काठमाडौं- राष्ट्रिय दलित आयोगले आफ्नो समुदायका केही व्यक्तिको नागरिकतामा उल्लेख गरिएको नाममा भेदभावप्रति आपत्ति जनाएको छ। दलित समुदायका केही व्यक्तिलाई नागरिकता वितरण गर्दा ‘कुकुर कामी, कुकुर्नी कामी’ र ‘कुत्ता कामी’ जस्ता नाम लेखेर दलितलाई अपमान गरेको भन्दै आयोगले आपत्ति जनाएको हो।
आयोगका अध्यक्ष देवराज विश्वकर्माले बुधबार आयोजित एक साक्षात्मकार कार्यक्रममा नागरिकतामा देखिएको विभेदले नागरिकता लिने व्यक्तिलाई मात्र नभएर त्यसको असर तिनका पुस्तौँपुस्तासम्म पर्ने उल्लेख गरे। उनले भने, 'नागरिकतामा अपमानजनक शब्द राख्नु राम्रो होइन।' आयोगले नागरिकतामा राखिएको थर सच्चाउनका लागि संशोधनको कुरा उठाउँदै आएको उनको भनाइ छ।
कार्यक्रममा सांसद अञ्जना बिसंखे, भुवन सुनार, सामाजिक अभियन्ता प्रदीप परियारलगायतले दलितका मुद्दामा राज्य गम्भीर हुनुपर्ने बताए।
यसअघि गृह मन्त्रालयले 'अपमानजनक' शब्द प्रयोग गरी नागरिकता जारी नगर्न र यसअघि जारी भएका नागरिकता पनि सम्बन्धित व्यक्तिले सच्याउन चाहे सच्याइदिन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ। गृह मन्त्रालयले भनेको छ, 'विभिन्न जिल्लाहरुबाट जारी भएका नेपाली नागरिकताका प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द राखी जारी भएको सम्बन्धमा प्रकाशित समाचार, सूचना तथा जानकारीहरु प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।'
'अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने' विज्ञप्तिमा थप भनिएको छ,'त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने।'