काठमाडौं- कलाकार तथा कला लेखक देवेन्द्र थुम्केली लिखित ‘लोककलाकार जीवनी’ पुस्तक सार्वजनिक भएको छ।
नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा मंगलबार उक्त कृतिको प्रतिष्ठानका कुलपति केके कर्माचार्यले विमोचन गरे।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको लोककला विभागले प्रकाशन गरेको उक्त कृतिमा नेपालमा प्रचलित विभिन्न लोककलामा काम गर्ने एक दर्जन बढी कलाकारको जीवनी समेटिएको छ।
पुस्तक विमोचन कार्यक्रममा प्रतिष्ठानका कुलपति कर्माचार्यले पुस्तकले नेपालका लोककलाकारलाई चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले लोककला र कलाकारको जीवनयात्रालाई चर्चा गरिएको पुस्तकले नेपाली कलाको बहुआयामिकतालाई प्रकाश पारेको भनाइ राखे।
उनले देशभर हरेक स्थान र जाति विशेषमा रहेका लोककलाबारे सानो पुस्तकले समेट्न नसके पनि आगामी दिनमा यस विषयमा पुस्तक लेख्न प्रतिष्ठानले पहल लिने जनाए । उनले भने, ‘आगामी दिनमा प्रतिष्ठान एवं अन्य लेखकले पनि लोककला र कलाकारका बारेमा अझै व्यापक ढंगले लेख्नुपर्ने आवश्यकता बढेर गएको छ।’
राजनीतिज्ञ एवं भाषाविद् डा. गोपाल ठाकुरले कलाले मानिसलाई समृद्ध र वैभवशाली बनाउने बताए। समाजलाई सभ्य र पहिचान दिलाउन कला र संस्कृतिले भूमिका खेल्ने भएकाले राज्यले यसको महत्त्वलाई बुझेर जनस्तरमा विकास भएका कलाको संरक्षण, प्रवद्र्धन तथा राष्ट्रियकरण गर्न विशेष ध्यान दिनुपर्नेमा डा. ठाकुरले जोड दिए।
उनले कलाकारले ईश्वर बनाउने तर त्यही कलाकारलाई उपेक्षा गर्ने मनोवृत्ति राम्रो नभएको जिकिर गरे। कलाकार राष्ट्रका सम्पदा भएकाले उनले कलाकारको उचित ढंगले राज्यले सम्मान गर्नुपर्ने विचार व्यक्त गरे।
कार्यक्रममा नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशवराज खनालले लोककलाको बृहत् पाटोलाई अझै गहन रूपमा ल्याउनुपर्ने विचार व्यक्त गरे। उनले लोककलाकारका बारेमा पुस्तक पहिलो पटक लेखिएको र अन्य शृंखला पनि भाग १–२ गर्दै लेख्दै जानुपर्ने सुझाव दिए।
त्यसैगरी पुस्तकका लेखक देवेन्द्र थुम्केलीले पुस्तकमा नेवार, अवधी, मिथिला, थारु र राजवंशी लोककलामा काम गर्ने कलाकारका बारेमा लेखिएको बताए। उनले नेपाली लोककला क्षेत्रमा विशिष्ट कलाकार धेरै भए पनि एउटा पुस्तकमा सबैलाई स्थान दिन नसकिएको जनाए।
थुम्केलीले आगामी संस्करणमा लोककलाकारका बारेमा कलम चलाउने प्रतिबद्धता व्यक्त गरे। प्रतिष्ठानका प्राज्ञ रमेशनाथ खनालले पुस्तकले नेपाली लोककला र कलाकारलाई चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने आशा लिएको बताए।
उनले पुस्तक सानै भए पनि महत्त्वपूर्ण रहेको बताउँदै आगामी दिनमा प्रतिष्ठानले अझै गम्भीर ढंगले कलाक्षेत्रका विविध आयामलाई खोज अनुसन्धान गर्दै प्रकाशन गर्ने भनाइ राखे।
प्राज्ञ सञ्जय वान्तवाले लोककलाको विकासमा सबै क्षेत्रले विशेष ध्यान दिनुपर्ने बताए। उनले लोककलालाई मूलधारमा ल्याई यसको महत्त्व र पहिचानलाई बचाउन खोज अनुसन्धान तथा प्रकाशनलगायतका विविध कार्यक्रममार्फत काम गर्नुपर्नेमा जोड दिए।
प्रतिष्ठानको लोककला विभाग प्रमुख मिथिलादेवी यादवले लोककलाको वैभवको प्रवद्र्धनका लागि हरेक समुदायमा अभ्यास भइरहेको लोककलाका बारेमा पुस्तक लेख्न सकिने बताइन्। उनले लोककलाले मानव जीवनको लामो परम्परालाई जोडेको विचार व्यक्त गरिन्। उनले सीमित स्रोत–साधनका कारण यस पुस्तकमा लोककलाबारे सानो अंश मात्र लेख्न सफल भएको बताइन्।
पुस्तकमा शारदा चित्रकार, जीतबहादुर रायमाझी ‘मैथिल’, जुलुमलाल चित्रकार, सूर्यबहादुर चित्रकार, श्यामानन्द ठकुरी, अजितकुमार साह, मिथिलादेवी यादव, एससी समुन, सीतादेवी कर्ण, लक्ष्मण मण्डल, पवनकुमार राजवंशी, पुनमकुमारी दास र मित्थु थारुको जीवनीसहित कलाकृतिको चर्चा गरिएको छ।