काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनकी लैंगिक तथा यौनिक अल्पसंख्यक मामिला हेर्ने विशेष दूत जेसिका स्टर्न मंगलबार काठमाडौं आएकी छन्। स्टर्न पाँच दिन नेपाल भ्रमणमा रहने अमेरिकी दूतावासले जनाएको छ। यहाँ रहँदा उनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका नेता र नागरिक समाजका प्रतिनिधीलगायतसँग भेट्ने कार्यक्रम छ।
दूतावासका अनुसार जेसिकाले काठमाडौंमा हुने एउटा कन्सर्टमा पनि सहभागिता जनाउने छन्। अमेरिकी राष्ट्रपति बाइडेनले २७ सेप्टेम्बर २०२१ मा उनलाई एलजीबीटीक्यूआई+ को मानवअधिकार प्रबर्द्धनका लागि विशेष दूतको रुपमा नियुक्त गरेका थिए। अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले पहिलोपटक सन् २०१५ मा लैंगिक तथा यौनिक अल्पसंख्यक मामिला हेर्ने विशेष दूतको नियुक्तिको अभ्यास सुरु गरेका थिए।
उक्त पदमा नियुक्त हुने पहिलो ब्यक्ति र्यान्डी बेरी थिए, जो नेपालका लागि सन् २०१८ देखि २०२२ सम्म राजदूतका रुपमा काम गरे।
अमेरिकाले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका हकहितबारे विश्वका विभिन्न देशमा अभियान चलाइरहेको छ। नेपालमा पनि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई अमेरिकाको सहयोग रहँदै आएको छ। उनी मानवअधिकार अनुसन्धानकर्ता रहेको पनि अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा उल्लेख छ।
यसअघि अमेरिकी उपसहायक विदेशमन्त्री डोनाल्ड लुले साउन १२-१३ गते नेपाल भ्रमण गरेका थिए। त्यसअघि अमेरिकाका लागि इण्डो-प्यासिफिक सैन्य कमाण्डलर चार्ल्स फ्लिनले नेपाल भ्रमण गरेका हुन्। नेपाल र अमेरिकाबीच ७५ औं वर्षगाँठको अवसरमा अमेरिकी कूटनीतिज्ञहरुको नेपाल भ्रमण बाक्लिएको छ।