काठमाडौं– चलचित्र ‘प्रकाश’मा मुख्य भूमिका निर्वाह गरेका अभिनेता प्रदीप खड्काले आफू कलाकार भएको जस सोही फिल्मलाई दिँदै आएका थिए। ‘पहिला हिरो थिएँ, अहिले कलाकार भएँ’ भन्ने अभिव्यक्तिले फिल्मवृत्तमा राम्रै तरंग पनि ल्यायो।
चलचित्र प्रकाशबाट पात्रको चरित्र चित्रणमाथि कति न्यायसंगत अभिनय गर्नुपर्छ भन्ने अनुभव सुनाउँदै आएका प्रदीप उक्त चलचित्रको प्रसार–प्रसार चलिरहेकै क्रममा अचानक मुम्बई हानिए।
७ असोजमा भारत र नेपाली सिनेघरमा एकसाथ हिन्दी र नेपाली भाषामा प्रदर्शन हुुने चलचित्र प्रेमगीत–३ को प्रमोसनका लागि प्रदीप मुम्बई गएका हुन्। अवसरलाई सदुपयोग गर्न जानेका प्रदीपकै कारण चलचित्र प्रकाशको प्रचार–प्रसार छायामा नपर्ला भन्न सकिन्न ।
बुटवा कमेडी अनि कमेडी टुकटुकसँगको सहकार्यमा पाँच हाँस्य कलाकारका साथमा ‘प्रकाश’ प्रचार–प्रसारका लागि देशका ठूला सहर जाने क्रम जारी छ। १० भदौमा प्रदर्शनमा आउने चलचित्र प्रकाशको प्रचार–प्रसारका लागि नायक खड्कासहित अन्य कलाकार दिया मास्के र रेनु योगी, कमेडियन आदर्श मिश्रा, आयुष श्रेष्ठ, एलेनजंग राणा, आशीष घिमिरे र पुजन अधिकारी सहभागी छन्।
तर प्रदीपले प्रकाशको प्रचार–प्रसार टोलीलाई बीच बाटैमा छाडिदिएका छन्। सात वर्षअघि चलचित्र ‘इस्केप’बाट अभिनय करिअर सुरु गरेका प्रदीपको चर्चा ‘प्रेमगीत’बाट भएको थियो। यही क्रममा उनले इस्केप, प्रेमगीत, प्रेमगीत–२, रोज, लिलीबिली, लब स्टेसन, प्रेमगीत–३ मा अभिनय गरिसकेका छन्।
दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’मा काम गरेपछि मात्रै कलाकार बनेकोे दाबी गर्नेले प्रेमगीत–३ को प्रचार–प्रसारका लागि मुम्बई पुग्नु भनेको कलाकार बनाएको फिल्म प्रकाश छाडेर ‘हिरोइजम्’ मै फर्किनु पनि हो ।
हुन त, उनको करियरमा प्रेमगीतले गुन लगाएको छ। बलिउडको ढोका खोलिदिने आधार चलचित्र प्रेमगीत–३ हुन पनि सक्छ। किनकि, चलचित्र प्रेमगीत–३ लाई हिन्दी भर्सनमा ‘विश्वजितम्’ राखेर सार्वजनिक गरिँदै छ, जसको पोस्टर मुम्बई सहरमा टाँसिएका छन्।
अजय कपुर प्रोडक्सन र युएफओ वितरकले फिल्मको भारत वितरण राइट खरिद गरेका हुन्। हिन्दी भाषाको संस्करणलाई ओभरसिजमा समेत रिलिज गर्ने तयारी छ। निर्मातासमेत रहेका सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रूपमा निर्देशन गरेको फिल्ममा खड्का, क्रिस्टिना गुरुङ र शिव श्रेष्ठको मुख्य भूमिका छ।