काठमाडौं- गृह मन्त्रालयले 'अपमानजनक' शब्द प्रयोग गरी नागरिकता जारी नगर्न र यसअघि जारी भएका नागरिकता पनि सम्बन्धित व्यक्तिले सच्याउन चाहे सच्याइदिन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ।
गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'विभिन्न जिल्लाहरुबाट जारी भएका नेपाली नागरिकताका प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द राखी जारी भएको सम्बन्धमा प्रकाशित समाचार, सूचना तथा जानकारीहरु प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।'
'अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने' विज्ञप्तिमा थप भनिएको छ,'त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने।'
नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरूको नागरिकतामा अपमानपूर्वक राखिएको नामहरु सच्याउन माग गरेका थिए। राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद सुनारले दलित समुदायका व्यक्तिहरूलाई नागरिकता दिँदा अपमानपूर्वक नाम राखिएको भन्दै आपत्ति जनाएका थिए।
दूरदराजका दलित समुदायका व्यक्तिहरूको नाम तत्कालीन प्रशासनले बिगारिदिएको भन्दै उनीहरूको नाम सच्याउन गृहमन्त्रीसँग माग गरेका थिए। सांसद सुनारले यस्तो त्रुटिहरूको खोजी गर्न राष्ट्रिय दलित आयोग र दलित अभियन्ताहरूलाई पनि आग्रह गरे।
उनले भनेका थिए, 'यस्तो पनि नागरिकता हुन्छ? यस्तो पनि लेख्न मिल्छ ? ती हाकिमहरू, ती फटाहाहरू यो देशमा एकथरि मान्छेलाई कति घृणा गर्न उद्धत हुँदा रहेछन् त? कति अपमान गर्न उद्धत हुँदा रहेछन् त? कति उनीहरुलाई खिस्सीट्युरी गर्ने, घृणा गर्न, अपमान गर्न चाहँदा रहेछन् त? नागरिकता लिन जाँदा ती हाकिमहरूले केरकार गर्ने, सोधपुछ गर्ने गर्दछन् । अहिले पनि गर्दछन् । त्यो बेलामा पनि गरे होलान् । किन यस्तो नाम लेखेको किन भनेनन् ? दूरदराजका जनतालाई नागरिकता दिँदा त्यस्तो लेख्न मिल्छ?' नागरिकतामा गलत नाम लेखिदिएर दलित समुदायको स्वाभिमानमाथि अपमानभएको सुनुवारले बताए । कथित माथिल्लो जातका ‘शिक्षित’ हाकिमहरूले निरक्षर दलितका उनीहरूले राखिदिएका नाम यस्तासम्म छन्, ‘फ्याउरो बादी, सिँगाने कामी, कुत्ता बादी, कुकुर्नी कमिनी, कुकुर कामी, रातो कामी, नौपुठे कामी, ढाले कामी, काली गासे, गोप्लो, लाटो, लुखुरी कामी’।