काठमाडौं– राजस्व अनुसन्धान विभागले गैरकानुनी रुपमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौैमा मुद्दा दायर गरेको छ।
विभागका अनुसार नुवाकोट ककनी–३ का नवराज ढुंगाना र फणिन्द्रप्रसाद ढुंगाना, भिरकोटगढी–११ नुवाकोटका सुवासजंग पाण्डे र नुवाकोट ककनी स्थायी घर भई जापानमा रहेका प्रज्ज्वल ढुंगानाविरुद्ध मुद्दा दायर गरिएको हो।
केही समय पहिले प्रहरीले नवराज ढुंगानालाई स्रोत नखुलेको ६९ लाख ९९ हजार बराबरको रकम पक्राउ गरेको थियो। उनले पैसाको स्रोत खुलाउन सकेका थिएनन्। सोही आधारमा अध्ययन गर्दै जाँदा प्रहरीले अवैध हुण्डी कारोबार भएको निष्कर्ष निकालेको थियो। विभागले बिगोबमोजिमको रकम जफत गरी दोषीमाथि कानुनअनुसार कारवाही गरिपाउँ भन्दै मुद्दा दायर गरेको हो।