काठमाडौं- विशाल सिमेन्टका पूर्वसञ्चालकसमेत रहेका व्यवसायी अमित श्रेष्ठको नाममा क्यानडा र अस्ट्रेलियामा ४४ करोड रहेको पाइएको छ। क्यानडा र अस्ट्रेलियामा गैरकानुनी कारोबार पुष्टि भएको भन्दै सरकारी वकिल कार्यालयले व्यवसायी श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा गरेको हो। उनलाई ७ वर्ष कैद र झण्डै डेढ अर्ब जरिवाना माग गर्दै मुद्दा दर्ता गरिएको छ।
दुई वर्ष पहिले विशाल सिमेन्ट कम्पनी बिक्री गरेका श्रेष्ठले क्यानडामा रहेको रोयल बैंक अफ क्यानडा र कमन वेल्थ बैंक अफ अस्ट्रेलियाको रहेको खातामा क्रिप्टोमार्फत कारोबार गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। प्रहरीले २५ दिन अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो।
अमितको मोबाइल तथा ल्यापटपमा समेत क्रिप्टोसम्बन्धी म्यासेज फेला परेको थियो। सन् २०१९ जुलाई २ देखि २०१९ अगष्ट ८ मा रोयल बैंक अफ क्यानडाको खातामा क्यानेडियन डलर २ लाख ३२ हजार ३ अर्थात १ करोड ९५ लाख ४६ हजार २ सय ५२ नेपाली रुपैयाँ जम्मा भएको देखिएको छ। सन् २०१९ जनवरी ७ देखि २४ अप्रिल २०१९ मा कमनवेल्थ बैंक अफ अस्ट्रेलियाको खातामा अष्ट्रेलियन डलर १ लाख ९४ हजार २८५ (एक करोड ५० लाख ६२ हजार २७९ रुपैयाँ) जम्मा भएको देखिएको छ।
अमित २०१८ डिसेम्बर २४ मा अस्ट्रेलिया पुगेका थिए। अस्ट्रेलिया पुगेको केही दिनमै उनले अस्ट्रेलियामा खाता खोलेका थिए। खाता खोलेको केही दिनमै उनको खातामा शंकास्पद रकम जम्मा हुन थालेको पाइएको छ। साढे तीन महिनाको अवधिमा अष्ट्रेलियन डलर १ लाख ९४ हजार २८५ (एक करोड ५० लाख ६२ हजार २७९) जम्मा भएको देखिएको छ।
उनी सन् २०१९ जुन २९ मा पहिलो पटक क्यानडा पुगेको र त्यहाँ पुगेलगत्तै रोयल बैंक अफ क्यानडामा दुईवटा खाता खोलेको पाइएको छ। खाता खोलेको केही दिनमै ठूलो परिमाणमा शंकास्पद रकम जम्मा भएको थियो। सेप्टेम्बर ११ मा नेपाल फर्किएर उनी पुनः २०१९ डिसेम्बर १२ मा क्यानडा पुगेका थिए।
दुई वर्ष पहिले विशाल सिमेन्ट कम्पनी बिक्री गरेका श्रेष्ठले क्यानडामा रहेको रोयल बैंक अफ क्यानडा र कमन वेल्थ बैंक अफ अस्ट्रेलियाको रहेको खातामा क्रिप्टोमार्फत कारोबार गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
त्यतिबेला अमित १६ महिना क्यानडा बसेको अभिलेखबाट पुष्टि भएको छ। क्यानडामा खाता खोलेको १ महिना ६ दिनको अवधिमा अमित श्रेष्ठको खातामा क्यानेडियन डलर २ लाख ३२ हजार (एक करोड ९५ लाख ४६ हजार २५२ जम्मा भएको थियो। उनी यो अवधिमा क्यानडा र अस्ट्रेलिया रहँदा कमाइ गरेको नभई शंकास्पद रुपमा विदेश पुगेको केही दिनमै जम्मा भएको अनुसन्धानमा खुलाइएको छ।
उनी २०१९ डिसेम्बर १२ मा क्यानडा पुगेपछि १६ महिना रहँदा कोभिड महामारीका कारण रोजगारी तथा पेशा व्यवसाय नै ठप्प रहेकाले कमाई गर्ने अवस्था नदेखिएको उल्लेख छ। उनले विदेशमा आर्थिक कारोबार गर्नका लागि राष्ट्र बैंकबाट समेत कुनै अनुमति लिएका थिएनन्। उनले बयानका क्रममा पनि आफूले त्यस्तो अनुमति नलिएको स्वीकार गरेका छन्।
उनको विदेशमा भएको खाताहरुमा अस्वभाविक रुपमा शंकास्पद रकम जम्मा भएको देखिएकाले नेपालमा व्यापार व्यवसायबाट आर्जन गरेको, जग्गा जमिन बिक्रि गरेको, रकम समेत गैरकानुनी रुपमा हुण्डी कारोबार मार्फत विदेशमा रहेको आफ्नो खातामा जम्मा गरेको अनुसन्धानबाट खुलेको छ।
श्रेष्ठले यसरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिमको कसुर गरेको प्रहरीको दाबी छ। अमितले बयानका क्रममा सर्भिस द काउन्सिल अमित नामको कम्पनी क्यानडामा १५ हजार डलर लगानीमा खोलेको खुलाएका थिए। तर त्यो र अन्य जम्मा भएको रकमको श्रोत खुलाउन नसकेको मिसिलमा उल्लेख छ।
दोश्रो पटक क्यानडा जानु पहिले काठमाडौं महानगरपालिका-३ स्थित कित्ता नम्बर ११६ को जग्गा समेत बिक्रि गरेका थिए। काठमाडौंको पानीपोखरीमा रहेको अपार्टमेन्ट पनि १ करोड ४० लाखमा बिक्रि गरेका थिए। तर त्यो रकम घरायसी कामकाज र ऋण तिर्न प्रयोग भएको बयान दिएका थिए।
अमितले गरेको कार्य नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिम कसुर गरेको पुष्टि भएको अभियोगमा दाबी छ। उक्त अभियोग अनुसार ७ वर्षसम्म कैद र बिगोको तीन गुणासम्म जरिवाना हुने व्यवस्था छ। सोही प्रावधान अनुसार श्रेष्ठलाई पनि ७ वर्ष कैद र एक करोडसम्म जरिवाना माग गरिएको छ।