द्र सारेको जनाएको हो।
कार्यालयका अनुसार खानीखोला गाउँपालिका–२ स्थित फलामेटारमा रहेको साविक गाविस भवन मतदान केन्द्र बालविकास माध्यमिक विद्यालयमा सारिएको छ। यस्तै, तेमाल गाउँपालिका–९ मा रहेको कुशेश्वर मावि मेच्छे पौवाको मतदान केन्द्र वडा कार्यालयमा सारिएको छ।
६ स्थानीय तहमा गरिएको मतदान केन्द्र परिवर्तनमध्ये सबैभन्दा धेरै नमोबुद्ध नगरपालिकामा सारिएका हुन्। नमोबुद्ध–२ को जनकल्याण मावि बुच्चाकोटको केन्द्र वडा कार्यालयमा सारिएको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिए। सोही नगरपालिकाको वडा–३ को कालिका आधारभूत विद्यालय भेंडाबारीबाट वडा कार्यालयमा सारिएको छ। त्यस्तै, वडा–६ को कालीगंगा आधारभूत विद्यालय चरंगेफेदीबाट वडा कार्यालयमा सारिएको छ।
नमोबुद्ध–९ को बागदेवी आधारभूत विद्यालय बाग्माराबाट नेपाने बुद्धपार्कमा मतदान केन्द्र सारिएको छ। वडा–१० को च्यामथुम्का पाटीबाट पञ्चकन्या माविमा सारिएको छ। त्यस्तै, पनौती नपा–२ को वडा भवन कुशादेवीबाट कुशादेवी माविमा सारिएको छ। पनौतीकै वडा–२ को ३ नम्बर वडा कार्यालय नयाँपुलबाट बिहावार आवासीय माविमा केन्द्र सारिएको हो। ६ नम्बरको वडा कार्यालय दलिञ्चोकबाट स्थानीय गोरखनाथ आधारभूत विद्यालयमा केन्द्र सारिएको छ।
पाँचखाल नपा–३ समाज कल्याण प्रावि तामाघाटबाट दुग्धेश्वरी माविमा सारिएको कार्यालयले जनाएको छ। महाभारत गाउँपालिका–५ को तत्कालीन गाविस भवन बुढाखानीबाट ग्रामोन्नती मावि चार किल्लामा केन्द्र सारिएको हो। वडा नम्बर ६ को गाविस भवन बनखुचौरबाट आजाद माविमा सारिएको छ। त्यस्तै, रोशी गाउँपालिका–५ को गाविस भवन लुरपुंगडाँडाबाट भूमिस्थान माविमा केन्द्र सारिएको हो। बनेपा नपा–१२ का दुवै केन्द्र सारिएको छ।
वडा कार्यालय देउरालीबाट गणेशभारती माविको नयाँ भवनमा केन्द्र सारिएको हो भने गणेश भारती माविको नयाँ भवन देउरालीबाट वडा कार्यालय देउरालीमा सारिएको छ। परिवर्तन हुने मतदान केन्द्रका सबै मतदाताको नामावलीसमेत सारिएको कार्यालय प्रमुख राईले बताए। जिल्लामा स्थानीय तह निर्वाचनमा १८९ वटा मतदानस्थल तथा ३८१ मतदान केन्द्र व्यवस्थित गरिएको थियो।
स्थानीय तह निर्वाचनमा काभ्रेमा ३० दल दर्ता भएका थिए। उक्त निर्वाचनमा जिल्लामा ३ लाख ३,५६० मतदाता रहेकामा आगामी आमनिर्वाचनमा ८ हजार बढी मतदाता थपिने भएको कार्यालयले जनाएको छ। –रासस