काठमाडौं- हरेक मान्छेको जीवनमा एउटा कथा हुन्छ । एउटा मान्छे एउटा कथा लिएर बाँचेको हुन्छ । बिरुवाले हाँगा हालेझैं जीवनका कथाहरूले उपकथाहरू लिएर आएका हुन्छन् । जिन्दगीका यस्तै घुम्तीहरूमा धेरै कथा लेखिन्, माया ठकुरीले पनि ।
उनी भन्छिन्, ‘जीवनले कथा बुन्दै जान्छ र हामी कथाका पात्र जस्ता हुन्छौं ।’ हिँडिरहेको गोरेटोमा आउने घुम्तीले नयाँ दृष्य देखाएझैं जीवनले पनि कथाका प्लट नयाँ ल्याइरहन्छन् । कुनै दुःखका हुन्छन्, कुनै सुखका । उनी भन्छिन्, ‘जीवन जता मोडिँदै जान्छ, त्यतै कथा बन्दै जाने हो ।’
सात दशक पार गरेकी माया कथा बुन्दै हिँडिरहेकी छन् । जीवन सिंगो कथा लाग्छ उनलाई । र, मान्छेलाई तिनै कथाहरूले टिकाइरहेको छझैं ठान्छिन् । उनी भन्छिन्, ‘जीवनका कुनै कुनै कथाहरू बडो यादगार हुन्छन् ।’
जिन्दगीका उकाली-ओरालीहरूमा कहिलेकाहीं सुन्दर कथा बुनिएको हुन्छ । कसैले सम्झेर गह भर्छन्, कसैले बिर्सिएर खुशी भर्छन् । रमणीय ठाउँमा पुर्याउँछ । उनी आफ्नो किशोर उमेर सम्झिँदै भन्छिन्, ‘जीवनको सबैभन्दा सुन्दर कथा किशोर उमेर हो ।’
‘आफूले बुझ्दै आएपछिको समाजमा जे जे देखियो, त्यो व्यक्त गर्ने माध्यम हो लेखन। लेख्यो भने धेरै पीडा र छटपटीहरूले राहत पाउँछन् ।’
किशोर उमेरले तारुन्यताको प्रतिनिधित्व गर्छ । त्यसैले ल्याउँछ, रोमाञ्चक र नयाँ अनुभव । मान्छेको कल्पनाशक्ति सबैभन्दा बढी सक्रिय किशोर उमेरमा हुन्छ शायद । किशोर उमेरले कल्पनाको उडान भर्छ । बडो छिटो आउने र छिटो गुमाउनुपर्ने किशोर उमेर उनको सम्झनामा छ, ‘त्यतिबेला सुख्खा रोटी र आलु दिएर मेरो भोकलाई शान्त पारिदिएका थिए ।’
त्यो अवसर जुराइदिएका थिए कुनै सुनारले, जसको नाम उनी भनिरहन सक्दिनन् । ती मान्छेले चिनेको भोकप्रति उनी अहिले पनि आभारी छिन् । त्यो भोकमा मिसिएको माया नै उनले सम्झिन् । उनी भन्छिन्, ‘रगतको साइनो थिएन तर ती मान्छे भगवान जसरी उदाइदिए ।’
ती मान्छेको सहयोगले दिएको रोटी र आलुमा बाँचेको मायालाई उनी अझै सम्झिन्छिन् । जसलाई बाँचुन्जेल सम्झिन मन लाग्ने हो । हामी कथाहरू सम्झिन्छौं, कथाहरूको अन्त्य जीवनको अन्त्यसँगै हुने हो । उनी भन्छिन्, ‘मेरो कथाको अन्त्य कहाँ हुन्छ थाहा छैन तर जीवनको अन्त्य त निश्चित छ नि ।’
जीवनले पाइला-पाइलाबीचमा कथा बुनेको हुन्छ । कसैले याद गर्छ र लेख्छ, कसैले याद मात्रै गर्छ । हरेक मान्छेको कथा त्यस्तै हो । उनी भन्छिन्, ‘कहिलेकाहीं कथाहरू अधुरा हुन्छन्, दुःखान्त सिनेमाका कथाजस्ता ।’
कथाले पढायो मायालाई
बाक्लो ग्लास लगाउँछिन् उनी । छोटो पारेको कपाललाई काँइयोले मिलाएर कोरेको देखिन्छ । देख्नेहरूले माया ठकुरीका चाउरिएका गाला हेर्दै गर्दा उनी मुस्कुराइदिन्छिन् । मन्द मुस्कानले छोपिदिन्छ उनको बुढापाको अनुहार । उनी भन्छिन्, ‘बुढी भएँ तर लेख्ने भोक अझै बढिरह्यो ।’
