काठमाडौं- सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्य विपरीत असमान तरिकाले तलब वृद्धि गरेको भन्दै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले विरोध गरेको छ। संघले विज्ञप्ति जारी गर्दै असमान तरिकाले वृद्धि भएको तलब स्वीकार्य नहुने चेतावनी दिएको हो।
पक्षपातपूर्ण र असमान तरिकाले तलब वृद्धि गरिएमा त्यसबाट सृजना हुने आन्दोलनबाट निस्कने परिणामको जवाफदेही सरकार हुनेपर्ने उसको भनाइ छ।
नयाँ तलवमान प्रस्तावको विषयमा सोमबार राजपत्र अंकित तृतीयभन्दा तल्लो तहका निजामती कर्मचारीहरूले अर्थ मन्त्रालय घेराउ गरेका थिए। पछि अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी संघठनका नेताहरूसँगको भेटमा तत्काल नयाँ तलवमान लागू नगर्ने प्रतिबद्धता जनाएका थिए।
मन्त्रालयले अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीको २४ प्रतिशतसम्म तलव वृद्धि गर्न गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने तयारी गरेको थियो।