आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रतिनिधिसभा बैठक : सांसदले खोजे बाढीपहिरो प्रभावितलाई राहतदेखि आत्महत्यासम्मको कारण

प्रतिनिधिसभा बैठक : सांसदले खोजे बाढीपहिरो प्रभावितलाई राहतदेखि आत्महत्यासम्मको कारण

बुधबारको बैठकमा सहभागी अधिकांश सांसदले प्राकृतिक विपत्तिसँग लड्ने प्रभावकारी कार्यक्रम र योजनाको उचित व्यवस्था गर्न माग सरकारसँग माग गरेका हुन्।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं– प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको बताउँदै तत्काल उद्दार एवं राहत व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले प्राकृतिक विपत्तिसँग लड्ने प्रभावकारी कार्यक्रम र योजनाको उचित व्यवस्था गर्न माग गरेका हुन्।

सांसद नवीना लामाले मंगलबार रातीको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न नदी करिडोरमा क्षति पुर्‍याएको जनाउँदै प्रभावितलाई राहतको प्रबन्ध गर्न माग गरिन्। सांसद नरबहादुर धामीले गत वर्षको बाढी प्रभावितले अहिलेसम्म राहत नपाएको गुनासो गरे। सांसद नारायणप्रसाद खतिवडाले मंगलबार रातीको अविरल वर्षाका कारण नुवाकोट जिल्लाका विभिन्न स्थानमा बाढीपहिराले जनजीवन प्रभावित भएको जनाउँदै तत्काल उद्दार र राहतको प्रबन्ध गर्न माग गरे।

सांसद दलबहादुर रानाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पहाडी र हिमाली क्षेत्रमा तटबन्ध कार्यक्रम अगाडि नबढाएकामा गुनासो गर्दै त्यस्ता कार्यक्रम तत्काल सुरु गर्न माग गरे। सांसद दिलकुमारीले नागरिकता विधेयक शीघ्र प्रमाणीकरण गरी नागरिकताविहीन नागरिकको समस्या समाधान गर्न राष्ट्रपतिको ध्यानाकर्षण गराइन्।

सांसद दीपकप्रकाश भट्टले महाकाली सिँचाइ आयोजना निर्माण ढिलो भएको जनाउँदै तालुकदार मन्त्रालयको ध्यानाकर्षण गराए। सांसद दुर्गाबहादुर राउतले जनयुद्धका क्रममा घाइते तथा अपांगता भएका नागरिकले आवश्यक राहत तथा सुविधा पाउन नसकेको हुँदा तत्काल समस्या समाधान गर्न आग्रह गरे।

सांसद दुर्गाकुमारी विकले तरकारी तथा फलफूल आयात गर्दा गैरखाद्य पदार्थ रहे÷नरहेको परीक्षण गर्ने व्यवस्था भन्सारमा जडान गरिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराइन्। सांसद दुर्गा पौडेलले बढ्दो आत्महत्याको कारण पत्ता लगाउनुपर्नेमा जोड दिइन्। सांसद देवप्रसाद गुरुङले प्रतिनिधिसभाको कार्यकालका सम्बन्धमा संविधान र कानुनले रिक्तताको परिकल्पना नगरेको भन्दै तत्काल कानुन ल्याउनुपर्नेमा जोड दिए।

सांसद प्रकाश रसाइली स्नेहीले मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयभित्र अनियमितता भइरहेको गुनासो सुनिएको जनाउँदै यस्ता अधिकारीलाई कारबाहीको दायरामा ल्याउन माग गरे। सांसद प्रमिला राईले अविरल वर्षाका कारण उदयपुरका नागरिक असाध्यै प्रभावित भएकाले उनीहरुको गासबासको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद प्रेम सुवालले पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमै निर्माण गर्न माग गरे। उनले काठमाडौं उपत्यकाभित्र हेभी सवारी साधन चल्दा जनजीवन प्रभावित भएको जनाउँदै यसलाई रोक्नुपर्नेमा जोड दिए।–रासस

प्रकाशित: Aug 10, 2022| 15:38 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...