नसाहरू गल्दै गए । बल निख्रिँदै गयो तर लेखनको नसा थपिँदै गयो । कथाहरू फुर्दै गए । कथा साहित्यमा बेग्लै बर्चश्व बनाउन सकेकी माया लेखनको भोक मेटाइरहेकी छन् । भन्छिन्, ‘स्वयम् आफू पनि कथाको पात्र हुँजस्तो लाग्छ ।’
नेपाली साहित्यमा एउटा महिला साहित्यकार भएर देखाउन कैयौं चुनौती सामना गरिन् । आखिर चुनौती पनि त एउटा कथा हो । उनले बेहोरेका चुनौतीहरू यस्तै कथा भए । उनी भन्छिन्, ‘बाउको माया जन्मेदेखि पाइनँ । तर, आमाको मायाले कथा लेख्न सधैं लगायो ।’
संघर्षका अनेक रूप हुन्छन् । उनी जन्मिएको एक वर्षसम्म त बाबुले हेरेनछन् । कारण, उनी छोरी भएर जन्मनु रहेछ । भारतको लखनऊमा सन् १९४६ मा जन्मेकी थिइन् । आमा देवी ठकुरीको ममताले आजसम्म कथाहरू लेखाइरह्यो ।
बाबु भारतीय लाहुरे भएकाले उनको पढाइ पनि भारततिरै भयो । लामो समय शिक्षण पेशामा लागिन् । उनी भन्छिन्, ‘मैले पाठ्यक्रम पढाएँ । र, मलाई कथाले पढाइरहेझैं लाग्छ ।’
पीडालाई राहत दिने लेखन
‘आफूले बुझ्दै आएपछिको समाजमा जे जे देखियो, त्यो व्यक्त गर्ने माध्यम हो लेखन,’ उनी भन्छिन्, ‘लेख्यो भने धेरै पीडा र छटपटीहरूले राहत पाउँछन् ।’
अभिव्यक्त गर्ने सशक्त माध्यम नै लेखन होजस्तो लाग्छ उनलाई । र, महिलाहरूलाई लेखनमा लाग्न धेरै चुनौती देख्छिन् । भीडभाडमा हिँड्न सकस छ, महिलालाई । पुरूषप्रधान समाजको भीडमा उभिएर कविता भट्याउँदा पनि आँखा लगाउनेहरू भेट्छिन् उनी ।
अहिले महिला लेखिकाहरू बाक्लिँदै आएकोप्रति उनी उत्साहित छिन् । भन्छिन्, ‘केही लेखिकाले गरेको संघर्षका कारण हामीले लेख्यौं । आज आएर महिलाहरू सक्रिय भएर लेख्न हौसिएका छन् ।’
उनको लेखनको शुरुवाततिर अवस्था अर्कै थियो । लेखेर कसरी स्थापित हुने ? घरबाट बाहिर निस्किन अनेक आरोप सुन्नुपथ्र्यो । अझ साहित्यिक जमघटमा पुग्न थप गाह्रो थियो । उनी भन्छिन्, ‘लेख्न भन्दा पनि लेखेको कथालाई देखाउन (छपाउन) गाह्रो थियो ।’
जसरी बस्ती बसाउन जंगल फाँड्नुपर्छ । त्यहाँ जंगल मात्रै फाँड्ने होइन, जीवजन्तुसँग पनि सामना गर्नुपर्छ । त्यस्तै सामना गर्नुपरेको थियो मायाले कथा लेखनमा । १/२ अग्रजहरू प्रति उनी गर्व गर्छिन् । भन्छिन्, ‘हामीभन्दा अगाडि लेख्नेहरू कति महान होलान् । त्यही जगमा उभिएर लेखिरहेका छौं ।’
बाल्यकालको सम्झना त्यो तस्बिर
उनी सानैदेखि लजाउँथिन् । १५ वर्षको उमेरसम्म पनि उनले तस्बिर खिचिनन् । उनका साथीहरूले तस्बिर खिच्थे । लट्टा परेको कपाल र फाटेको जामामा खिचेको तस्बिर एक दिन साथीले देखाउँदा उनी रोएकी थिइन् । कुनै कलाकारले अभिनय गर्न लगाएझैं महशुस गरेकी रहिछन् ।
अभावमा खिचेको त्यस तस्बिरले उनको बाल्यकाल सम्झाइरहन्छ । त्यो क्षण आफैंलाई घिनलाग्दी केटीको उपमा दिएकी थिइन् उनले । उनी भन्छिन्, ‘त्यसबेला फोटो खिच्न नपाएकाले हो कि अहिले फोटो खिच्दा आनन्द लाग्छ ।’
तस्बिर पनि एउटा कथा हो । उनी थप्छिन्, ‘कथा जीवनसँग जोडिन्छ र जीवन संसारभर छ ।’
आफ्ना कथाहरूमा उनी कुनै योजना बनाउँदिनन् । जे समाजमा देखिन् अनि जस्ता महिला देखिन्, तिनैले भोगेका दैनिक जीवनलाई लेखिन् । उनी भन्छिन्, ‘मैले समाजमा भएका आफूजस्तै मान्छेको कथा लेखेको हुँ केवल फरक-फरक अनुभूति हुन्छ ।’
जीवनले पाइला-पाइलाबीचमा कथा बुनेको हुन्छ । कसैले याद गर्छ र लेख्छ, कसैले याद मात्रै गर्छ । हरेक मान्छेको कथा त्यस्तै हो ।
उनको हृदय साह्रै कमलो छ । अरूको दुःखलाई आत्मसात गर्न चाहन्छिन् । दीन-दुःखीहरूलाई उनी जहिले पनि दिन चाहन्छिन् । सेवा पनि सोधेर दिन्छिन् । मान्छेको अनुहार पढ्छिन् । उनी आफूलाई सहयोग हुनुपर्छ भन्ने लाग्छ ।
उत्तरहरू दिनुभन्दा स-साना कुराहरूमा रमाउन चाहन्छिन् । दैनिकजसो कार्यक्रममा उनी पुग्छिन् । आफूलाई सम्बोधन गरेको ठाउँमा मिठो हाँसेर बसिरहेको देखिन्छन् । उनी भन्छिन्, ‘बौद्धिक उत्तरभन्दा व्यावहारिक उत्तर पो जीवनलाई छुने रहेछ ।’
साहित्य कार्यक्रमहरूमा उनी चुपचाप बस्छिन् र एउटा कथा हुुनुको बोध गराइरहन्छिन् । उनलाई भेट्न आएका महिला साहित्यकारहरू छन्, जसले माया गर्छन् । लेखकले लेखेर चिनिनुपर्छ भन्ने उनको तर्क छ । उनी भन्छिन्, ‘आफूले लेखेर चिनिने हो, कसैले दिएको पदले होइन ।’
साहित्य लेखेर दिने हो, अध्ययन गर्ने हो । अध्ययनबिना आफूलाई उभ्याउन नसकिने उनको तर्क छ । अहिलेका युवा-युवतीप्रति उनी खुशी छिन् । उनका जीवनका आयामहरू केलाउँदै आर्शिवाद माग्नेहरू धेरै छन् । आफ्ना साहित्यिक कृतिहरूमा भूमिका लेखिदिन आग्रह गर्नेहरू धेरै छन् । उनी भन्छिन्, ‘भूमिका लेख्दिनँ, ममा भूमिका लेख्ने क्षमता नै छैन ।’
‘तहअनुसार संघर्ष’
समाज महिला र पुरुषबिना अधुरो छ । महिला र पुरुषबिना घर चल्दैन । तर, महिला मात्रै पीडित भेटिन्छन् । पुरुष मात्रै पीडक भएका छन् । तर, उनलाई त्यस्तो लाग्दैन । भन्छिन्, ‘पुरुष मात्रै खराब होइन, केही महिला पनि खराब हुन्छन्, जसका कारण पुरुषहरू मर्कामा परेका छन् ।’
महिलाहरूलाई लेखन क्षेत्रमा लाग्न अत्यन्त ठूलो मिहिनेत लगाउनुपर्छ । उनी भन्छिन्, ‘तहअनुसार महिलाहरूको संघर्ष छ लेखनमा ।’
घरको काम सकेर बचाएको समयलाई लेखनमा लगाउन चाहिरहेका छन् । बिहे भएका महिलाहरूले त झन् समय दिन नसक्ने अवस्था छ । स्वावलम्बी महिलाहरू भने केही गर्न तयार छन् । ठकुरी भन्छिन्, ‘वर्गीय हिसाबले पनि स्वतन्त्रताको मापन छ, यो समाजमा ।’
जातिगत पनि देखिन्छ । धनाढ्य महिलाहरूलाई सजिलो छ । उनीहरू आफूलाई स्वतन्त्र पार्न सक्छन् किनकि उनीहरू आर्थिक बलियो हुन्छन् । सामाजिक परिवेशले पनि केही टेवा दिन्छ । सोचाइको दायरालाई बढाउँदै लान्छ । त्यही मौका र अवसर धेरैले पाएका छैनन् ।
उनी आफ्ना कथामा भेटिएका त्रुटीलाई स्वीकार्छिन् । अहिलेको पुस्ताले फुक्र्याउँदैनन्, गल्ती औंल्याउँछन् । कम्तिमा सच्चिने मौका दिन्छन् । उनी भन्छिन्, ‘पहिले त खाली राम्रो छ भनिदिन्थे तर अहिलेका युवा-युवती गल्ती देखाइदिन्छन् ।’
नयाँ पुस्ता धेरै अध्ययनशील सत्य भन्न नडराउने स्वभावका भएको उनी बताउँछिन् ।
आधुनिक कथा सिर्जनामा माध्यमबाट नेपाली भाषा साहित्यमा निरन्तर कृयाशील छिन् उनी । सन् १९५९ मा भारतको मेघालयमा पहिलोपटक आशा पत्रिकामा ‘बौलाही’ कथा छापिएर आएपछि उनको कथाले हाँगा हालिरह्यो ।
‘नजुरेको जोडी’, ‘गमलाको फूल’, ‘साँघु तरेपछि’, ‘चौतारो साक्षी छ’, ‘माया ठकुरीका कथाहरू’, ‘प्रियंवदा’, ‘आमा जानुहोस्’ गरी सात वटा कथाकृति आइसकेका छन् ।
ठकुरीका कतिपय कथा अनेक भाषामा अनुदित भएका छन् । पाठ्यक्रममा समेटिएका छन् । उनका श्रीमान् र छोरी पनि साहित्य लेखन र अनुवाद कर्ममा छन् । कम्तिमा साहित्यलाई हृदयंगम गर्छन्, उनीहरू पनि । उनी भन्छिन्, ‘साहित्य बुझ्ने परिवार दिएको समयले म कथा भेट्छु ।’
आमाले दिएको सिल्कीको साडी
आमा सन्तानलाई मन पर्ने चिज दिन हतारिरहन्छिन् । आमा बाँचिरहेकी छिन् भने सन्तान जहाँबाट फर्किए पनि पहिला खानपिनको चिन्ता गर्छिन् । दुःख, बिमार सोध्छिन् । तर, सन्तानले त्यस किसिमको माया देखाउनै जान्दैनन् । त्यस्तै माया छुट्यो उनको जीवनमा । उनी भन्छिन्, ‘मैले मेरो आमालाई दिने कुराहरू छुटे जीवनमा ।’
आमा सन्तानका स-साना कुरामा खुशी हुन्छिन् । आमाको माया कसैलाई नछुटोस् । कति ठूलो कुरा छुटाएको हुन्छौं, जसलाई हामी कहिल्यै पाउन सक्दैनौं । उनी भन्छिन्, ‘आमासँग खुशी बाँड्न सक्दैनन्, अहिलका सन्तान ।’
उनले आमाको दुःखलाई बुझेकी थिइन् । उनी भन्छिन्, ‘बुवाको पेन्सन पाउन थालेपछि आमाले सुतीको साडी लगाएर मलाई सिल्की साडी किनिदिनुभयो ।’
उनी अहिले पनि त्यो साडी सुम्सुम्याउँछिन् । आमाका निर्दोष आँखा देख्छिन् । ‘आमालाई सम्झिदा पनि... ।’ उनी बोल्दा बोल्दै रोकिइन् । उनको कण्ठ भरियो । उनका दुवै आँखाबाट बाँकी वाक्य आँशुले सुनाए । एकछिन स्तब्ध भयो परिवेश । ‘आमाजस्तै छु,’ भावुक भएर भनिन् ।
आमाको सोझोपन नै उनको पाठ भयो । कसैले चित्त दुखायो भने उनी एक्लै रुन्छिन् । एउटा कुरा गर्दा अर्कै कुरा गर्छिन् । यस कुरालाई स्वयम् उनी महशुस गर्छिन् । र, कहिलेकाहीं छोरी अनुराधाले सम्झाइदिन्छिन् ।
मायालाई उनी प्राथमिकतामा राख्छिन् । जति उमेर ढल्किँदै गयो, माया रुचाउँदो रहेछ हृदयले । उनी भन्छिन्, ‘कसैसँग माया लाग्यो भने बाँकी सेकेन्डरी हुँदोरहेछ ।’
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४